सोल- नेपालीहरू रोजगारीका लागि दक्षिण कोरिया आउन थालेदेखि हालसम्म ११३ जनाले ज्यान गुमाएका छन् । सन् २०१५ मा सबैभन्दा धेरै २२ जनाको विभिन्न कारण मृत्यु भएको थियो भने २०१६ मा २० जनाको मृत्यु भएको छ ।
सन् २०१६ मा ७ जना नेपालीले कोरियामा आत्महत्या गरे । त्यस्तै, कम्पनीमा भएको दुर्घटनामा ५ जनाको ज्यान गयो । सुतेकै अवस्थामा ४ जनाको निधन भयो । हृदयघातका कारण एक जनाको मृत्यु भयो । २ जनाले सडक दुर्घटनामा ज्यान गुमाए भने १ जनाको बिरामी भएका कारण मृत्यु भयो ।
आत्महत्या
४ वर्षअगाडि स्याङ्जा पञ्चमूलबाट कोरिया आएका गनेशराज चापागाईं (२४) ले फेब्रुअरी १७ को राति आत्महत्या गरे । उनले कम्पनी नजिकैको रुखमा पासो लगाई झुण्डिएर आत्महत्या गरेका हुन् ।
२ वर्षअगाडि कोरिया आएका गुल्मी अर्खलेका विजय खत्रीले कम्पनीको क्वार्टरमा झुण्डिएर आत्महत्या गरे । मार्च ६ तारिख दिउँसोपख मृत भेटिएका उनी ख्वान्जुस्थित टेक्स्टाइल कम्पनीमा कार्यरत थिए ।
९ महिनाअगाडि कोरिया आएका कञ्चनपुरका मोहनसिंह बुढापाल (३४) ले कम्पनीको बिममा झुण्डिएर आत्महत्या गरे । मार्च ६ तारिख आइतबार मृत भेटिएका उनी आन्सानस्थित एक फलाम कम्पनीमा कार्यरत थिए ।
उता, यान्फ्याङस्थित फर्निचर कम्पनीमा कार्यरत २८ वर्षीय गोविन्द कँडेलले कम्पनीको स्टोर रुममा पासो लगाई आत्महत्या गरे । ३५ महिनाअगाडि कोरिया आएका कँडेलले मे १८ मा किन आत्महत्या गरे भन्नेबारेमा खुल्न सकेन ।
भोजपुरका ४३ वर्षीय लोकबहादुर राई झुण्डिएको अवस्थामा मृत भेटिए । मे २० तारिखको रात उनी झुण्डिएका थिए ।
सेप्टेम्बर २० मा दक्षिण कोरियाको राजधानी सउलमा नेपाली रेस्टुरेन्ट सञ्चालन गर्दै आएका मनोज डाँगी मृत भेटिए । कोरियामा लामो समयदेखि व्यवसाय गर्दै आएका डाँगी नेपाली साहित्यमा पनि कलम चलाउँदै आइरहेका थिए ।
अक्टोबर ३ सोमबार बिहान ३० वर्षीय नारायण पाण्डेले कम्पनीको गोदाममा बिजुलीको तारले पासो लगाई आत्महत्या गरे । गुल्मी लुम्पेक घर भएका पाण्डे ४ महिनाअगाडि कृषि भिसामा ईपीएसमार्फत आएका थिए ।
कम्पनी दुर्घटना
कुखुराको मासु काट्ने कम्पनीमा कार्यरत गोरखा बक्रामकी २९ वर्षीया सिर्जना पन्त कार्कीको ज्यान गयो । मे ६ शुक्रबार साँझ करिब ५ बजे काम सकिने बेला मेसिनमा च्यापिएर उनको मृत्यु भएको बताइएको थियो ।
जुन एक बुधबार पाल्पाका यामबहादुर थापामगरको कम्पनी दुर्घटनामा निधन भयो । ईपीएसमार्फत करिब २३ महिनाअगाडि आएका उनी थेगुस्थित एक पेपर कम्पनीमा कार्यरत थिए ।
ख्वन्जुकोे थेसोस्तिथ थर्मद इन्सुलेसन कम्पनीमा कार्यरत रुपन्देही मण्ग्रिामका ३९ वर्षीय नुभराज भुषालको चलिरहेको मेसिनले च्यापिएर अक्टोबर २९ मा ज्यान गएको हो ।
छल्लानाम्दो ख्वान्जुस्थित एक कम्पनीमा कार्यरत सुर्खेत साटापानीका २४ वर्षीय उत्तम पंगालीको कम्पनी दुर्घटनामा परी डिसेम्बर १३ मा निधन भएको थियो । फारानस्थित एक कम्पनीमा कार्यरत झापाका नविन राई (२३) को कम्पनीको सामान झार्ने क्रममा सोही कम्पनीको ट्रकले ठक्कर दिँदा डिसेम्बर २३ मा मृत्यु भयो ।
सुतेकै अवस्थामा मृत्यु
६ महिनाअगाडि कोरिया आएका बुटवल घर भएका ३४ वर्षीय लोक भट्टटराई मार्च ८ तारिख बिहान सुतेकै अवस्थामा मृत भेटिएका थिए । उनी छल्लानाम्दोस्थित एक टमाटर फार्ममा कार्यरत थिए ।
किम्फुस्थित एक सिएन्सी कम्पनीमा कार्यरत पाँचथरका जय राईको सुतेकै अवस्थामा मे १३ का बिहान मृत्यु भयो । उनी एक वर्षअगाडि कोरिया आएका थिए । बागलुङका हिरा पुनको जुन १८ रातमा सुतेकै अवस्थामा मृत्यु भएको भयो । उनी फेन्तेकस्थित एक कम्पनीमा कार्यरत थिए ।
सउलबाट उत्तरतर्फ किम्फोस्थित एक मेटल कम्पनीमा कार्यरत तेह्रथुमका ३४ वर्षीय दुधराम लिम्बुको सेप्टेम्बर १८ को राति सुतेकै अवस्थामा मृत्यु भएको थियो । उनी तीन महिनाअगाडि कोरिया आएका थिए ।
हृदयघात
संखुवासभा मानेभञ्ज्याङका ३४ वर्षीय ठाकुरप्रसाद याम्फु राईको २०१६ जनवरी १० को राति सुतेको अवस्थामा मृत्यु भएको थियो । कोरिया आएको ७ महिनामै उनको मृत्यु भएको थियो । छल्लानाम्दोस्थित एक बंगुर फार्ममा कार्यरत उनको मृत्युको कारण हृदयघात भएको बताइएको थियो ।
सडक दुर्घटना
दक्षिण कोरियाको इन्छनमा मे ५ बिहीबारको रातमा कारले ठक्कर दिँदा ईश्वर गुरुङको घटनास्थलमै निधन भएको थियो । त्यसैगरी, जुलाई ३० मा कार दुर्घटनामा परी पाल्पाका हेमन्त आचार्य (३०) को घटनास्थलमै निधन भएको थियो ।
बिरामी
कोरियन नागरिकसँग विवाह गरी आएकी दोलखा खोपाचाकुकी डोल्मा शेर्पाको फेब्रुअरी ३ तारिखका दिन निधन भएको थियो । उनको बोनम्यारो अभाव भएपछि सुवनस्थित आजु अस्पतालमा उपचार भइरहेको थियो ।
सन् २०१५ मा ८ जनाले आत्महत्या गरे । कम्पनी दुर्घटनामा ४ जना मारिए । सुतेकै अवस्थामा २ जनाको निधन भयो । हृदयघातका कारण ४ जनाको निधन भयो । ३ जनाको मृत्युको कारण खुल्न सकेन र एक जनाको हत्या भयो ।
दक्षिण कोरियामा रोजगारी र घरजममा आएका २००७ देखि हालसम्म ११३ जना नेपालीको मृत्यु भएको छ । नेपाली दूतावास स्थापना भएयता ४ महिलासहित १११ पुरुषको मृत्यु भएको छ । कोरियामा करिब ४० हजारको हाराहारीमा नेपालीको बसोबास छ । सउलस्थित नेपाली दूतावासका अनुसार सन् २०१४ मा ८ जनाले ज्यान गुमाएका थिए ।
सन् २०१३ मा १८ नेपालीले ज्यान गुमाएका थिए । दूतावासको तथ्यांकमा मृत्युका कारण आत्महत्या, कम्पनी दुर्घटना, हृदयघात, बिरामी र कारण खुल्न नसकेको उल्लेख छ ।
दूतावासको तथ्यांकअनुसार १० वर्षको अवधिमा सुतेकै अवस्थामा मृत्यु हुने र आत्महत्या गर्नेको संख्या सबैभन्दा धेरै छ । दैनिक कामको ओभरलोड धेरै र सुताइ वा आराम गर्ने समय थोरै भएमा क्रोनिक फटिकको लक्षण देखा पर्छ । त्यसले मानिसको जिउमा तागत नहुने, थकाइमात्र लाग्ने, राम्रोसँग निद्रा नलाग्ने, खाना खान मन नलाग्ने, पेट, जिउ दुख्ने, वाकवाकी लाग्ने र स्मरण शक्तिमा ह्रास आउनेजस्ता लक्षण देखा पर्छन् ।
कोरियाको थेगुस्थित थेगु दोङसान अस्पतालमा कार्यरत नेपाली डाक्टर राजेशचन्द्र जोशीले भने दैनिक लामो समय काम गर्दा आराम र खानपानमा ध्यान दिनु आवश्यक हुन्छ । आत्महत्या डिप्रेसनका कारण गरेको उल्लेख छ । पारिवारिक झमेला, एक्लोपना, भाषा, हावापानी, रात्रिकालीन काम र भिन्न संस्कृतिका कारण डिप्रेसन हुने गरेको उल्लेख छ ।
त्यस्तै, ज्यान गुमाउनुको मुख्य कारण पारिवारिक तनाव, लामो समय काम, खानपानमा ध्यान नदिनु, अत्यधिक मदिरा सेवन गर्नु र नियमित स्वास्थ जाँच नगाराउनु आदि हुन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस