काठमाडाैँ – लकडाउनका कारण सहरी क्षेत्रमा तरकारीको उपभोग करिब ५० प्रतिशतसम्म घटेको छ । यस्तो अवस्थामा मुलुकभित्रै उत्पादित तरकारीले उपभोक्ताको माग धान्नुपर्ने हो ।
सामान्य अवस्थामा हुने तरकारी खपतमा स्वदेशी र आयातीत तरकारीको हिस्सा आधा–आधा हुन्छ । तर, अहिले तरकारीको उपभोग घटे पनि आयात घटेको छैन, मागको सबैजसो हिस्सा आयातीत तरकारीले कब्जा गरेपछि स्वदेशी किसान आफ्नै तरकारीबारीमा डोजर चलाउन बाध्य बनेका छन् ।
नेपाली तरकारी बजारको आधा तरकारी भारतबाट मात्र आउने गर्छ । गत फागुनमा मात्र पनि कुल खपतको ४८.२७ प्रतिशत तरकारी भारतबाट आयात भएको थियो ।
लकडाउन सुरु भएको चैत महिनामा मात्र भारतबाट दुई अर्ब ८१ करोड २९ लाख रुपैयाँको तरकारी आयात भएको भन्सार विभागको तथ्यांक छ । नेपालमा ११ चैतदेखि लकडाउन सुरु भए पनि सीमानाका २ चैतदेखि नियन्त्रित भएका हुन् ।
चैतको तथ्यांक आधार मान्दा नेपालमा दैनिक नौ करोड ३७ लाख रुपैयाँको तरकारी आयात भइरहेको छ । त्यसैले लकडाउनयता २३ वैशाखसम्म ४२ दिनमा चार अर्ब १२ करोड ५५ लाख रुपैयाँको तरकारी आयात भएको मान्न सकिने भन्सारकै एक अधिकारीले बताए । तरकारी अत्यावश्यक वस्तु भएकाले आयात निर्वाध रूपमा भइरहेको भन्सार विभागका महानिर्देशक सुमन दाहालको भनाइ छ ।
चालू आर्थिक वर्षको नौ महिनामा अर्थात् चैत मसान्तसम्म मुलुकमा कुल २३ अर्ब ३९ करोड ४२ लाख रुपैयाँबराबरको तरकारी आयात भएको छ । त्यसअघि फागुनसम्ममा २० अर्ब ५८ करोड १३ लाख रुपैयाँको तरकारी आयात भएको भन्सार विभागको तथ्यांक छ ।
व्यापारीहरूले नेपाली किसानको उत्पादन किन्नुभन्दा भारतबाट आयात गर्नु सजिलो मान्ने गरेका छन् । काठमाडौंलगायत सहरी क्षेत्रका उपभोक्ताकहाँ पुग्ने तरकारी संकलनका लागि व्यवसायीले निश्चित ‘च्यानल’ प्रयोग गर्छन् । पहिले नै तय भएका ‘च्यानल’ भत्किएका छन् भने नयाँ ‘च्यानल’ बनेका छैनन् । त्यसैले विभिन्न जिल्लामा उत्पादित तरकारी बजारसम्म आउन सकेको छैन ।
चितवनको किसानले उत्पादन गर्ने तरकारी भरतपुरको तरकारी तथा फलफूल बजारमा जान्छ । अहिले सो बजार बन्द छ, तर त्यस क्षेत्रका किसानले उत्पादन गरेको तरकारी काठमाडौं ल्याउन कुनै पहल भएको छैन ।
‘भारतमा तरकारी ल्याउन अवरोध छैन । त्यसैले पहिलेदेखि उताबाट ल्याउने व्यवसायीले ल्याइरहेका छन् । तर, स्वदेशका तरकारी संकलन केन्द्र बन्द भएका छन्, त्यसैले किसानको तरकारी उठेको छैन,’ एक व्यवसायीले भने, ‘नेपालका किसानलाई छुट्टाछुट्टै सम्पर्क गरेर तरकारी संकलन गर्नुभन्दा भारतमा बनिबनाउ च्यानलमा फोन गरेर तरकारी मगाउन सजिलो छ ।’
व्यापारीले स्वाभाविक रूपमा नाफा हेर्ने भएकाले नेपाली किसानको तरकारी संकलनबारे सरकारले नीति बनाउनुपर्ने उनको भनाइ छ । ‘किसानलाई कसरी राहत दिने भनेर व्यापारीले सोच्ने होइन, सरकारले सोच्ने हो । सरकारले बजार व्यवस्थित गरेमा किसानको तरकारी आफ्नै च्यानलबाट बिक्री हुन्छ,’ अर्का व्यापारी भन्छन् । आयातीत तरकारी ल्याउन पहिलेदेखि नै जनशक्ति, ट्रक, बजारलगायतका पूर्वाधारमा ठूलो लगानी भएकाले नियमित रूपमा आयात गर्नुको विकल्प नभएको व्यवसायीहरूको भनाइ छ । नयाँपत्रिका दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस