खोटाङ-खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईविरुद्ध बुधबार बिहान चक्काजाममा उत्रिएका दुई वडाध्यक्षसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
गत असार ३१ गते आयोजित नगरसभाप्रति असन्तुष्टि जनाउँदै चरणबद्ध आन्दोलनमा उत्रिएका उनीहरूले आज बिहान चक्काजाम गरेका थिए।
चक्काजाममा सहभागी वडा नं ५ का वडाध्यक्ष रमेश तिवारी, वडा नं ७ का वडाध्यक्ष चइन्द्र राई र सोही वडाका वडासदस्य नीरजमानसिंह बस्नेतसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरूसँगै चक्काजाममा बसेका नेपाल कम्युनिस्ट पार्टी हलेसी नगर समितिका कार्यालय सदस्य प्रमोद श्रेष्ठ, नगर समितिकै सचिवालय सदस्य सर्वधन बस्नेत र महादेवस्थान वडासमिति सचिव धनकुमार भुजेललाई प्रहरीले पक्राउ गरेको छ।
चक्काजाम गराउन बसेका वडाध्यक्षसहित छ नेकपाका कार्यकर्ता पक्राउ परेपछि अहिले दिक्तेल-हलेसी सडकखण्ड तनावग्रस्त बनेको छ।
नगरप्रमुख राईले नेकपाबाट निर्वाचित चार वडाध्यक्षको मागलाई बेवास्ता गर्दै एकलौटी ढङ्गले नगरसभा गरेको भन्दै विरोधमा उत्रिएका उनीहरुले १ घण्टाका लागि बिहान ६ बजेदेखि चक्काजाम गरेका थिए।
चार वडाध्यक्षसहित २६ जनप्रतिनिधि, नेकपानिकट कार्यकर्ता र स्थानीयवासीले हिजो नाराजुलुससहित एक घण्टा दुर्छिमस्थित नगरपालिकाको कार्यालयमा धर्ना दिएका थिए।
सडकमा अवरोध पु¥याएकाले चक्काजामको नेतृत्व गर्ने दुई वडाध्यक्षसहित ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिए।
“पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय हलेसीमा राखिएको छ”, उनले भने, “उनीहरुका बारेमा के गर्ने भन्ने बारेमा सुरक्षा समितिको बैठक बसेर निर्णय गर्ने तयारी गरिएको छ।”
नेकपाबाट निर्वाचित चार वडाध्यक्षले आर्थिक वर्ष २०७४/७५ को महालेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न, आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रगति समीक्षा गर्न, एकमुस्टमा बजेट विनियोजन गर्ने परिपाटी अन्त्य गर्नलगायतका माग राख्दै आएका छन्।
नगरप्रमुखदेखि रुष्ट बनेका उनीहरुले सम्बन्धित वडाको जनप्रतिनिधिलाई थाहै नदिई कतिपय योजनाको उपभोक्ता समिति गठन गरिएको, हालसम्मको आन्तरिक राजश्व चुस्तदुरुस्त नदेखाइएको, योजनालाई कार्यकर्ता लक्षित गरिएको लगायतका आरोप लगाएका छन्।
जनप्रतिनिधिसहित छ जना नेता तथा कार्यकर्ता पक्राउ परेपछि अहिले हलेसी नगरसमितिको बैठक बसिरहेको छ । शान्तिपूर्ण आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको प्रति आपत्ति जनाउँदै विज्ञप्ति जारी गर्ने तयारी भइरहेको नगरसमिति अध्यक्ष सुरेन्द्र राईले जानकारी दिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस