काठमाडौं-दसैँ-तिहार नजिकिँदै छन्, तर रोजगारी खोज्न सीमा पार गर्नेको संख्या झन्झन् बढ्दै छ ।
भारतमा कोरोना संक्रमितको संख्या ६० लाख नाघेको छ । तर, रोगको डरले यता आउनेभन्दा भोकको डरले उता जानेको हुल पाँच गुणा ठूलो छ । महिनौँ बेरोजगार बस्दा छाक टार्नसमेत समस्या हुन थालेपछि चाडपर्वकै मुखमा भारत जाने युवाको लर्को झन् बढेको छ ।
धनगढीको त्रिनगर नाकाबाट मात्र पछिल्ला दुई दिनमा तीन हजार नेपाली भारत गएका छन् । ‘पहिले दुई–चार सय हुन्थे, बीचमा हजारको संख्या थियो, हिजोआज दैनिक डेढ हजारसम्म भारत जाने गरेका छन्,’ सीमामा खटिएका सशस्त्र प्रहरी बलका अधिकारीहरू भन्छन्, ‘उताबाट भने दिनमा करिब तीन सयजनासम्म आइरहेका छन् ।’
धनगढी उपमहानगरपालिका– १ का रमेश विकले धनगढीमै अटोरिक्सा चलाउन थालेको पाँच वर्ष भएको थियो, सबै ठीकै थियो । तर, चैतबाट लकडाउन सुरु भएपछि उनी झन्डै सात महिना कामविहीन भए । लकडाउन खुले पनि यात्रु छैनन्, आम्दानी नभएपछि उनी अटो साहुलाई बुझाएर आइतबार भारततिर लागेका छन् ।
‘लकडाउनको वेला ऋण गरेर घरखर्च चलाउनुप¥यो, खुलेपछि पनि कमाइ हुन सकेन,’ त्रिनगर भन्सार नाकामा सयौँ नेपालीसँगै लाइनमा भेटिएका उनले भने, ‘साँझ–बिहान के खाने भन्ने समस्या हुन थाल्यो । उपाय केही देखिएन, परिवार पाल्नका लागि भारत जानुको विकल्प देखिएन ।’
नेपालमै यो हालत भयो, भारतमा के हुने हो, उनलाई थाहा छैन । तर, मुम्बईमा रोजगारी खोज्ने उनको योजना छ । ‘जीवनका १५ वर्ष भारतमा कठिन श्रम गरेको हुँ, अब जस्तोसुकै काम भए पनि आफ्नै देशमा गर्छु भनेर पाँच वर्षअघि स्वदेश फर्केको हुँ, तर मैले गल्ती सोचेको रहेछु, स्वदेशमा हारेर फेरि विदेश जाँदै छु,’ उनले भने । उनी सीमा कटेका छन्, अब घरमा श्रीमती र चारजना नाबालक छोराछोरीको साँझ–बिहानको छाक सुखले टर्ला कि भन्ने आशा पलाएको छ ।
भारत जानेकै लाइनमा थिए– रोल्पाको गंगादेव गाउँपालिका–७ का दीपेन्द्र ओली । बाध्यता उही हो, कमाइ नहुँदा घरमा छाक टार्ने समस्या भयो । ‘अघिपछि भए दसैँ–तिहार आयो भनेर रमाइलो मान्दै गाउँ आउने वेला हो, तर यसपालि यही वेला घर, परिवार र देश छाडेर जानुपर्ने भयो,’ उनले भने, ‘हामीजस्ता गरिबलाई दसैँ होइन, दशा आउँदै छ, दशा टार्न बिदेसिन लागेको छु ।’
दीपेन्द्रका घरमा वृद्ध आमाबुबा, बहिनी र भाउजू छन् । भारतमा भएका उनका दाइ पनि कोरोनाको त्रासले घर फर्केका थिए, तर आर्थिक संकट चर्किएपछि उतै फर्किएका छन् । उनले भने, ‘दाइ बीचमै पढाइ छोडेर भारत जानुभो । दाइको कमाइले मात्रै परिवार चलेन । पढाइ छोडेर म पनि भारततिर गएँ ।’
कक्षा १० मा पढ्दापढ्दै चार वर्षअघि भारत पसेका थिए दीपेन्द्र । त्यसयता कहिलेकाहीँ घरमा आउने–जानेबाहेक भारतमै मजदुरी गर्छन् । ‘घरमा साँझ–बिहानको चुलो बाल्न दुःख थियो, त्यसैले पढ्न पाइनँ ।
अहिले संकटमा परेको वेला ओत लागौँ भनेर देश आएको, ओत पाइएन,’ उनी विरक्तिए । स्याउ टिप्ने र बोक्ने वेला भएको सिम्ला जान लागेको उनले सुनाए । उनको गाउँका मात्र सातजना सिम्ला हिँडेका छन् । गरिबीका कारण भारत जान लागेका उनीहरू सबै १७ देखि २२ वर्ष उमेरका थिए । यो समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस