काठमाडौं-नेपाल र भारतबीच कूटनीतिक सम्बन्ध चिसो हुँदै जाँदा सीमाका बासिन्दाबीच जोखिमपूर्ण तनाव बढेको छ ।
लकडाउन उल्लंघन गरेर सीमा वारिपारि गर्ने मात्र होइन, सीमास्तम्भ उखेलेर फाल्नेसम्मका घटना भएका छन् ।
राजनीतिक तथा कूटनीतिकस्तरमा समस्या समाधान गर्न ढिलाइ भए सीमाको जनजीवन थप उत्तेजित हुने स्थिति छ । यो समाचार आजको नयाँ पत्रिकाले छापेको छ।
समाचार अनुसार गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीमाथि शनिबार राति झापाको गौरीगन्ज गाउँपालिका–५ फत्तेपुरस्थित सीमा क्षेत्रमा भारतीय नागरिकले गरेको आक्रमणमा परी दुई प्रहरी घाइते भएका छन् ।
राति साढे ११ बजे सीमास्तम्भ नम्बर १५१ नजिक गस्तीमा रहेको सशस्त्रको टोलीले भारतबाट नेपालतर्फ आइरहेका युवाको समूहलाई रोक्न खोज्दा आक्रमण गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले बताए ।
उनका अनुसार घरेलु हातहतियार बोकेको ४०–५० जनाको समूहले आक्रमण गरेको थियो । ‘घरेलु हतियारसहित आएका भारतीयले सीमामा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण गरे । सुरक्षाकर्मीलाई लछारपछार गरे,’ डिएसपी थापाले भने ।
सशस्त्रको ६ जनाको टोली थियो । भारतीयको आक्रमणपछि आत्मरक्षाका लागि सशस्त्र प्रहरीले चार राउन्ड हवाईफायर गरेको डिएसपी थापाले बताए । राति नै गौरीगन्जमा रहेको सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थल पुगेपछि अवस्था सामान्य भएको थियो ।
गौरीगन्ज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले मदिरा सेवन गर्न नेपालतर्फ आउने युवाले सुरक्षाकर्मीमाथि आक्रमण गरेको बताए ।
‘भारततिर मदिरा बन्द छ । लकडाउनअघि भारतीयहरू नेपालतिर आएर मदिरा खाने गर्थे,’ उनले भने, ‘उनीहरू मदिरा सेवन गर्नकै लागि नेपालतर्फ आएका हुन् । सशस्त्रले रोक्न खोजेपछि आक्रमण गरिएको हो ।’ यो क्षेत्रमा नेपाल र भारत दुवैतिर दशगजा क्षेत्रमा बाक्लो बस्ती छ । कतिपय नेपाली र भारतीय नागरिकले प्रयोग गर्ने खानेपानी ट्युबेल पनि एउटै रहेको अध्यक्ष श्रेष्ठले बताए ।
सशस्त्र प्रहरीमाथि भएको आक्रमणका विषयमा आइतबार दुवै देशका सुरक्षा निकायका अधिकारीबीच छलफल भएको छ । भारतीय प्रहरी र एसएसबीका अधिकारीले आगामी दिनमा यस्ता घटना नदोहोरिने प्रतिबद्धता जनाएको छलफलमा सहभागी गौरीगन्जका अध्यक्ष श्रेष्ठले बताए । लकडाउनको समयमा दुवै देशका नागरिकलाई सीमा क्षेत्रमा ओहोरदोहोर नगर्न सचेत गराउने सहमति भएको उनले बताए ।
यसअघि पनि सुरक्षाकर्मीमाथि सीमा क्षेत्रमा आक्रमण हुने गरेको छ । शनिबार चौथोपटक आक्रमण भएको हो । वैशाख अन्तिम साता झापा गाउँपालिका–४ मा सशस्त्र प्रहरीमाथि आक्रमण भएको थियो ।
एक सय ५० जनाभन्दा बढीको संख्यामा आएका भारतीय नागरिकले सीमास्तम्भ नम्बर १३१÷१ नजिकै घरेलु हतियारले आक्रमण गरेका थिए । त्यतिवेला पनि सशस्त्र प्रहरीले दुई राउन्ड हवाईफायर गरेको थियो ।
वैशाख अन्तिम साता नै कचनकवल गाउँपालिका–४ खुट्टामनिमा पनि सीमामा खटिएका सुरक्षाकर्मी र भारतीय नागरिकबीच विवाद भएको थियो ।
त्यतिवेला भने भारतीय नागरिक भागेका थिए । जेठ पहिलो साता भने कचनकवल गाउँपालिका–१ स्थित सीमास्तम्भ नम्बर १२५÷१० नजिकै आक्रमण भएको थियो । खेती गर्न नेपालतर्फ आएका ५०–६० जनाको समूहले हुलहुज्जत गरेपछि सशस्त्र प्रहरीको टोलीले एक राउन्ड हवाईफायर गरेको थियो ।
लकडाउनका कारण नेपालतर्फ आउन नपाएपछि भारतीयहरू वेलावेला आक्रमणमा उत्रिने गरेको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले बताए । ‘लकडाउनले उनीहरूको रोजीरोटी खोसिएको छ । विशेषगरी सीमा क्षेत्रमा व्यापार गर्ने आक्रोशित छन् । लकडाउनले समस्या परेकाहरू सुरक्षाकर्मीमाथि खनिन्छन्,’ उनले भने ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस