भीमदत्तनगर– कञ्चनपुरबाट दक्षिण एशियाली खेलकूद ( साग) अन्र्तगत कुस्ती खेलमा नेपालकै सबैभन्दा बढी महिला खेलाडी सहभागी भए । सो प्रतियोगिताको कुस्ती खेलमा पदक पनि सम्मानजनक ल्याउँदा कञ्चनपुरको खेलकूद जगतमा नयाँ इतिहास कायम भएको छ ।
विभिन्न सात तौल समूहमा नेपालको प्रतिनिधित्व गर्दै कुस्तीमा सहभागी महिला खेलाडीमध्ये ६ जना भीमदत्तनगरका सहभागी थिए । खेलमा सहभागी ६ मध्ये सङ्गीता धामीले बङ्गलादेशकी खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेर कुस्तीमा इतिहास रचिन् । बाँकी पाँचजना यहाँका महिला कुस्ती खेलाडीले पनि पदक दिलाएका छन् ।“सबै खेलाडीले स्वदेशमै प्रशिक्षणमा जुटेर कडा मेहनत गरेकै परिणामले पदक ल्याए”, कुस्तीका सहायक प्रशिक्षक राजेन्द्र चन्दले भने ,“यो अहिलेसम्मकै ऐतिहासिक पदक हो ।”
त्यसैगरी महिला कुस्तीमा यहाँका शिवाङ्गी दुबे, अम्बिका भण्डारी र निर्मला जागरीले रजत पदक ल्याउन सफल भए । कञ्चनपुरकै कोमल खत्री र मनिशा सिंहले कास्य पदक जिते भने पुरुषतर्फ सुदूरपश्चिम प्रदेशकै प्रतिनिधित्व गरेका कञ्चनपुरका सुरेश चुनाराले पनि कास्य पदक हात पार्न सफल भए । “महिलातर्फ पदक ल्याउने सबै खेलाडी नयाँ नै हुन”, कुस्ती प्रशिक्षक चन्दले भने ,“अन्र्तराष्ट्रियस्तरको पहिलो सहभागितामै पदक ल्याउनु सामान्य विषय होइन् ।”
उनले कञ्चनपुरमा कुस्तीका लागि आवश्यक हल र खेल सामग्रीबिनै खेलाडी अन्तर्राष्ट्रियस्तरसम्म पुगेकोमा हर्षित रहेको बताए ।“वृहत् आठौं राष्ट्रिय खेलकूद प्रतियोगितामा यहाँका महिला खेलाडीले देखाएको प्रदर्शनले नै सागमा पदकबिहीन हुनुपर्दैन भन्ने लागेको थियो ।” उहाँले भन्नुभयो,“सङ्गीताको स्वर्ण नेपालकै कुस्ती इतिहासमा पहिलो भएको छ ।”
त्यसैगरी जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्ट पनि सागमा यहाँका खेलाडीले ल्याएको पदक र देखाएको प्रदर्शनले सन्तुष्ट हुनुहुन्छ र “सागमा यसअघि पनि यहाँका खेलाडीले पदक ल्याएकै हुन”, पदक विजेताको तथ्याङ्क सङ्कलन गरिरहनुभएको कार्यालय प्रमुख भट्टले रासससित भन्नुभयो,“यो पदक हालसम्मकै बढी हो ।” जिल्ला खेलकूद विकास समितिका अनुसार कञ्चनपुरका खेलाडीले चार स्वर्णसहित १८ पदक ल्याएका छन् । कुस्तीमा सङ्गीता धामी, तेक्वान्दोमा वीरबहादुर महरा, उसुमा करनसिंह साउद र ट्राइथलनमा हिमाल टमटाले स्वर्ण जितेका हुन ।
त्यसैगरी भारोत्तलनमा यहाँका खेलाडी विशाल सिंह विष्ट र सागर भण्डारीले रजत पदक जितेको खेलकूद विकास समितिका कार्यालय प्रमुख भट्टले बताउनुभयो । कराँतेका डिगम्बर पन्तले कास्य, तेक्वान्दोका मनोज मल्ल, फेन्सिङका रमा सिंह र दीपक पाण्डेयले कास्य जित्नुभयो । कुस्तीमा कोमल खत्री, मनिसा सिंह र ब्याडमिन्टनमा दिपेश धामीले कास्य पदक दिलाउन सफल हुनुभयो ।
त्यसैगरी समूह खेलमा रजत प्राप्त गर्न सफल महिला भलिबल टिममा पनि कञ्चनपुरका पुनम चन्द र उषा विष्ट सहभागी हुनुहुन्थ्यो भने कबड्डी महिलामा पनि जयन्ती बडू, हरिना थापा, मानमती विष्ट, गङ्गा धामी र रविना चौधरी सहभागी रहेको कबड्डीका सहायक प्रशिक्षक विष्णुदत्त भट्टले बताउनुभयो ।
त्यसैगरी सागमा सहभागी क्रिकेटमा पनि यहाँका खेलाडी सहभागी थिए । क्रिकेटमा डल्ली भट्ट, दिपेन्द्रसिंह ऐरी र विनोद भण्डारी टिममा रहनुभयो । नेपालको खो खो महिला तथा पुरुष टिममा पनि कञ्चनपुरका खेलाडीको सहभागिता रहेको जिल्ला खेलकूद विकास समितिले जनाएको छ ।
खो खोमा महिलातर्फ पुजा ओड र मानमती धामी तथा पुरुष टिममा सन्तोष बोहरा सहभागी रहेनुभयो । “यसअघि सागमा तेक्वान्दोमा चार पटक स्वर्ण जितेर कीर्तिमान बनाएका दीपक विष्ट पनि कञ्चनपुरकै हुन्”, तेक्वान्दो प्रशिक्षक मोहनप्रताव गुरुङले भन्नुभयो,“यस पटक थप यहाँका चार जना खेलाडीले स्वर्ण भित्र्याए ।”
पदक विजेता खेलाडीलाई यहाँका स्थानीय तहले नगदसहित सम्मान गरिरहेका छन् । सुदूरपश्चिम प्रदेश सरकारले पनि यहाँका पदक विजेता खेलाडीलाई सम्मान गर्ने घोषणा गरेको छ । “गृहनगरको सम्मानले खेलाडीको मनोबल उच्च हुन्छ”, कुस्तीमा पदक विजेता खेलाडी सुरेश चुनाराले भन्नुभयो,“अव सुदूरपश्चिमको खेल संरचना निर्माणमा पनि यहाँ जोड दिनुपर्ने अवस्था आएको छ ।”
यसअघिका साग प्रतियोगितामा तेक्वान्दो, बक्सिङ, भारोत्तलनलगायतका खेलका खेलाडीले पदक ल्याएका थिए । पाँचांै साग खेलकूद प्रतियोगितामा कास्य पदक जित्नुभएको कञ्चनपुर भारोत्तोलनका सहायक प्रशिक्षक जीवन गौतमले झण्डै १९ वर्षपछि कञ्चनपुरका दुई खेलाडीले भारोत्तोलनमा दुई रजत ल्याएको बताउनुभयो ।
“मेरो पदकपछि मेरै प्रशिक्षार्थीले अहिले मेडल ल्याए”, गौतमले भन्नुभयो,“खेलकूद प्रतियोगिताका बेला तातेर मात्रै हुदैन अरु बेला पनि खेलाडीको सुविधाका लागि जिल्लादेखि प्रदेश सरकारको ध्यान जानु आवश्यक छ ।”
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस