काठमाडौं — उपराष्ट्रपति नन्दबहादुर पुन शुक्रबार करिब १२ बजे भरतपुर विमानस्थलमा उत्रिए । त्यहाँ उनलाई खादा र फूलमालासहित स्वागत गर्न अग्रपंक्तिमा थिए, आफूलाई स्वामी बालयोगेश्वर महाराज बताउने गेरुवस्त्रधारी– विजय भण्डारी ।
उपराष्ट्रपति शनिबारदेखि नारायणी नदी किनारमा हुने ‘१०८ कुण्डीय कोटीहोम शैक्षिक, धार्मिक तथा सांस्कृतिक तुलादान माघीमेला महामहोत्सव एवं संगीतमय लीलामय अष्टोत्तरशत श्रीमद्भागवत धनधान्याचल पितृमोक्ष विराट मासिक ज्ञान महायज्ञ’को उद्घाटन गर्न चितवन पुगेका हुन् ।
भरतपुर विमानस्थलमा शुक्रबार उत्रेका उपराष्ट्रपति नन्दबहादुर पुन र उनको स्वागतार्थ आएका बालयोगेश्वर महाराजा भनिने विजय भण्डारी । भण्डारीको नेतृत्वमा नारायणी नदी किनारमा शनिबारदेखि हुने कोटीहोम यज्ञमा प्रमुख अतिथि हुन उपराष्ट्रपति चितवन आइपुगेका हुन् ।
आफूलाई ‘बालयोगेश्वर महाराज’ बताउने भण्डारीले धार्मिक आवरणमा आफ्नो ठगी र जालझेलको विगत लुकाउँदै आएको कान्तिपुरले फेला पारेको छ । कान्तिपुरकै सहप्रकाशन नेपाल सप्ताहिकले विजयको ठगी धन्दाबारे ‘महाठग महाराज’ शीर्षकमा २४ भदौ २०६९ मा खोज समाचार प्रकाशन गरेको थियो । त्यसताका उनले आफूलाई सार्वजनिक वृत्तमा श्री विष्णु प्रपन्नाचार्यजी महाराजको नाममा चिनाउँदै आएका थिए ।
२०६८ भदौ दोस्रो साता नवलपरासी घर भई बनारसस्थित सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयका विद्यार्थी केशव भुसाल, गोकुल खनाल, बनारसस्थित मंगलागौरी संस्कृत महाविद्यालयमा पढ्ने गोविन्द आचार्यलगायत कैयन् उनलाई खोज्दै काठमाडौं आएका थिए । त्यतिबेला नेपालका चर्चित गुरु भन्दै बनारस पुगेर भण्डारीले आफूले अमेरिकामा हुने वर्ल्ड गीता म्याराथन, श्रीमद्भागवत, श्रीराम चरितमानस, गीता प्रवचन लगायत कार्यक्रममा नेपाल र भारतबाट १०८ जनालाई प्रवचन गर्न लैजान लागेको भन्दै करिब एक सय जना विद्यार्थीबाट जनही एक लाख रुपैयाँ उठाएर ठगी गरेका थिए ।
उनले अमेरिका जान आयोजक संस्थाको सदस्यतासहित कुल खर्च ५ लाख ५० हजार लाग्ने र सुरुमा पेस्कीबापत एक लाख रुपैयाँ दिनुपर्ने सर्त राखेर करोड रुपैयाँभन्दा धेरै उठाएका थिए । उनले पेस्की लिएकालाई विश्वप्रसिद्ध धार्मिक र सामाजिक संस्था वर्ल्ड वेलफेयर भागवत ट्रस्ट, इन्टरनेसनल एजुकेसनल कन्फरेन्स, इन्टरनेसनल सोसाइटी फर कृष्ण कन्सिएसनेस ९इस्कन० लगायत संस्थाहरू कार्यक्रमको आयोजक रहेको बताएका थिए । जबकि त्यतिबेलै इस्कनको नेपालस्थित कार्यालयले अमेरिकामा त्यस्तो कार्यक्रम नरहेको र कथित महाराजसँग संस्थाको कुनै सम्बन्ध नरहेको भन्दै आधिकारिक प्रतिक्रिया दिएको थियो ।
अमेरिकामा हुने धार्मिक कार्यक्रममा सहभागी गराउने भन्दै सयौं व्यक्तिसँग रकम उठाएपछि विवादमा तानिएका भण्डारी पीडितले खोजी गर्न थालेपछि सम्पर्कबाहिर रहँदै आएका थिए । केही पीडितलाई धम्क्याएर, केहीलाई प्रलोभनमा पारेर र केहीलाई आधा रकम दिएर उनले ठगी धन्दाको केही हिसाब मिलाएका थिए । त्यतिबेला कान्तिपुरको सम्पर्कमा आएकामध्ये उनीबाट ठगिनेहरूमा कलेजका शिक्षक, ज्योतिष परिषद् नेपालका पदाधिकारी, होटल व्यवसायीदेखि योगगुरुसम्म थिए । सोही प्रकरणमा ठगिएका तीन पीडितले अमेरिका लैजाने भन्दै चार लाख ठगेको भनेर वैदेशिक रोजगार विभागमा उजुरी गरेपछि उनीसहित उनका तीनर सहयोगी अनुसन्धानमा तानिएका थिए । बुटवल उपमहानगरपालिका बस्दै आएका रमेश खनाल, काठमाडौंका प्रकाश ढुंगाना र कीर्तिपुरका प्रमोदकृष्ण अधिकारीले उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणमा अभियोगपत्र दायर गरेका थिए ।
धार्मिक आवरणमा ठगी धन्दा गर्दै आएका भण्डारीबारे नेपाल साप्ताहिकमा प्रकाशित भएलगत्तै २०६९ कात्तिकमा जिल्ला प्रहरी कार्यालय गुल्मीले दसैं मनाएर घरबाट फर्कने क्रममा उनलाई पक्राउ गरेको थियो ।
उनीविरुद्ध महानगरीय प्रहरी अपराध महाशाखा र वैदेशिक रोजगार विभागमा छुट्टाछुट्टै उजुरी परेको थियो । पीडितलाई रकम नभएको चेक दिएर झुक्याएपछि बुटवल घर भएका गोकुल खनालले उनीविरुद्ध चेक बाउन्सको मुद्दा पनि दर्ता गराएका थिए ।
२०७० माघ दोस्रो साता न्यायाधिकरणले तीन लाख धरौटीमा उनलाई छोड्न आदेश दिएको थियो । लगत्तै उनले सार्वजनिक वृत्तमा आफ्नो नाम बदलेर ‘स्वामी बालयोगेश्वर महाराज’ प्रयोग गर्न थालेका थिए । न्यायाधिकरण कार्यालयले भण्डारीविरुद्धको आदेश कार्यान्वयन गर्नका निम्ति जिल्ला प्रहरी कार्यालय गुल्मीलाई पत्र पनि लेखेको थियो । जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी राजेन्द्र सिंह खड्काले न्यायाधिकरणको कार्यालयबाट पत्र आएका बेला महाराज भनिने भण्डारी रिडीमा रुरु महायज्ञ लगाइरहेका थिए । एसपी खड्काले भने, ‘त्यतिबेला महायज्ञ बिथोलिएला भनेर हामीले तत्काल पक्राउ गरेनौं ।’ उनका अनुसार पछि बुझ्दा न्यायाधिकरणको आदेशविरुद्ध भण्डारी सर्वोच्च अदालत गइसकेको र सर्वोच्चको तारेखबाट उनी छुटेका रहेछन् भन्ने बुझियो ।
कान्तिपुर दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस