काठमाडौँ-‘आहा कति राम्रो सडक, देशभरि यस्तै सडक बनाए कति काइदा होला’ भक्तपुरको जडीबुटी हुँदै सूर्यविनायक जाने सडकमा यात्रा गर्ने यात्रुका मुखबाट बेलाबेलामा फुत्त निस्किने शब्द हुन् यी । यसलाई व्यवस्थित सडक भनेर चिनिन्छ पनि । पछिल्लो समयमा भने नारायणगढ–मुग्लिन सडकको यसैगरी प्रशंसा हुने गरेको छ ।
गाडीको भीडभाड कम हुने भएकाले भक्तपुरको चिल्लो सडकमा सवारी चलाउन पाउँदा औधी खुशी हुने चालक सवारी लेन व्यवस्थापन नहुँदा खिन्न हुन्थे । लोकल सवारी, ढिलो हिँड्ने सवारी, साना र ठूला जुनसुकै सवारीले एउटै लेन प्रयोग गर्दा यातायात आवागमन अस्तव्यस्त मात्रै होइन, दुर्घटनाको जोखिम पनि थियो ।
फागुन १४ गतेदेखि भने उक्त जोखिम विस्तारै कम हुन थालेको छ । लेन व्यवस्थापनको नयाँ नियम लागू भएपछि चालकहरुले पहिलेजस्तो सास्ती बेहोर्नुनपरेको प्रतिक्रिया दिएका छन् । यात्रुवाहक तथा मालवाहक र कम गतिमा गुड्ने सवारी साधन यहाँको सडकमा बायाँ सर्भिस लेनबाट गुड्छ । निजी तथा साना सवारी साधन दायाँ (द्रुत) लेनबाट मात्र चल्छ । जसले यातायात आवागमनमा सहज भएको अनुभव छ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमखु प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालको ।
चालकमा चेतना नहुँदा र लापरवाही गर्दा कार्यान्वयनमा केही समस्या यथावत छ । प्रभावकारी कार्यान्वयनका लागि ट्राफिक प्रहरीले भूमिका बढाउनुपर्ने देख्छिन , दैनिक स्कुटर चलाउने भक्तपुरकी सुजाता भट्टराई ।
महाशाखाका प्रमुख ढकालका अनुसार उक्त सडकमा ट्राफिक प्रहरी बढाएर लेन अनुशासन कायम गर्न नियमित सचेतना चलाइएको छ । पहिलो चरणमा लेन अनुशासन पालना गर्न अनुरोध गरिएको र त्यसपछि उल्लङ्घन गरे कारवाही गर्ने महाशाखाको तयारी छ । लेन अनुशासन कार्यान्वयनको अवस्था ९० प्रतिशत प्रगति भएको उनको दाबी छ ।
कोटेश्वर–कलङ्कीमा पनि लेन व्यवस्थापन
प्रहरीले जडीबुटी–सूर्यविनायकमा झैँ आइतबारदेखि लागू हुनेगरी कोटेश्वर–कलङ्की सडकमा समेत लेन व्यवस्थापन गर्दैछ । त्यसको तयारीमा आज यहाँ बोर्ड राख्ने काम र प्रचारात्मक कार्यक्रम गरिएको छ । काठमाडौँ उपत्यकाको सवारी आवागमन सहज पार्दै दुर्घटना न्यूनीकरण गर्न यसरी चक्रपथको सडकबाट लेन प्रयोगलाई व्यवस्थित गर्न थालिएको छ । नयाँ नियम लागू भएपछि यात्रुवाहक तथा मालवाहक र कम गतिमा गुड्ने सवारी साधन बायाँ सर्भिस लेनबाट र निजी तथा साना सवारी साधन दाहिने (द्रुत) लेनबाट मात्र चलाउनु पर्नेछ ।
भक्तपुरको जडीबुटीबाट सूर्यविनायकसम्मको सात किलोमिटर सडक लेन व्यवस्थापन गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबारदेखि १० किलोमिटर रहेको कोटेश्वर–कलङ्की आठ लेन सडकखण्डमा पनि लेन व्यवस्थापन गर्न लागेको हो । उक्त अभियानलाई नियमित गराउँदै उपत्यकाको मुख्य सडक क्षेत्रमा लेन व्यवस्थापन गर्ने तयारी छ । अबको अर्काे चरणमा कोटेश्वर–गौशालामा लागू गरिने र त्यसपछि कलङ्की–नागढुङ्गामा व्यवस्थापन गरिने एसएसपी ढकालले बताए |
महाशाखाले पछिल्लो समय उपत्यकाको सडक दुर्घटना न्यूनीकरणसँगै सडक लेनलाई अनुशासित एवं व्यवस्थितरूपमा पालना गराउन अभियान थालेको छ । लेन व्यवस्थापन हुँदा सवारी आवागमन सहजता हुने र ट्राफिक नियम पालनामा प्रगति हुने विश्वास छ ।
‘यहाँको सडक व्यवस्थित र सुविधायुक्त छ, यात्रुवाहक, मालवाहक र बिस्तारै गुड्ने गाडी एउटा लेन र साना, हलुका तथा द्रुतगतिमा गुड्ने सवारी साधन अर्काे लेनबाट चलाइनु अन्तरराष्ट्रिय अभ्यास हो, त्यसैलाई कार्यान्वयन गर्न खोज्दैछौँ, लेन व्यवस्थापन हुँदा दुर्घटना न्यूनीकरण हुन्छ’, महाशाखा प्रमुख ढकालले भने । अभियान शुरु गर्नुअघि यातायात व्यवसायीसँग छलफल गरिएको र चालकलाई जानकारी गराइएको थियो ।
ट्राफिक प्रहरीले उपत्यकाको सडकखण्डलाई व्यवस्थित गर्न, ट्राफिक नियमको पालना गराउन, सडक अनुशासन र सडक सभ्यता अभिवृद्धि गर्न र ट्राफिक नियमको पालन गर्ने प्रवृत्तिको विकास गर्न प्रयास गरिरहेको छ । उपत्यकाको विभिन्न क्षेत्रमा ट्राफिक लाइटको व्यवस्थापन भएकाले सवारी र बटुवा आवागमनमा सहज देखिँदै आएको छ ।
सरकारले पछिल्लो समयमा उपत्यकाको सडक मर्मतदेखि खाल्डाखुल्डी पुर्ने काम गरेकाले पनि छिटफुटबाहेक सडकको अबस्थासमेत सुधारिएको छ । लेन व्यवस्थापन नहुँदा जथाभावी उछिल्ने, ‘यू–टर्न’ गर्ने, ढिलो हिँड्ने सवारीले बाटो ओगट्ने समस्या छ । यसले सवारी दुर्घटना बढाउँछ । त्यसैले लेन व्यवस्थापन गरी छिटो जानेलाई प्रतिघण्टा ५० किलोमिटर र ढिलो हिँड्ने गाडीलाई प्रतिघण्टा २० किलोमिटर गति तोकेको महाशाखाले जनाएको छ । सचेतना दिन ठाउँठाउँमा ट्राफिक प्रहरी प्लेकार्ड बोकेर उभिने गरेका छन् ।
यस्तो छ सुधारको प्रयास
केही महिनाअघि उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त थियो भने खाल्डाखुल्डीका कारण ठूलो समस्या थियो । खाल्डाखुल्डी पुर्न सरकारले निर्देशन नै दिनुपरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव छवि रिजालको संयोजकत्वमा सरकारले ट्राफिकमैत्री भौतिक पूर्वाधारसम्बन्धी अल्पकालीन योजना निर्णाणका लागि समिति नै गठन गरेको थियो । जसमा ट्राफिकसम्बन्धी सरोकार राख्ने १० निकायको सहभागिता छ । समितिको लगातारको बैठकले विभिन्न विषय समेटेर ३७ बुँदे सुधार योजना सार्वजनिक गरेको थियो ।
उपत्यकाको सडक कालोपत्र गर्ने, खाल्डाखुल्डी पुर्ने, रोड मार्किंङ गर्ने, लेन कायम गर्ने, पार्किङ व्यवस्थापन गर्ने, आकाशे पुल र करिडोरका सडक व्यवस्थापन, जाम व्यवस्थापन र सडकमा परेका पम्प हटाउने उक्त योजनामा समेटिएका थिए । अहिले त्यही योजना कार्यान्वयनको चरणमा लगिएको समितिका सदस्यसचिवसमेत रहनुभएका एसएसपी ढकालले बताए । केही पूरा भएको, केही जारी रहेको र केही प्रक्रियामा रहेको उनले बताउनुभयो ।
काठमाडौँ उपत्यकामा दुई हजार १४ किमी बाटो छ । यहाँ दैनिक १२ लाख गाडी गुड्छन् । सडक कम तर गाडी धेरै हुँदा उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या हुँदै आएको छ । यहाँ ८७ प्रतिशत निजी र आठ प्रतिशत सार्वजनिक सवारी गुड्छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस