काठमाडौँ-स्टुडेन्ट होस् वा वर्किङ भिसा, कोरिया प्रवेश गर्न चाहने नेपाली युवाको कमी छैन । ईपीएसमार्फत् कोरिया जान चाहनेको संख्या पनि बर्सेनि बढ्दो छ ।
अघिल्लो वर्षको तुलनामा रोजगारीको लागि कोरिया जान इच्छुक नेपालीको संख्या यो वर्ष करिब १५ हजारले बढेको छ । अघिल्लो वर्ष कोरियन भाषा परीक्षाका लागि ६० हजारले आवेदन दिएकोमा यो वर्ष सो संख्या बढेर ७५ हजार पुगेको छ ।
विगत १० वर्षको तथ्यांकले नेपाली कामदार कोरिया जाने क्रेज क्रमशः बढ्दै गइरहेको देखाउँछ । अझ नेपालीको ‘कोरिया क्रेज’ विगत ५ वर्षदेखि भने तिव्र रूपमा बढ्दै गइरहेको छ ।
नेपालीको कोरिया क्रेजसँगै कोरिया सरकारले समेत नेपाललाई दिने कामदार माग कोटा बढाउँदै लगेको छ । कोटा वृद्धिले नेपालीका लागि कोरिया आकर्षक रोजगार गन्तव्य बन्दै गइरहेको देखाएको छ ।
कोटासँगै दक्षिण कोरियाले त्यहाँ जाने विदेशी कामदारको तलब वृद्धि गर्ने गरेका कारण त्यहाँ जाने नेपालीको संख्या ५ वर्षमा दोब्बरले वृद्धि भएको छ ।
यसरी रोजगारीको लागि कोरिया जाने चाहना राख्दै परीक्षा दिने नेपालीको संख्या बढेपछि कोरिया सरकारले यो वर्ष पास गराउने संख्या वृद्धि गरेर १० हजार पु¥याएकोे छ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत हालसम्म ४४ हजार ४५४ नेपाली रोजगारीका लागि कोरिया प्रवेश गरिसकेका छन् ।
हालसम्म ३ लाख ३२ हजार नेपालीले कोरिया भाषा परीक्षामा सहभागी भए पनि ४४ हजार ४५४ जना नेपालीमात्र कोरिया सफल भएका छन् । रोजगारीका लागि कोरिया खुला गरिएपछि सन् २०१६ मा सबैभन्दा बढी नेपाली कोरिया प्रवेश गरेको तथ्यांक छ ।
सो एक वर्षको अवधिमा मात्र ८ हजार ७९ नेपाली कामदार कोरिया प्रवेश गरेको ईपीएस शाखाका अधिकृत शोभाकर भण्डारीले जानकारी दिए । सन् २०१६ मा ७ हजार ५०१ पुरुष र ५७८ महिला रोजगारीका लागि कोरिया प्रवेश गरेका थिए ।
यसरी नै सन् २०१७ को अप्रिल २८ सम्म १ हजार ८३९ पुरुष र २१७ महिला गरी २ हजार ५६ जना कोरिया गइसकेको शाखाले जनाएको छ । आउने शनिबारसम्म थप २५० कोरिया जाने तयारीमा रहेका छन् ।
बर्सेनि बढ्छ विदेशी कामदारको तलब
कोरिया सरकारले ईपीएसअन्तर्गत रोजगारीका लागि लैजाने कामदारको तलब बर्सेनि वृद्धि गर्ने प्रणाली विकास गरेका कारण रोजगारीका लागि त्यहाँ जाने नेपाली युवाको संख्या बढ्दै गइरहेको छ ।
कोरिया सरकारले ईपिएस प्रणाली लागू हुनु अघिदेखि नै कामदारको न्यूनतम तलब बर्सेनि वृद्धि गर्ने गरेका कारण पनि त्यहाँ जाने नेपालीले अन्य देशको तुलनामा राम्रो आम्दानी गर्ने गरेको अधिकृत भण्डारी बताउँछन् ।
सन् २०१७ पछि कोरियामा कार्यरत कामदारले मासिक न्यूनतम १ लाख २५ हजार रुपैयाँ पाउनेछन् भने दिनमा १-२ घन्टा ओटी गर्ने कामदारले १ लाख ५० हजार भन्दा बढी आम्दानी गर्ने गरेका छन् ।
भाषा परीक्षा अनिवार्य
रोजगारीका लागि कोरिया जान भाषा परीक्षा अनिवार्य पास गर्नुपर्छ । विगत ८ वर्षदेखि कोरिया सरकारले नेपालबाट लैजाने युवाको प्रारम्भिक छनोटका लागि भाषा परीक्षा लिँदै आइरहेको छ ।
कोरियन भाषा परीक्षाका लागि बर्सेनि युवाको आवेदन पर्ने भए पनि कोरियाको एचआरडीले १० प्रतिशतभन्दा कमलाई मात्र छनोट गर्ने गरेको छ ।
परीक्षा पास गर्न निश्चित अंक नतोकी आवश्यक कामदार संख्या बराबर सबैभन्दा बढी अंक ल्याउने परीक्षार्थीलाई छनोट गर्ने गरेको छ ।
अवैधानिक नबसे कोटा बढ्ने
कोरियामा कामदार पठाउँदै आएका १६ राष्ट्रमध्ये अवैधानिक बस्ने विदेशी कामदारहरूको संख्या गणना गर्दा नेपाली सबैभन्दा कम रहेका छन् । कोरियामा कार्यरत नेपाली कामदारमध्ये हालसम्म लगभग ३ प्रतिशत कामदार अवैधानिक रूपमा काम गर्दै आएको कोरिया सरकारको तथ्यांकमा उल्लेख छ ।
कोरिया सरकारले कामदार पठाउने देशका अवैधानिक कामदारको संख्या हेरेर कोटा थपघट गर्ने गरेको छ । कोरियामा जुन देशका कामदारको अवैधानिक बस्ने संख्या कम छ, सोही देशलाई कोटा थप गर्दै आएका कारण नेपाललाई दिने कोटा बढ्दै गईरहेको ईपिएस कोरिया शाखाले जनाएको छ ।
कोरिया सरकारले स्वेच्छिक स्वदेश फर्कने विदेशी कामदारलाई पुनः रोजगारीको अवसर दिने योजना ल्याइसकेको छ । कोरियाले नेपाली कामदार लिन नेपालसँग सन् २००८ देखि श्रमसम्झौता गर्दै आइरहेको छ । यो श्रम सम्झौता प्रत्येक २ वर्षमा नवीकरण गरिँदै आएको छ ।
कोरिया सरकारले ईपीएसअन्तर्गत रोजगारीका लागि लैजाने कामदारको तलब बर्सेनि वृद्धि गर्ने प्रणाली विकास गरेका कारण रोजगारीका लागि त्यहाँ जाने नेपाली युवाको संख्या बर्सेनि बढ्दै गइरहेको छ ।
कोरिया सरकारले ईपिएस प्रणाली लागू हुनुअघिदेखि नै कामदारको न्युनतम तलब बर्सेनि वृद्धि गर्ने गरेका कारण पनि त्यहाँ जाने नेपालीले अन्य देशको तुलनामा राम्रो आम्दानी गर्ने गरेका छन् ।
भाषा पास गर्नु रोजगारीको ग्यारेन्टी होइन
कोरियन भाषा परीक्षा उत्तीर्ण हुनु भनेको कोरियामा रोजगारीको ग्यारेन्टी होइन । रोजगार आवेदन गर्न योग्य हुनु मात्र हो ।
यी कुरा विगत वर्षहरूमा राम्रोसँग सुसूचित गर्न नसक्दा भाषा परीक्षा उत्तीर्ण भएपछि आफ्नो पेशा, व्यवसाय र अध्ययन नै छाडेर लामो समय कोरिया जान प्रतीक्षा गरेर बसेका युवाहरू सबैले रोजगारीको अवसर नपाउने हुँदा उनीहरूमा मानसिक, आर्थिक, सामाजिक समस्याहरू पैदा हुने गरेको छ ।
कोरियामा रोजगारीका लागि जाने उत्पादन क्षेत्रको तुलनामा कृषि तथा पशुपालनतर्फ कार्यरत कामदारहरूमा धेरै समस्या रहेको छ । कोरियाका रोजगारदाताले महिला कामदारहरूको माग न्यून गरिनु, कामदारहरूमा डिप्रेसन, आत्महत्या र कुनै बिमारीबिना नै सुतेकै स्थानमा मृत्यु हुने जस्ता समस्या देखिएका छन् ।
त्यसैगरी मृतकको शव नेपाल ल्याउने व्यवस्थापन खर्च व्यहोर्न समस्या देखिएको छ भने गैरकानुनी बसाइ र कार्यस्थल छिट्टै परिवर्तन गर्ने जस्ता प्रवृत्ति पनि देखा परेका छन् ।
विदेशको कमाइ थोरै लगानी
वैदेशिक रोजगारीबाट फर्केका नेपाली कामदारको कमाइ उत्पादनमूलक क्षेत्रमा लगानी गरी स्वदेशमा नै रोजगारीको स्रोत खोज्नुपर्नेमा घर, जग्गा, विलासी वस्तुको खरिदमा सकिने गरेको देखिएको छ ।
सरकारले रेमिट्यान्सलाई मुलुकभित्रै उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने वातारवरण बनाउन नसक्दा परदेशमा पसिना बगाएर कमाएको विदेशी मुद्रा अर्को बाटो हुँदै पुन विदेशिएको छ ।
कोरियाबाट फर्केका क्रियाशिल नेपालीको समूह अंकुर नेपाल नामक संस्थाले गरेको एक अध्ययनअनुसार कोरियाबाट काम गरेर फर्केका नेपालीले केही न केही पेशा व्यवसाय सञ्चालन गरी स्वरोजगार तथा आयमूलक कार्यमा लागनी गरेको देखाएको छ ।
सो संस्थाको सर्वेक्षणअनुसार कोरियाबाट फर्केका ६३ दशमलव १५ प्रतिशत उद्योग व्यवसायमा लागेको र ५ दशमलव २६ प्रतिशत कृषि तथा पशुपालन क्षेत्रमा लागेको देखाएको छ ।
त्यसैगरी ५ दशमलव ७८ प्रतिशत सामाजिक कार्यमा समेत लागेको देखाएको छ । २ दशमलव १० प्रतिशत पर्यटन क्षेत्रमा लागेको देखिन्छ भने २० प्रतिशत बेरोजगार रहेको देखिएको छ ।-कारोबार
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस