काठमाडौं – सरकारले कोरोना भाइरसको परीक्षणलाई व्यापक बनाउने उद्देश्यसहित हालै निजी स्वास्थ्य संस्थाहरूलाई पनि आरडिटी परीक्षणको बाटो खुला गरेको छ ।
तर, सरकारमातहतको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले भने उपचार प्रक्रियामा आरडिटी परीक्षण गर्न नमिल्ने प्रतिवेदन सरकारलाई बुझाएको छ ।
आरडिटी किटको विश्वसनीयतामाथि संसारभर प्रश्न उठेपछि स्वास्थ्य मन्त्रालयले प्रभावकारिता अध्ययन गर्न परिषद्लाई जिम्मा दिएको थियो । परिषद्ले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालगायतका निकाय तथा विज्ञहरूसमेत सहभागी गराएर अध्ययन–अनुसन्धान गरेको थियो ।
जसले आरडिटी किट अध्ययन–अनुसन्धान गर्न मिल्ने, तर उपचारको प्रक्रियामा प्रयोग गर्न नमिल्ने निष्कर्ष निकालेको छ । परिषद्ले बुझाएको प्रतिवेदन स्वास्थ्य मन्त्रालयले भने गोप्य राखेको छ ।
अनुसन्धानमा संलग्न परिषद्का एक अधिकारीका अनुसार आरडिटी किटमा कोरोना पोजेटिभ देखाउने क्षमता ५० प्रतिशत मात्रै देखिएको छ । तर, नेगेटिभ केसमा भने राम्रो रिपोर्ट दिएको छ ।
त्यही भएर विश्व स्वास्थ्य संगठनको मान्यता र अनुसन्धानको निचोडअनुसार आरडिटी किट उपचारका रूपमा प्रयोग गर्न नमिल्ने निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएको उनले बताए ।
अनुसन्धानका क्रममा दुई सय व्यक्तिको रगतको नमुना लिएर आरडिटी र उनीहरूकै थ्रोट स्वाब संकलन गरी आरटी पिसिआर विधिबाट पनि कोरोना परीक्षण गरिएको थियो ।
जसमा चारजना कोरोना भाइरस पोजेटिभ भएका थिए । एक सय ९६ नमुनाको पिसिआर र आरडिटी दुवै परीक्षणले नेगेटिभ रिपोर्ट देखायो । तर, पिसिआरले पोजेटिभ देखाएका चार नमुनामध्ये आरडिटीले दुई नमुनामा मात्रै पोजेटिभ देखाउन सक्यो । त्यसैले आरडिटी परीक्षणलाई प्रयोगमा ल्याए ५० प्रतिशत संक्रमित समुदायमै छुट्ने र तिनले भयावह स्थिति ल्याउने अनुसन्धानको निष्कर्ष छ ।
समुदायमा एकैपटक ठूलो संख्यामा संक्रमण देखिएका वेला भने पिसिआर परीक्षणको रिपोर्ट आउन ढिला हुने भएकाले आरडिटी परीक्षण गर्न सकिने सुझाब प्रतिवेदनमा दिइएको छ । तर, आरडिटीको रिपोर्टलाई उपचारका रूपमा लिन नहुने अनुसन्धानको निष्कर्ष छ ।
सरकारले ओम्नी समूहमार्फत ७५ हजार आरडिटी किट खरिद गरेको थियो । संसारभर यो किटमाथि प्रश्न उठिरहेका वेला नेपालले खरिद गरेको भन्दै सरकारको चर्को आलोचना भएको थियो ।
विवादका बीच मन्त्रिपरिषद्बाट निर्णय भई तराईका जिल्लामा आरडिटी किटबाट परीक्षण गर्न थालिएको थियो । अरू किट बजारमा नभएकाले अनुसन्धानकर्ताहरूले पनि ओम्नी समूहले ल्याएका किटकै प्रभावकारिता अनुसन्धान गरेका थिए ।
सरकारले सबै निजी स्वास्थ्य संस्थाहरूलाई आरडिटी परीक्षण गर्न दिए राज्यले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी अनुसन्धानमा संलग्न विज्ञहरूले दिएका छन् । ‘अस्पतालमा आरडिटी गरेका आधारमा मानिस ढुक्क भएर घर जान्छन्, तर प्रभावकारिता न्यून भएकाले आरडिटीको भर पर्दा समुदायमा जोखिम बढाउने खतरा बढी छ,’ प्रतिवेदनमा भनिएको छ ।
अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार नागरिक दुई हजार तिरेर निजी स्वास्थ्य संस्थामा आरडिटी परीक्षण गर्न तयार हुन्छन्, तर पुनः १५ हजार तिरेर पिसिआर गर्न तयार हुँदैनन् । त्यसैले उपचारका रूपमा पैसा तिरेर निजी संस्थाहरूलाई आरडिटी परीक्षण गर्न दिनु गलत हुन्छ ।
सरकारको निर्णयपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा धेरै निजी स्वास्थ्य संस्थाले आरडिटी परीक्षणको अनुमतिका लागि निवेदन दिएका छन् । प्रयोगशालाले भने कार्र्यविधि बनाएर मात्रै अनुमति दिन उचित हुने सुझाब स्वास्थ्य मन्त्रालयलाई दिएको छ ।
‘आरडिटी परीक्षणमा कोरोना पोजेटिभ आए के गर्ने, नेगेटिभ आए के गर्ने भन्ने यकिन भएको छैन । त्यसैले कार्यविधि बनाएर मात्रै दिनुपर्छ भन्नेमा हामी छौँ,’ प्रयोगशालाकी निर्देशक डा। रुणा झाले भनिन् । नयाँपत्रिका दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस