काठमाडौँ – लकडाउन चैत ११ मा सुरु हुँदा मुलुकमा कोभिड–१९ संक्रमित दुई जना थिए । लकडाउनको ७० औं दिन अर्थात् सोमबार यो संख्या १ हजार ८ सय ११ पुगेको छ ।
यहीबीचमा ८ जनाको संक्रमणले मृत्यु भइसकेको छ । यसले लकडाउन कोभिड–१९ संक्रमण रोकथामको एक मात्र उपाय होइन भन्ने प्रस्ट्याएको छ ।
यो कुरा विज्ञहरूले बताउँदै आए पनि सरकारले लकडाउनलाई अपनाइरहेको छ । सबैतिरबाट दबाब पर्न थालेपछि भने सरकारले लकडाउनको ढाँचा बदल्ने तयारी गरेको छ ।
मन्त्रिपरिषद्ले शनिबार जेठ मसान्तसम्म लकडाउन लम्ब्याउने निर्णय गरेसँगै यो अवधिमा नयाँ ढाँचा तयार गर्न कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएको छ । त्यही निर्देशनअनुसार समिति र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले नयाँ ढाँचा बनाइरहेका छन् ।
‘लकडाउन अब क्रमशः सामान्य बनाउँदै जानुपर्ने आवश्यकता बोध भएको छ,’ उच्चस्तरीय समन्वय समितिका सदस्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कान्तिपुरसँग भने, ‘विशेषज्ञहरूको राय लिएर नयाँ मोडालिटी बन्छ र त्यसका आधारमा सरकार अघि बढ्छ ।’
अन्य मुलुकले आर्थिक गतिविधि ठप्प र जनजीवनसमेत अस्तव्यस्त बनेपछि लकडाउनलाई खुकुलो पारिसकेका छन् । नेपालसँगै लकडाउन सुरु गरेको भारतले सार्वजनिक यातायातलगायत सबै खुला गरिसकेको छ । नेपालमा भने लकडाउनको विकल्प नसोची अघि बढेपछि नागरिक तहबाट सरकारको विरोध भइरहेको छ ।
अब पनि यथास्थितिमा लकडाउन बढाउँदै लैजाँदा थप समस्या बढ्ने र त्यो धान्न नसकिने आकलन सरकारी अधिकारीहरूले गरेका छन् ।
सीसीएमसीले अहिलेको अवस्था विश्लेषण गरिरहेको छ । त्यसअनुसार उत्पादनमूलक र सेवामूलक क्षेत्र छुट्याएर कुनलाई कसरी सञ्चालन गर्ने भन्ने ढाँचा बन्दै छ । सम्भवतस् मंगलबार उच्चस्तरीय समितिको बैठक बस्छ । त्यहाँ नयाँ मोडालिटीको ठोस प्रस्ताव बन्न सक्छ ।
मन्त्री भट्टराईका अनुसार संक्रमितहरूको अवस्था, त्यहाँको जनसंख्या, स्वास्थ्य उपचारको सम्भावित उपलब्धता हेरेर ठाउँ विशेषमा लकडाउनको ढाँचा परिवर्तन हुन सक्छ ।
हाल कम जोखिम देखिएका हिमाली, पहाडी जिल्ला र काठमाडौं उपत्यकालगायतमा आवागमन खुकुलो बनाइने सम्भावना छ । बढी जमघट हुने स्थानबाहेक अन्य क्षेत्रमा खुकुलो हुनेछ । सार्वजनिक यातायात तत्काल खुला नभए पनि केही स्थिति आकलन गरी आन्तरिक हवाई उडान खुलाउने विषयमा कुरा भइरहेको छ । विमानस्थलमा सामाजिक दूरी कायम गर्न ‘लाइन मार्किङ’ भइरहेको छ ।
स्वास्थ्य जाँच र हवाई यात्राको प्रोटोकल बनिरहेको छ । विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय हवाई संगठन ९आईकाओ० ले कोभिड–१९ का बेलालाई तयार गरेको प्रोटोकलअनुसार यहाँ पनि व्यवस्था गर्ने तयारी छ । उडान खुलेपछि केही होटल पनि सञ्चालनमा आउनेछन् । उडान र होटल सञ्चाललगायतका लागि सम्बन्धित क्षेत्रका व्यक्तिहरूसँग कुराकानी भइरहेको मन्त्री भट्टराईले जानकारी दिए ।
यसअघि नै खाद्यान्न, कृषि, निर्माणलगायत अत्यावश्यक गरी झन्डै ४० प्रकारका सेवासँग सम्बन्धित कलकारखानामा सामाजिक दूरी र स्वास्थ्य सावधानी अपनाएर काम गर्न सक्ने निर्णय मन्त्रिपरिषद्ले गरिसकेको छ । त्यो दायरा अब थप खुकुलो बनाउने तयारी छ ।
लकडाउन सुरु भएको केही सातापछि नै सरकारी निकायमा यसको ढाँचा फेर्ने विकल्पमा जानुपर्ने बहस सुरु भएको थियो । कान्तिपुर दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस