भक्तपुर – सरकारले कोरोना भाइरसबाट प्रभावित चीनको वुहानबाट ल्याइने नेपालीलाई त्रिभुवन विमानस्थलदेखि खरिपाटीसम्म सुरक्षित रुपमा कसरी पु-याउने भन्ने बारेमा आज पूर्वाभ्यास गरेको छ ।
चीनबाट ल्याउने नेपाली विद्यार्थीलाई खरिपाटी स्थित विद्युत् प्राधिकरणको चारवटा भवनमा बनाइएको क्वारेन्टाइनसम्म कसरी पु-याउने भन्नेबारे आज प्राविधिकसहितको टोलीले विमानस्थलदेखि खरिपाटीस्थित क्वारेन्टाइनसम्म पूर्वाभ्यास गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नाराणप्रसाद विडारीलगायत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, एम्बुलेन्स, प्राविधिक टोलीसहित टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि भक्तपुरको खरिपाटीसम्म लैजाने रिहर्सल गरिएको हो । चीनबाट ल्याउने नेपालीलाई राख्ने क्वारेन्टाइन निर्माणको सम्पूर्ण तयारी आज बेलुकीसम्ममा सक्ने सचिव विडारीले जानकारी दिएका छन् ।
उनले भने, “आज बेलुकीसम्म क्वारेनटाइन निर्माण सम्पन्न गरिन्छ, चीनबाट खरिपाटीमा ल्याउने १८५ विद्यार्थीमध्ये ४४ महिलालाई एउटा ब्लकमा तथा पुरुषलाई दुईवटा भवनको ब्लकमा र श्रीमान्, श्रीमती भएकालाई छुट्टै राखिने गरी व्यवस्थापन गरिएको छ, चिकित्सकको टोली अर्को ब्लकमा राखिने छ, विमान चालक, सहचालक र परिचारिकालाई चाँगुनारायण नगरपालिका–६ नगरकोटको खानेपानी तालीम केन्द्रको भवनमा बनाइएको ब्लकमा राख्ने व्यवस्था गरेका छौँ ।”
सचिव विडारीले अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै क्वारेन्टाइन बनाइएको बताउँदै एउटा कोठामा एक मिटरको दूरीमा रहने गरी तीनवटा श्यया राखिएको, कूल चारवटा ब्लकमा १९९ वटा श्यया तयार पारेको, एक व्यक्तिका लागि दैनिक जीवनमा चाहिने सम्पूर्ण सामग्रीको व्यवस्था गरिएको बताएका छन् ।
यहाँ नेपाली सेनाको एक चिकित्सक र एक नर्सको टोलीले सुरक्षा कवचका रुपमा रहेको अन्तर्राष्ट्रिय मापदण्डकै गाउन लगाएर पूर्ण सुरक्षित रुपमा बस्ने, यहाँभित्र खानेपानी, शौचालय, खानेकुरा, नुहाउने सबै व्यवस्थापन गरी शौचालयको सेफ्टी ट्याङ्कीसमेत नयाँ बनाएर व्यवस्थापन गरिएको उनले जानकारी दिए ।
शनिबार दिउँसो ३ बजे नेपाल एयरलाइन्सको वाइडबडी जहाज नेपाली लिन चीनतर्फ जानेछ भने उक्त जहाज आइतबार राति नेपाल अवतरण हुनेछ । विमानस्थलमा ज्वरो आएको पाइएमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिने भएको छ भने सरकारले कोरोना भाइरस सङ्क्रमितको उपचारका लागि सरकारी र निजी अस्पतालमा गरी १४७ वटा आइसोलेशन वार्ड तयार पारेको छ ।
क्वारेन्टाइनमा १५ दिनसम्म राखिने र त्यस क्रममा रुघा, ज्वरो आएमा त्यहाँ राखिएको एम्बुलेन्समा राखेर बिरामीलाई टेकु अस्पतालको आइसोलेशन वार्डमा राखेर उपचार गरिने व्यवस्था गरिएको छ । कोरोना भाइरसको परीक्षण गर्ने एकमात्र मेशिन टेकु अस्पतालसँग मात्र भएको र अन्तिम परीक्षणका लागि हङ्कङमै पठाएर हो वा होइन भन्ने प्रतिवेदन आउनेछ ।
भक्तपुरको खरिपाटीमा भएको रिहर्सलको तस्बिर र भिडियो लिन गएका सञ्चारकर्मीलाई सुरक्षाकर्मीले रोक लगाउनुका साथै अभद्र व्यवहार गरेका छन् । सञ्चारकर्मीलाई प्राधिकरणको मूलद्वारबाटै रोक लगाउनुका साथै सञ्चारकर्मीलाई सुरक्षाकर्मीले हातपातको प्रयास गरेपछि प्रहरी र सञ्चारकर्मीबीच निकैबेर घम्साघम्सी चलेको थियो । सञ्चारकर्मीले विरोध गरेपछि क्वारेन्टाइन स्थल अगाडिसम्म प्रवेश गरे पनि क्वारेन्टाइनको तस्बिर लिन भने रोक लगाइएको थियो ।
सञ्चारकर्मीले सरकारको तयारीबारे जानकारी दिन पनि तस्बिर र भिडियो आवश्यक छ भनेर माग गर्दा पनि रोक लगाइएको थियो । सञ्चारकर्मीलाई रोक लगाएको र प्रवेशमा निषेध गर्दै अभद्र व्यवहार गर्नु उचित नरहेको नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले बताए ।
उनले भने, “सञ्चारकर्मीले लोकतन्त्रको प्रत्याभूति कहिले गर्ने ? जनताले कस्तो ठाउँमा चीनबाट ल्याइएकालाई राखिँदै छ भन्ने जानकारी दिनुको सट्टा उल्टै लुकाउने काम भएको छ, यसले सरकारको तयारीबारे शङ्का जन्माएको छ ।” सुरक्षाकर्मीले सञ्चारकर्मीमाथि गरेको अभद्र व्यवहारको सञ्चारकर्मीले विरोध गरेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस