काठमाडौं । सभामुख अग्नि सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीचको मनमुटाव सतहमा देखिएको छ ।
सभामुख सापकोटाले संघीय संसद्को ‘कार्यवाहक’ महासचिवमा गोपालनाथ योगीलाई तोकेपछि त्यसमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले आपत्ति जनाएका छन् ।
सभामुख सापकोटाले बुधबार प्रतिनिधिसभा र राष्ट्रिय सभामा रहेका विभिन्न समितिका सभापति, सभामुख र अध्यक्षबीच छलफल राखेकामा मनमुटावको प्रभाव देखिएको छ ।
अध्यक्ष तिमिल्सिनाले सो बैठकमा आफू उपस्थित हुन नसक्ने सन्देश पठाएर असन्तुष्टि जनाए । उनले राष्ट्रिय सभाअन्तर्गतका समिति सभापतिलाई पनि बैठकमा नजान सल्लाह दिएको बताइएको छ ।
‘अध्यक्षज्यूले कार्यवाहक महासचिवको विषयमा सरसल्लाह भएन भनेर भन्नुभयो,’ राष्ट्रिय सभाको दिगो विकास सुशासन समितिकी सभापति तारादेवी भट्टले भनिन् । अध्यक्ष तिमिल्सिनासहित राष्ट्रिय सभा र प्रतिनिधि सभाका धेरै समितिका सभापति नआउने भएपछि सभामुख सापकोटाले बुधबारको बैठक स्थगित गरेका छन् ।
सभामुख सापकोटाले २ चैतमा प्रतिनिधिसभाका सचिव योगीलाई ‘संघीय संसद्को महासचिव भई कामकाज गर्न तोकेको’ पत्र दिएका थिए । सो पत्रमा ‘राष्ट्रिय सभा अध्यक्षको परामर्शमा कार्यवाहक तोकिएको’ भन्ने उल्लेख थियो ।
आफूसँग परामर्श नगरी, पत्रमा गरेको भनेकामा तिमिल्सिनाले सभामुख सापकोटासँग आपत्ति जनाएका हुन् । योगीलाई कार्यवाहक तोकिएपछि रिसाएका तिमिल्सिनालाई भेट्न सभामुख सापकोटा मंगलबार सिंहदरबारस्थित उनकै कार्यकक्षमा पुगेका थिए ।
‘सभामुख सापकोटासँगको भेटमा अध्यक्षज्यूले आफूसँग परामर्श नगरी योगीलाई कार्यवाहक तोकिएकामा आपत्ति जनाउनुभयो,’ अध्यक्ष तिमिल्सिना निकट स्रोतले भन्यो ।
स्रोतका अनुसार अध्यक्ष तिमिल्सिनाले महासचिवको योग्यतामा उल्लेख भएको उमेरको विषय र कानुनी प्रश्न हेर्न मात्रै भनेका थिए ।
योगी प्रतिनिधिसभाको सचिव बन्दा पूर्वमाओवादीले सिफारिस गरेको थियो । संघीय संसद्को महासचिव र सचिवको नियुक्ति तथा योग्यतासम्बन्धी कानुनमा महासचिव बन्न ४५ वर्ष पुगेको हुनुपर्ने प्रावधान छ । योगीको उमेर ४५ पुग्न अझै १५ महिना बाँकी छ । पूर्वएमालेको सिफारिसमा राष्ट्रिय सभा सचिव बनेका राजेन्द्र फुयाँल पनि ४५ वर्ष पुगेका छैनन् । उनी अहिले ४१ वर्षका मात्र छन् ।
आफ्नो सिफारिसमा नियुक्त सचिवको योग्यतामा उमेर बाधक बनेपछि पूर्वएमाले वृत्तमा बाहिरबाट महासचिव नियुक्त गर्नुपर्ने मत बलियो रूपमा उठेको छ ।
स्रोतका अनुसार संघीय संसद्को महासचिव बन्ने दौडमा राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा। भेषराज अधिकारी छन् । कानुनमा स्नातकोत्तर गरेका अधिकारीलाई महासचिव बनाउन राष्ट्रपतिले नेताहरूसँग परामर्श थालेको स्रोतले बतायो ।
संघीय संसद् सचिवालयका दुई सचिव भरतराज गौतम र ध्रुव घिमिरे महासचिवको दौडमा छन् । मनोहरप्रसाद भट्टराईले महासचिवबाट अवकाश पाएपछि अहिले सो पद रिक्त छ ।
राजधानी दैनिकले लेखेको खबर अनुसार, प्रधानमन्त्रीका कानुनी सल्लाहकार बाबुराम दाहाल र अधिवक्ता टीकाराम भट्टराईको महासचिवका रूपमा चर्चा छ । स्रोतका अनुसार भट्टराईले सभामुखमा सापकोटालाई चयनको विरोध गरेकाले उनको सम्भावना छैन ।
दाहालको नाम चर्चामा भए पनि उनी प्रत्यक्ष लबिङमा जुटेका छैनन् । संघीय संसद् सचिवालयका दुई सचिवले भने बाहिरबाट महासचिव ल्याइए असहयोग गर्ने प्रस्ट सन्देश प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस