काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको नीति कार्यक्रमले तत्कालीन लक्ष्यसहित सरकारको दीर्घकालीन लक्ष्यलाई अनुसरण गरेको बताएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार सङ्घीय संसदमा पेश गरेकी सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै उनले नीति कार्यक्रम कोभिड–१९ ले सिर्जना गरेको चुनौती सामाना गर्ने र ‘समृद्ध नेपाल सुखी नेपाली’ निर्माण गर्ने राष्ट्रिय आकाङ्क्षासहित आएको बताए। उनले आगामी आर्थिक बर्षमा कृषि उत्पादनमा महत्वपूर्ण योगदान गर्ने र प्रदेश नं २ को मुहार बदल्ने सुनकोशी–मरिन–बागमती डाईभर्सन आयोजनाको निर्माण कार्य आरम्भ गर्ने तत्परता निकै नै महत्वपूर्ण रहेको उल्लेख गरे ।
सांसद पौडेलले अन्तरदेशीय तथा अन्तरराष्ट्रिय आबद्धताका दृष्टिले असाधारण महत्व राख्ने र नेपाली अर्थतन्त्रको जीवन रेखा सावित हुने हैसियतका वीरगञ्ज–काठमाडौँ, केरुङ–काठमाडौँ तथा पूर्वपश्चिम रेलमार्गको निर्माण कार्य आगामी वर्षभित्र प्रारम्भ गर्ने अठोट महत्वपूर्ण भएको स्पष्ट पारे । उनले तमोर–चिसाङ, माडी–दाङ र कालीगण्डकी–तिनाउ डाइभर्सन जस्ता आयोजनालाई अघि बढाउने तत्परता नै विशेष प्रकृतिको भएकाले स्रोतको व्यवस्थापन गरेर बूढीगण्डकी, पश्चिम सेती जस्ता जलविद्युत् आयोजनालाई अघि बढाउनु उत्तिकै महत्वपूर्ण रहेको धारणा राखे ।
नेकपाका सांसद महेश बस्नेतले नीति कार्यक्रमले सरकारको समृद्धिको योजनालाई सम्बोधन गरेको भन्दै नीति कार्यक्रमको सार पक्षमा नगई विरोध गर्नुको कुनै अर्थ नभएको बताए । सोही दलका विशाल भट्टराईले नेपाली भूमि समेटेर तत्काल नक्सा सार्वजनिक गर्न माग गरेका छन् । निर्धक्क भएर अगाडि बढ्न सरकारलाई आग्रह गर्दै उनले नीति कार्यक्रमको समर्थन गरे ।
सोही दलका सांसद कृष्णगोपाल श्रेष्ठले सरकारको नीति तथा कार्यक्रम यर्थाथताको धरातलमा आएको र त्यसले मुलुकको समग्र आवश्यकता र जनअपेक्षालाई सम्बोधन गरेको भन्दै प्रतिपक्षीले विरोधका लागि विरोध गरेको बताए । उनले स्वास्थ्य तथा कृषि क्षेत्रको विकासका लागि सरकारको नीति तथा कार्यक्रमले विशेष महत्व दिएको र राष्ट्रियताको सम्बन्धमा समेत प्रष्ट रहेको उल्लेख गरे ।
नेकपाका सांसद बिन्दा पाण्डेले सरकारको नीति तथा कार्यक्रममा सीमाको सुरक्षा र राष्ट्रियताको जर्गेना गर्ने विषय समेटिनु असाध्यै महत्वपूर्ण विषय भएको बताएकी छिन् । श्रम, सीपको विकास, श्रमशक्तिको विकास गर्दे विदेशी श्रमिकलाई प्रतिस्थापन गर्ने, कृषि उपजको उत्पादनको सङ्कलन, भण्डारण, बजारीकरणलाई ध्यान दिनुपर्ने, मर्यादित श्रम सम्बन्धको विकास गर्नुपर्ने र स्वास्थ्य तथा शिक्षा देखिएको समस्या समाधान गर्ने तर्फ विशेष ध्यान दिन उनले सरकारलाई सुझाव दिएकी छिन् ।
नेपाली काँग्रेसका सांसद गगन थापाले कोरोनाको महामारीका कारण परेको अर्थतन्त्र जोगाउन लाग्नेतर्फ सरकार नलागेको, रोजगारी गुमेका नागरिकलाई राहत दिने विषयलाई प्राथमिकता नदिइएको बताए । उनले सीमामा अलपत्र परेका नागरिक फिर्ता ल्याउन नसक्ने सरकारले गुमेको भूमि फिर्ता ल्याउन सक्छ भन्नेमा आफूलाई विश्वास नलागेको तर्क गरेका छन् ।
काँग्रेसकै दिलेन्द्रप्रसाद बडुले कोभिड–१९ कारण बेरोजगार बनेका नागरिकलाई रोजगारी दिने कार्यक्रम सञ्चालन गर्न माग गरे । कालापानी क्षेत्रमा सडक पूर्वाधार पु¥याउन सरकारले तत्काल काम थाल्नुपर्नेमा जोड दिँदै त्यस क्षेत्रका जनतालाई हेलिकोप्टरमार्फत खाद्यान्न पु¥याउन सरकारको ध्यानाकर्षण गराए । उनले कालापानी क्षेत्रमा नेपालको तर्फबाट प्रभावकारी सुरक्षा प्रबन्ध नभएको र केही समय पहिले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गरेका सो स्थानको भ्रमणको बारेमा हालसम्म कुनै जानकारी पाउन नसकिएकामा गुनासो गरे ।
सांसद भीमसेनदास प्रधानले नीति कार्यक्रमले जनताको अपेक्षा सम्बोधन गर्न नसकेको भन्दै आलोचना गरे । भारतले अतिक्रमण गरेको भूमिलाई समेटेर नयाँ नक्सा सार्वजनिक गर्ने तयारी राम्रो काम भएको भन्दै उनले सीमा सुरक्षामा सेनालाई तैनाथ गर्नुपर्नेमा जोड दिए । सांसद रङ्गमती शाहीले कोरोनाले पार्न सक्ने प्रभावलाई न्यूनीकरण गर्न नीति कार्यक्रम आउन नसकेको र कार्यकर्तामुखी मात्रै भएको आरोप लगाएका छन् । उनले सबै नागरिकको कोरोना परीक्षण गर्ने व्यवस्था गर्न माग गरे ।
सांसद पार्वता डिसी चौधरीले कोभिड–१९ लाई नियन्त्रणमा ल्याउन परीक्षणको दायरालाई बढाउन माग गर्दै न्यून आय भएका नागरिकको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् । सांसद राजेन्द्रकुमार केसीले चालु आवमा तय गरिएको कार्यक्रम नै पूरा नभएको आरोप लगाउँदै आगामी आवको कार्यक्रम पनि उस्तै आएको र त्यसले नेपाली जनताको पक्षमा कुनै पनि अर्थ नराख्ने बताईन् । उनले कृषिलाई विशेष प्राथमिकतामा राख्न र स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासका लागि ध्यान दिनुपर्नेमा जोड दिएकी छिन् ।
सांसद बहादुरसिंह लामाले सरकारको नीति तथा कार्यक्रममाथि सदनमा छलफल भइरहेको बेला मन्त्री नै अनुपस्थित हुनु दुःखद रहेको बताए । उनले आफ्नो थात थलो फर्कन नेपाल–भारत सीमा क्षेत्रमा आइपुगेका नेपाली नागरिकलाई उचित परीक्षण गरी घर आउने वातावरण बनाउन आग्रह गरे । सांसदहरु शान्ता चौधरी, हितबहादुर तामाङ, विमला नेपाली, देवेन्द्रराज कँडेल, हिराचन्द्र केसी, सुजाता परियार, पुष्पा भुसाल, लालकाजी गुरुङ, दिव्यमणि राजभण्डारीलगायतले नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुनुपर्ने, विपद्सँग जुध्न स्वास्थ्य पूर्वाधारको निर्माण, कृषि क्षेत्रको विकास तथा रोजगारी अभिवृद्धिका कार्यक्रम ल्याउन सुझाव दिएका थिए ।
प्रतिनिधिसभाको अर्को बैठक यही जेठ ६ गते मध्याह्न १२ बजे बस्नेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस