जनकपुर-धनुषा जिल्लाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि खरिद गरिएको रेल सेट केही दिनभित्रै नेपाल आइपुग्नेभएको छ।
निर्माणको काम सम्पन्न भइसकेकाले रेल ल्याउने बाटो पर्खिरहेको रेल विभागले जनाएको छ। नेपाल सरकारले भारतीय सरकारी कम्पनी कोनकानमार्फत रेल सेट खरिद गरेको हो। भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा रेलमार्ग निर्माण भएकामा सो मार्गमा सञ्चालनका लगि रेल सेट नेपाल सरकारले खरिद गरेको हो। रेल सेट भारतबाट लिग भएरै ल्याउनुपर्ने भएकाले लिग खाली भएको उपयुक्त समय मिलाएर ल्याउन लागिएको विभागका महानिर्देशक बलराम मिश्रले बताएका छ्न्।
रेल सेट आइपुग्न लाग्दा सरकारले आवश्यक तयारी अघि बढाइरहेको छ। रेल सञ्चालनका लागि विगतमा रहेको रेल्वे कम्पनी ब्यूताउँने गरी तयारी अघि बढाएको विभागले जनाएको छ। रेल्वे कम्पनी कर्मचारी विनियमावलीमा दक्ष प्राविधिकसहित झण्डै २०० कर्मचारीको प्रस्ताव गरिएको रेल विभागले जनाएको छ। सो विनियमावलीमाथि मन्त्रालयमा छलफलमा क्रममा रहेको महानिर्देशक मिश्रले बताए।
कम्पनीमा अहिले जनशक्ति ज्यादै न्यून छन्। त्यसमा पनि रेलसम्बन्धी ज्ञान र क्षमता भएका व्यक्ति नभएको मिश्रको भनाइ छ। रेल सञ्चालनका लागि कम्पनीमा सबै गरी झण्डै २०० जनशक्ति आवश्यक पर्ने महानिर्देशक मिश्रले बताए। सञ्चालन, मर्मतलगायत कामका लागि इञ्जिनीयरिङ क्षेत्रका जनशक्तिसँगै कम्पनीमा प्रशासन, लेखालगायत कर्मचारी आवश्यक भएको भन्दै विभागले सबै खालका कर्मचारी प्रस्ताव गरेको हो।
नेपाल भारत जोड्ने यो रेलमार्ग सञ्चालनको तयारी भइरहँदा रेल्वे विधेयक पनि अघि बढेको छ। राष्ट्रियसभाको समितिमा दफावर छलफलमा रहेको विधेयकले रेल सञ्चालनका लागि छुट्टै प्राधिकरणको परिकल्पना गरेको छ। रेल्वे विधेयकमा अन्तरराष्ट्रिय रेल सञ्चालन, चालकको योग्यता, यात्रुको सुरक्षा, रेलको सुरक्षालगायत विषय समेटेको छ।
सरकारले भारत सरकारसँग दुई वटा रेल सेट खरिद प्रक्रिया गत वर्षअघि बढाएको थियो। ‘जि टु जि’ (दुई सरकारका बीच) रेल खरिद गरिएको हो। दुई वटा सेटमध्ये अहिले एउटा सेट आइपुग्ने र केही समयपछि अर्काे सेट आइपुग्ने विभागले जनाएको छ। डिजेल इलेक्ट्री मल्टिपल युनिट प्रविधिको सेटमा एउटामा पाँच वटा डिब्बा रहने विभागका प्रवक्ता अमन चित्रकारले बताएका छन्।
प्रवक्ता चित्रकारका अनुसार सरकारले अहिले दुई वटा सेट खरिद गर्दा त्यसमा जम्मा १० डिब्बा रहन्छन्। यी दुई सेटको क्षमता एक हजार दुई सयसम्म यात्रु बोक्ने रहेको चित्रकारले बताए। “रेल सेटको निर्माण भइरहेकाले अहिले भनेभन्दा एक दुई सयसम्म तलमाथि हुनसक्छ।” प्रवक्ता चित्रकारले भनेका छन्।
जयनगरबाट कुर्थासम्म ३५ किलोमिटर लम्बाइमा रेल सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार निमाण भइसकेको छ। सोही खण्डमा अहिले रेल सञ्चालन हुँदैछ। भारतको जयनगरदेखि नेपालको बर्दिवाससम्म ६९ किलोमिटर रेल सञ्चालन गर्ने लक्ष्य राखिएकामा हालका लागि ३४ किलोमिटर मात्र रेल सञ्चालन हुनेछ। कुर्थादेखि बर्दिवासको विजुरासम्म थप १७ किलोमिटरमा आगामी दिनमा रेलमार्ग विस्तार गरिनेछ। जग्गा प्राप्ति हुन बाँकी रहेकाले लिक निर्माणमा ढिलाइ भएको हो।
जनकपुर-कुर्था रेलमार्ग निर्माणका लागि सरकारले भारत सरकारसँग सन् २०१० मा सम्झौता गरेको थियो। त्यसको एक डेढ वर्षपछिबाट काम शुरु भएको चित्रकारले बताए। भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा सीमा क्षेत्रमा पाँच स्थानमा रेलमार्ग निर्माण हुन लागेको प्रवक्ताले जानकारी दिएका हुन्। तीमध्ये जयनगर-कुर्था र विराटनगर-जोगबनी बाहेक अरु तीन स्थानमा निर्माणको काम शुरु हुन सकेको छैन।
भारत सरकारसँगको सम्झौतानुसार नै विराटनगरबाट बथनाहासम्म १८ किलोमिटर रेलमार्गमा १० किलोमिटरको काम सम्पन्न भएको भौतिक योजना तथा यातायात मन्त्रालयले जनाएको छ। १० किलोमिटर रेलमार्ग सञ्चालनका लागि तयार भइसकेको छ।
सीमा क्षेत्रमा निर्माण गर्ने भनिएको अरु तीन रेलमार्गमा जलपाइगुडी-काकडभिट्टा, नौतनहवा-भैरहवा र नेपालगञ्जरोड-नेपालगञ्ज रहेका छन्। यी सबै रेलमार्ग भारत सरकारले नै निर्माण गर्ने गरी सम्झौता भएको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस