पाँचथर – पाँचथरमा अन्तर्जातीय प्रेमविवाह गरेकी १९ वर्षीया युवतीको जबर्जस्ती गर्भपतन गरिएको छ । कुम्मायक गाउँपालिका–५ स्याबरुम्बाका रमेश खड्काकी श्रीमती सीता नेपालीको गर्भपतन गरिएको हो ।
नयाँपत्रिका दैनिकले लेखेको खबर अनुसार, यो जघन्य अपराधमा श्रीमान् रमेशसहित परिवारका सदस्य मात्रै होइन, जनप्रतिनिधि नै मुछिएका छन् । गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङको दबाबमा जबर्जस्ती गर्भपतन गराएको भन्दै पीडितले प्रहरीमा जाहेरी दिएकी छिन् । पीडितले २२ माघमा जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको भोलिपल्टैदेखि अध्यक्ष चेम्जोङ भने फरार छन् । त्यतिवेला काठमाडौंमा रहेकी उपाध्यक्ष सीता आचार्यलाई कार्यभार सुम्पिएको निर्णय गराएर चेम्जोङ गायब भएका हुन् ।
‘म काठमाडौं गएकी थिएँ । फर्केर आउँदा त २३ माघदेखिकै जिम्मेवारी मलाई दिइएको रहेछ,’ उपाध्यक्ष आचार्यले भनिन्, ‘अध्यक्षले घरायसी कामका लागि बाहिर रहेको व्यहोरा उल्लेख गर्नुभएको छ ।’ पीडित युवतीका श्रीमान् रमेश र अन्य दुईजना पनि फरार छन् । आरोपी तीनजनालाई भने नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
पीडित युवतीको जाहेरीका आधारमा प्रहरीले हत्या गरिएको भ्रूण पनि बरामद गरिसकेको छ । २४ पुसको राति जिल्लाको समर्पित हस्पिटलमा भ्रूणहत्या गरिएको युवतीले जाहेरीमै उल्लेख गरेकी थिइन् । लगत्तै प्रहरीले सर्च गर्दा अस्पताल परिसरमै प्लास्टिकमा पोको पारिएको अवस्थामा भ्रूण फेला पारेको थियो ।
२१ हप्ता भइसकेको भ्रूण जबर्जस्ती हत्या गरिएको युवतीको भनाइ छ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनमा गर्भवती महिलाको मञ्जुरीमा १२ हप्तासम्मको मात्रै गर्भपतन गर्न सक्ने व्यवस्था छ । त्यस्तै, गर्भवतीको मानसिक र शारीरिक अवस्थामा खतरा हुन सक्ने तथा विकलांग बच्चा जन्मिने अवस्था भए इजाजतप्राप्त चिकित्सकको रायपछि गर्भवतीकै मञ्जुरीमा २८ हप्तासम्मको गर्भ फाल्न सक्ने व्यवस्था पनि गरेको छ ।
प्रहरीले भ्रूणको सम्पूर्ण अवस्था परीक्षण गर्न बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ । परीक्षणपछि मात्रै भ्रूण कति हप्ताको थियो भन्ने यकिन हुने पाँचथर प्रहरी प्रमुख सिद्धराज न्यौपानेले बताए ।
आमा ९एकल महिला०सँग बस्ने सीताको सुरुमा रमेशसँग प्रेम थियो । प्रेमपछि उनीहरूले विवाह गरेका थिए । तर, रमेशको हकमा यो दोस्रो विवाह थियो । घरमा अर्की श्रीमती थिइन् । दोस्रो, त्यसमा पनि अन्तर्जातीय विवाह खड्का परिवारलाई चित्त बुझेको थिएन । युवती गर्भवती हुनु रमेशकोे परिवारका लागि झन् टाउको दुखाइ बन्यो । त्यसपछि जघन्य अपराधको बाटो रोजे ।
पीडित अहिले अल्पकालीन आश्रयसहितको घरेलु हिंसा सेवा केन्द्रमा छिन् । धरानमा लगेर उनको स्वास्थ्य परीक्षण गरिसकिएको छ । उजुरीपछि नै स्वास्थ्य परीक्षण गरिएको हो । घटनामा संलग्नहरू कोही नछुटून् भनेर आफूहरूले सहयोग गरिरहेको सेवा केन्द्र सदस्य सकुन्तला ओलीले बताइन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस