काठमाडाैं-विभिन्न किसिमका आपराधिक गतिविधिमा संलग्न रहेर ‘डन’का रूपमा चिनिएका व्यक्तिहरू अझै राजनीतिक पार्टी र नेताको संरक्षणमा रहँदै आएका छन् ।
राजनीतिक आडमा विगतदेखि नै आफ्ना गतिविधि सञ्चालन गर्दै आइरहेका उनीहरू प्रहरीको इन्काउन्टर अपरेसनपछिका पछिल्ला समय केही कमजोरजस्तो देखिए पनि राजनीतिक संरक्षणबाट भने अलग्गिएका छैनन् । सोही आडमा उनीहरूले आफूलाई डनका रूपमा सुरक्षित अवतरण भने गराउँदै आएका छन् ।
केही डन त राजनीतिक शक्तिका आडमै बढुवा भएर नेता हुँदै सांसदसम्म बनिसकेका छन् । केहीले भने डनबाट पलायन भएर आफ्नै व्यवसाय सञ्चालनसमेत गर्दै आइरहेका छन् ।
धेरैजसो गुन्डा नाइके वा डनहरूले कुनै न कुनै पार्टीको सदस्यता लिएका छन् । केहीले भने पारिवारिक सम्बन्ध बनाएर प्रत्यक्ष साँठगाँठमा आफूलाई सुरक्षित राखेका छन् । केही गुन्डा नाइके पलायन भएर विदेश पुगेका छन् भने केही विभिन्न किसिमका व्यवसायतर्फ लागेका छन् ।
नेपाल प्रहरीका प्रवक्तासमेत रहेका डीआईजी विश्वराज पोखरेल भने डनहरू अन्यत्र पलायन हुनु वर्तमान सरकार, गृह नेतृत्व र प्रहरीको सफलता भएको बताउँछन् ।
‘अहिलेको सरकारले कानुन कार्यान्वयनमा निष्पक्षता, पारदर्शिता र समानता राख्न तथा पद प्रतिष्ठा र सम्बन्ध, शक्ति र सम्पन्नता नहेरी काम गर्ने वातावरण सिर्जना गरिदिएको छ, त्यो नै सबै प्रकारको गुन्डागर्दी, तस्करी र कालोबजारीविरुद्धको सफलताको मूल आधार हो,’ प्रहरी प्रवक्ता पोखरेलले भने ।
तत्कालीन एमाले धादिङका उपाध्यक्षसमेत रहेका दिनेश अधिकारी ‘चरी’ प्रहरी इन्काउन्टरमा २१ साउन २०७१ मा मारिएपछि गुन्डा नाइकेहरू राजनीतिक संरक्षणमा रुमल्लिन थालेको प्रहरीका पूर्वअधिकारी बताउँछन् ।
चरी इन्काउन्टरको दुई वर्षपछि अर्थात् ३ भदौ २०७३ मा अर्का डन कुमार श्रेष्ठ (घैंटे) समेत मारिएका थिए । नेपाली कांग्रेस निकट गुन्डा नाइके भनेर चिनिएका उनलाई प्रहरीले राजधानीको कपुरधारामा इन्काउन्टरमा मारिएको दाबी गर्दै आएको छ ।
यस्तै, १० फागुन २०७४ मा प्रहरी इन्काउन्टरमा मारिएका मनोज पुन तत्कालीन नेकपा एमालेका नेताहरूको संरक्षणमा रहेको बताइन्छ । उनले युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको ४ पुस २०७३ मा हत्या गरेका थिए ।
घैैंटेले भने जीवन रक्षाको माग गर्दै मारिनुभन्दा एक महिनाअघि मात्रै राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिएका थिए । चरी र घैंटेलगायतको इन्काउन्टर विषयमा आयोगले अहिले पनि अनुसन्धान गरिरहेको बताउँदै आएको छ ।
चरी र घैंटेको प्रहरी इन्काउन्टरमा मृत्यु भएपछि केही गुन्डा नाइके विदेश पलायन भएको प्रहरीले दाबी गरेको छ । सो दुई घटनापछि गुन्डा नाइकेले आफूलाई प्रहरीबाट असुरक्षित महसुस गरेको र सुरक्षित अवतरण खोजेको बताइन्छ ।
डनका रूपमा चर्चामा रहेका दीपक मनाङे हाल सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट प्रदेश सांसद भएका छन् । उनी मनाङको प्रदेश सभा ‘ख’बाट स्वतन्त्र उम्मेदवारका रूपमा गण्डकी प्रदेशको प्रदेशसभामा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका थिए ।
उनी गत १९ असारमा (नेकपा) मा प्रवेश गरेका हुन् । उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपाका प्रदेश इन्चार्ज पृथ्वी सुब्बा गुरुङले नेकपा प्रवेश गराएका थिए ।
अर्का गुन्डा नाइके गणेश लामा पहिले राप्रपाको संरक्षणमा थिए । पछि विजयकुमार गच्छदारको फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य बनेका उनी गच्छदार नेपाली कांग्रेसमा फर्किएपछि हाल कांग्रेस नेताकै रूपमा छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस