काठमाडाैं – सरकारले ठूलो सङ्ख्यामा नेपाली कार्यरत खाडीका मुलुक, मलेशिया तथा दक्षिण कोरियाका लागि काउन्सेलर (श्रम) र श्रम सहचारी सिफारिस गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरियाको काउन्सेलरमा रमा भट्टराई (निरौला), कतारका लागि कृष्णप्रसाद खनाल र मलेशियाका लागि दीपक ढकाललाई काउन्सेलरमा सिफारिस गरेको हो । भट्टराई सामाजिक सुरक्षा कोष, खनाल वैदेशिक रोजगार विभाग र ढकाल मन्त्रालयमा उपसचिवका रूपमा कार्यरत छन् ।
यस्तै संयुक्त अरब इमिरेट्स (युएइ) श्रम सहचारीमा प्रमिला केसी, ओमानका लागि दिनेश ढकाल, मलेशियाका लागि प्रकाश पन्थी, कुवेतका लागि विपना ज्ञवाली र साउदी अरेबियाका लागि प्रेमप्रसाद उपाध्याय छनोट भएको मन्त्रालयका उपसचिव देवेन्द्र कार्कीले बताए ।
श्रम सहचारीमा सिफारिस भएका सबै मन्त्रालय र मातहतका निकायका शाखा अधिकृत छन् ।
सिफारिस गरिएका काउन्सेलर र सहचारी परराष्ट्र मन्त्रालय हुँदै सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगमा जानेछन् । उनीहरुले नेपाली श्रमिकका समस्या समाधानका लागि नेपाल सरकारको प्रतिनिधित्व गर्दै सम्बन्धित मुलुकसँग संवाद गर्नेछन् । काउन्सेलर र सहचारीको दरबन्दी श्रम मन्त्रालयमै हुनेछ भने काम कारवाही परराष्ट्र मन्त्रालयमार्फत गर्नुपर्नेछ । उनीहरुले प्रत्येक महिना श्रम मन्त्रालयमा मासिक प्रगति विवरण पठाउनु पर्नेछ । झण्डै दुई वर्षअघि काउन्सेलर र सहचारी छनोटको प्रक्रिया शुरु भए पनि सिफारिस हुनसकेको थिएन ।
काउन्सेलर र सहचारी छनोटलाई पारदर्शी र व्यवस्थित बनाउन मन्त्रालयले नयाँ मापदण्ड बनाउने तयारी थालेपछि तत्कालीन अवस्थामा सिफारिस हुनसकेको थिएन ।
श्रम मन्त्रालयले श्रम काउन्सेलर र सहचारी छनोटका लागि २०७४ माघ २५ मा सूचना प्रकाशित गरेको थियो । पुरानो प्रक्रियालाई निरन्तरता दिन मन्त्रालयले गत मङ्सिर २६ गते अन्तर्वार्ताका लागि पुनः सूचना प्रकाशित गरेको थियो । लामो समयसम्म श्रम काउन्सेलर र सहचारी नियुक्त हुन नसक्दा अप्ठ्यारोमा परेका नेपाली कामदारको उद्धार तथा सहजीकरणमा गर्न समस्या हुँदै आएको थियो ।
काउन्सेलर (श्रम) तथा श्रम सहचारी छनोट तथा नियुक्तिसम्बन्धी कार्यविधि तथा मापदण्ड–२०७३ मा भएको व्यवस्थाबमोजिम काउन्सेलर र सहचारी छनोट गरिएको मन्त्रालयले जनाएको छ ।
मापदण्डअनुसार श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग, श्रम विभाग, वैदेशिक रोजगार बोर्ड, सामाजिक सुरक्षा कोष तथा व्यावसायिक तथा सीप विकास तालिम केन्द्र र मातहतका कार्यालयका कर्मचारी मात्र काउन्सेलर र सहचारी छनोट प्रक्रियामा सहभागी हुन पाउनेछन् ।
रोजगार ऐन, २०६४ ले श्रम काउन्सेलर र सहचारी नियुक्तिको व्यवस्था गरेको छ । ऐनको दफा ६८ को उपदफा (१) मा वैदेशिक रोजगारमा पाँच हजार वा सोभन्दा बढी कामदार पठाइएका मुलुकमा कम्तीमा राजपत्राङ्कित अधिकृतलाई श्रम सहचारी नियुक्त गर्ने व्यवस्था छ ।
यस्तै वैदेशिक रोजगार नियमावली, २०६४ ले श्रम सहचारी नियुक्त गर्दा एक हजार वा सोभन्दा बढी महिला कामदार पठाइएका मुलुकमा महिला श्रम सहचारी नियुक्त गर्नुपर्ने व्यवस्था गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस