काठमाडौं – राजीनामाका लागि पार्टीभित्र दबाब बढ्दै गएपछि प्रधानमन्त्री केपी ओली संसदीय दलमा बहुमत पुर्याउने प्रयासमा जुटेका छन् । उनले पूर्वएमाले मात्र होइन, पूर्वमाओवादीका सांसदलाई सामूहिक र व्यक्तिगत रूपमा भेट गरिरहेका छन् ।
पार्टी सचिवालय, स्थायी समिति र केन्द्रीय समितिमा समेत अल्पमतमा रहेका ओली संसदीय दलमा भने टक्कर लिने मनस्थितिमा छन् । प्रधानमन्त्री पदको निर्णय पनि संसदीय दलले गर्ने संवैधानिक व्यवस्था छ । संसदीय दलमै बहुमत पुर्याएर प्रचण्ड–नेपाल समूहको प्रयास बिफल बनाउन सकिनेमा ओली समूह आशावादी पनि छ ।
‘संसदीय दलमा बहुमत पुग्छ भन्नेमा उहाँहरू ढुक्क देखिनुहुन्छ, जस्तोसुकै परिस्थितिको पनि सामाना गर्न तयार हुन सांसदहरूलाई निर्देशन पनि दिनुभएको छ,’ मंगलबार बालुवाटार भेलामा सहभागी एक सांसदले बताए ।
नेकपामा एक सय ७४ सांसद छन् । संसदीय दलमा बहुमतका लागि ८८ सांसद आवश्यक पर्छ । नेकपा संसदीय दलमा पूर्वएमालेको एक सय २१ तथा पूर्वमाओवादी समूहका ५३ सांसद छन् । वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमसहित नेपाल समूहमा ४३ सांसद भएको सो समूहको हिसाब छ । यसरी आफ्नो पक्षमा ९६ जना भएको र ओली समूहबाट पनि केही मान्छे जोडिँदा एक सय नाघ्ने हिसाब प्रचण्ड–नेपाल समूहको छ । उता, अहिलेसम्म ओली एक्लैसँग ७८ सांसद रहेको उनीनिकट नेताहरूको दाबी छ । बहुमतका लागि ८८ जना सांसद आवश्यक हुने भएकाले थप १० सांसद जोड्न सो समूह सक्रिय छ ।
त्यति मात्र होइन, नेपाल समूहको मुख्य स्तम्भ मानिएका घनश्याम भुसाल र योगेश भट्टराई अहिले निष्क्रिय छन् । उनीहरू पनि तटस्थ रहने ओली समूहको विश्वास छ । नेपाल समूह मात्र होइन, पूर्वमाओवादी समूहलाई आकर्षित गर्ने ओलीको प्रयास निरर्थक भएको छैन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उद्योग–वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ओलीलाई समर्थन गर्ने संकेत गरेका छन् ।
उद्योगमन्त्री भट्टले भने अहिले सरकारको नेतृत्व खोज्दा जनमतको अपमान हुने टिप्पणी गर्दै आएका छन् । उनी ओली समूहले सोमबार बालुवाटारमा बोलाएको भेलामा पनि सहभागी थिए ।
स्थायी समिति सदस्य टोपबहादुर रायमाझीलाई मनाउन प्रधानमन्त्री ओलीले महासचिव विष्णु पौडेललाई जिम्मा दिएका छन् । रायमाझीले भने आफू पार्टी एकताको पक्षमा रहेको भन्दै संस्थागत विधि र प्रक्रियाभन्दा बाहिर गएर समस्या समाधान खोजिए आफ्नो साथ नरहने बताए ।
‘पार्टी र सरकारमा देखिएका समस्या र अन्तरविरोध पार्टी एकतालाई केन्द्रविन्दुमा राखेर विधिसम्मत, संस्थागत र सामूहिक रूपमा हल गर्नुपर्छ, त्यसभन्दा बाहिर गएर जुनसुकै तरिकाबाट गरिने हर्कत लाभदायी हुँदैन,’ रायमाझीले भने ।
गृहमन्त्रीका प्रमुख स्वकीय सचिव तथा नेकपा केन्द्रीय सदस्य सूर्य सुवेदी ‘पथिक’ले सामाजिक सञ्जाल ट्विटरमार्फत भनेका छन्, ‘माहामारीविरुद्ध विश्वव्यापी जुधिरहेको मानव समुदाय अहिले अस्वस्थ, अमर्यादित बचकाना बेमौसमी हर्कतका विरुद्ध छन् । पहिला महामारीसँग लडेर बचाऊ, तत्पश्चात् अरू गरौँला भनिरहेको अवस्थामा त्यसको ठीक उल्टो धारमा हिँड्ने पार्टी, सरकार र व्यक्तिलाई समयक्रममा निक्कै ठूलो सजाय दिने निश्चित छ ।’
प्रचण्डले वरिष्ठ नेता नेपाललाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्न सक्ने सम्भावनाका कारण नेपालकै गृहजिल्ला रौतहटका सांसद प्रभु साहलगायतलाई आफूतिर आकर्षित गर्न ओलीले कोसिस गरिरहेका छन् । अनुशासनको कारवाहीस्वरूप केन्द्रीय सचिवालयबाट स्पष्टीकरण सोध्न लगाएको भन्दै साह नेपालसँग रुष्ट छन् । नेपाललाई प्रधानमन्त्रीमा अघि सारिए आफू विपक्षमा उभिने संकेत उनले पार्टीका नेताहरूलाई दिइसकेका छन् ।
प्रचण्ड–नेपाल समूहका नेताले पनि सांसदहरूलाई ‘तयारी’ अवस्थामा रहन निर्देशन दिएका छन् । प्रधानमन्त्रीले सहज ढंगले बाटो खुला नगरे र दलको चुनावको सामना गर्ने सोच बनाए एक सय सांसद आफ्नो पक्षमा उभाउने प्रचण्ड–नेपाल समूहका दोस्रो तहका नेताहरूको तयारी छ । नयाँपत्रिका दैनिकले लेखेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस