काठमाडौं-नर्सिङ केयर कामका लागि जापान जानेहरुलाई जापान फाउण्डेसनले गत अक्टोबरमा लिएको जापानिज भाषा परीक्षाको नतिजा सोमबार सार्वजनिक गरेको छ। फाउण्डेसनले लिएको भाषा परीक्षामा १ जना परीक्षार्थी मात्र उत्तीर्ण भएका छन् भने सीप परीक्षणमा सहभागी सबै परीक्षार्थी अनुत्तीर्ण भएका छन्।
जापानले गत अक्टोबर १७, १८ र १९ मा पहिलो चरणको भाषा परीक्षा सञ्चालन गरेको थियो। जापान फाउण्डेसनले भाषा परीक्षामा सामेल हुन इच्छुकहरुलाई आवेदन माग गरी लक्की ड्रमार्फत छनोट गरेको थियो। लक्की ड्रमार्फत छनोट भएकाहरुलाई भाषा परीक्षा र सीप परीक्षणमा सामेल गराएको थियो।
नर्सिङ केयर जापानिज ल्याङ्ग्वेज इभ्यालुएसन टेस्ट अर्थात् भाषा परीक्षामा १२ जना परीक्षार्थीहरु सामेल भएका थिए। जसमध्ये १ जनामात्रै उत्तीर्ण भएको फाउण्डेसनले उल्लेख गरेको छ।
नर्सिङ केयर स्किल इभ्यालुएसन टेस्टमा १५ जना सहभागी भएकामध्ये उत्तीर्णको संख्या शून्य छ। जापानले पहिलो चरणमा कम्प्युटर बेसमा आधारित परीक्षा लिएको थियो।
कुन मूलुकबाट कति उत्तीर्ण
फाउण्डेसनले नर्सिङ केयरका लागि नेपालसँगसँगै फिलिपिन्स, कम्बोडिया, इन्डोनेसियामा लिएको भाषा परीक्षा र सिप परीक्षणको नतिजा एकैपटक सार्वजनिक गरेको छ। भाषा परीक्षामा फिलिपिन्सबाट ४७ जना सहभागीमध्ये ३८ जना उत्तीर्ण भएका छन्। सिप परीक्षामा ५३ जना सहभागीमध्ये ४२ जना उत्तीर्ण भएका छन्।
कम्बोडियाबाट जापानीज भाषा परीक्षामा १ सय १० जना सहभागीमध्ये ६ जना उत्तीर्ण भएका छन्। सिप परीक्षामा १ सय १४ सहभागीमध्ये ४ जना उत्तीर्ण भएका छन्। इन्डोनेसियाबाट भाषा परीक्षामा सहभागी भएका ४६ जनामध्ये १७ जना उत्तीर्ण भएका छन्। सीप परीक्षामा सहभागी ४६ मध्ये २७ जना उत्तीर्ण भएका छन्।
अन्य मूलुकहरुको तुलनामा नेपालबाट भाषा परीक्षा र सिप परीक्षणमा सहभागी हुनेहरुको अवस्था ज्यादै नाजुक देखिएको छ।
भाषा र सिप परीक्षामा उत्तीर्ण हुन कति अंक?
जापानले लिने भाषा तथा सीप परीक्षणमा उत्तीर्ण हुन कम्तीमा ६० अंक प्राप्त गर्नुपर्दछ। ६० अंक पाएकाहरु फाउन्डेसनले सञ्चालन गर्ने स्किल टेस्टमा सामेल हुन पाउँछन्। स्किल टेस्टमा पनि ६० अंक प्राप्त गरे उनीहरु उत्तीर्ण भएको मानिन्छ। स्किल टेस्टमा उत्तीर्ण भएका परीक्षार्थीहरुले योग्यताको प्रमाणपत्र (सर्टिफिकेट अफ इलिजिबिलिटी) प्राप्त गरेपछि रोजगारीका लागि बाटो खुलेको मानिन्छ।
के भन्छ मन्त्रालय?
जापान फाउण्डेसनले सार्वजनिक गरेको नतिजाबारे आधिकारीक जानकारी मन्त्रालयसम्म आइनसकेको मन्त्रालयले जनाएको छ। भाषा परीक्षाको नतिजाबारे जापानबाट मन्त्रालयलाई आधिकारीक जानकारी नआइसकेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका उपसचिव दिपक ढकालले जापानले लक्की ड्रमार्फत परीक्षार्थी छनोट गरी भाषा परीक्षा तथा सीप परीक्षणमा सहभागी गराएका कारण पनि परीक्षा फल कमजोर देखिएको हुनसक्ने बताए।
लक्की ड्रमार्फत परीक्षार्थी छनोट गर्दा पास हुन सक्ने खालका विद्यार्थीहरु छनोटमा नपर्ने समस्या हुने उनको भनाइ छ। जापानिज राजदूतावास र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर रायबीच मंगलबार मन्त्रालयमा छलफल चलिरहेको मन्त्रालयले जनाएको छ। छलफल नेपालबाट श्रमिक रोजगारीका लागि जापान पठाउने सम्बन्धमा केन्द्रित हुने जनाइएको छ।
नेपालबाट जापानका विभिन्न १४ क्षेत्रमा कामदार लैजाने गरी नेपालका तर्फबाट तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरे र नेपालका लागि जापानी राजदूत मासामिचि साइगोले सहकार्यको समझदारी पत्रमा गतवर्षको चैत ११ गते हस्ताक्षर गरिसकेका छन्।
सोही समझदारीअनुसार नै जापानले नेपालबाट पहिलो चरणमा नर्सिङ केयरमा कामदार लैजाने भएको थियो।
जापानमा कामदार संकट निम्तिएसँगै जापान सरकारले विदेशी कामदार भित्र्याउने नीति अघि सारेको छ। ५ वर्षभित्रमा नेपालसँगै चीन, इन्डोनेसिया, मंगोलिया, म्यानमार, थाइल्याण्ड, कम्बोडिया, भियतनाम, फिलिपिन्सबाट श्रमिक लैजाने जनाएको छ। यी मुलुकहरुबाट जापानले ३ लाख ४५ हजार हाराहारीमा कामदार लैजाने भएको हो।
नेपालबाट सबैभन्दा बढी कामदार जापान पठाउन पहल गर्ने उद्घोष गरिरहेको सरकारले कुन मोडालिटीमा कामदार पठाउने भन्ने विषयमा टुंगो लगाउन सकेको छैन।
भाषा परीक्षामा सहभागि हुने परीक्षार्थीहरुका लागि उपयुक्त भाषा प्रशिक्षण केन्द्र तथा आवश्यक सीपका लागि पनि सरकारले कुनै पहल गर्न सकेको छैन। भाषा परीक्षा तथा सीप परीक्षणको नतिजा हेर्दा नेपालबाट उल्लेख्य संख्यामा रोजगारीका लागि जापान जान सक्ने अवस्था देखिएको छैन।
जापान कामदार पठाउने सम्बन्धमा नेपाल सरकारले बेलैमा सक्रियता देखाउन नसके नेपालीहरुको रोजगारीको अवसर गुम्ने जानकारहरु बताउँछन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस