काठमाडौं-दुईदिवसीय जिल्ला भ्रमणमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार झापा पुगे । चुनावी तयारीकै झल्को दिनेगरी भएको झापा भ्रमणमा ओलीसँग पार्टीका सांसदहरु, विद्यार्थी नेता तथा कलाकारसँगै थिए । साथमा थिए, पूर्वमाओवादी नेता लेखराज भट्ट, जो अहिले एमाले स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज छन् ।
नेता भट्टलाई ओलीले आफ्नो गृहजिल्ला लैजानु आफैंमा अर्थपूर्ण थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भीआईपी कक्षदेखि नै ओली र भट्ट सँगसँगै थिए । यती एयरलाइन्सको जहाजबाट पूर्व उडान भर्दा ओली र भट्ट सँगै बसे । जहाजमै ओली र भट्टको सामिप्यता लोभलाग्दो देखियो ।
झण्डै एकघण्टाको उडानमा भलाकुसारी गर्दै झापाको भद्रपुर विमानस्थल पुगे । भद्रपुरमा पनि ओली र भट्ट सँगसँगै ओर्लिए । स्वागत गर्न सुवास नेम्वाङ, भानुभक्त ढकाललगायत विमानस्थलमा लामबद्ध हुँदा जहाजबाट ओर्लिएका ओली अगाडि थिए, भने भट्ट पछाडि परे ।
यो कुरालाई नोटिस गरिरहेका ओलीले भट्टको हात तानेर आफूसँगै अगाडि ल्याए । आफूलाई खादा ओढाउँदा ओलीले स्वागत कार्यकर्तालाई लेखराजजी पनि हुनुहुन्छ भनेर स्वागतका लागि अघि सारे । नेता कार्यकर्ताले भट्टलाई खादा ओढाएर स्वागत गरे । यो दृश्यले लेखराजलाई ओलीले कति महत्व दिएका भन्ने दर्शाउँछ ।
आइतबार दिनभर झापामा रहेका लेखराजले ओलीका साथै एमाले नेता कार्यकर्ताबाट राम्रै सम्मान पाए । बृहत् पार्टी प्रवेश कार्यक्रममा पनि उनी विशिष्ट अतिथि तथा वक्ताका रुपमा थिए । सम्बोधनका क्रममा उनले सुदूरपश्चिमलाई सुदूरपूर्वसँग जोड्ने अवसर दिएकोमा ओलीलाई धन्यवाद पनि दिए र ओलीलाई नजिकबाट चिन्ने मौका दिएकोमा प्रचण्डलाई धन्यवादसम्म भन्न भ्याए । झापामा भट्ट ओलीको सामिप्यता र आतिथ्यमा मोहित भए नै अर्कोतिर ओलीले पार्टी पंक्ति तथा भट्टलाई ‘आफ्नै’को सन्देश पनि दिए ।
एमालेभित्र १० बुँदे सहमति कार्यान्वयनलाई लिएर असन्तुष्टि चुलिएका बेला ओलीले भने भट्टलाई आफ्नै जिल्लामा आमन्त्रण गरी महत्व दिएर २ जेठमा जस्ताको तस्तै फर्किन नसकिने सन्देश दिएका छन् । १० बुँदे कार्यान्वयनमा अध्यक्षले फरक कुरा गरेको भन्दै कार्यदलका संयोजक भीम रावलले राजीनामा दिएका बेला ओलीले पनि रावललाई झापाबाट स्पष्ट सन्देश दिएका छन्, ‘लेखराज भट्टलाई छाड्न सकिँदैन ।’
२ जेठमा जस्ताको तस्तै फर्किँदा सुदूरपश्चिम प्रदेश संयोजक भीम रावल हुनेछन् । तर पूर्वमाओवादीबाट आएका नेतालाई पनि समायोजन गरेर जानुपर्ने तर्क नेतृत्वले गर्दै आएका छन् । जसअन्तर्गत अध्यक्ष ओलीले भट्टलाई सुदूरपश्चिम इन्चार्ज बनाइसकेका छन् । यसमा रावलले असहमति जनाउँदै आएका छन् । १० बुँदे कार्यान्वयनको हकमा अन्य प्रदेशमा कार्यान्वयन भए पनि सुदूरपश्चिममा जटिल बन्न पुगेको छ ।
ओलीले विगतमा नेकपा र सरकारमा अल्पमतमा पर्दा साथ दिएको भन्दै रामबहादुर थापा ‘बादल’लाई बागमती प्रदेश र लेखराजलाई सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी दिए । १० बुँदेअन्तर्गत बादललाई प्रदेश इन्चार्ज मानिसकिएको छ । तर सुदूरपश्चिममा रावलले आफू संयोजक हुनैपर्ने आशयका साथ अडान राखेका छन् । भलै उनले व्यक्तिगत हिसाबले भन्दा पनि समग्र १० बुँदे कार्यान्वयनका लागि भनिरहेका छन् । तर १० बुँदे बल्झिनुमा सुदूरपश्चिममा रावल कि भट्ट भन्ने प्रतिस्पर्धा नै हो ।
यो प्रतिस्पर्धाका बीच ओली भने लेखराजलाई च्यापेर हिँडेका छन् । सुदूरपश्चिममा लेखराज दायाँबायाँ हुन्न भन्ने सन्देश पनि दिइरहेका छन् । अहिले सुदूरपश्चिममा रावल र भट्टबीच वर्चश्वको लडाइँ चलिरहेको छ,जसमा नेतृत्वले भट्टलाई महत्व दिएको झापा भ्रमणबाट प्रष्ट हुन्छ ।
सम्बन्धित थप तस्बिर ग्यालरीमा छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस