म्याग्दी – मुस्ताङको घासाबाट म्याग्दीको दानातर्फ आउने क्रममा घोप्टे भिरमा खसेको पहिरोबाट खसेर आइतबार रघुगङ्गा गाउँपालिका–१ बेगखोलाकी अममाया गर्बुजा घाइते भए । हिँडिरहेको बेला भिरबाट खसेको पहिरोले चोट लागेर गर्बुजाको देब्रे हात भाँचिएर घाइते भएका हुन् । पहिरोसँगै करिब १० मिटर तल कालीगण्डकी नदी किनारमा खसेकी गर्बुजालाई नेपाली सेनाको बज्रदल गणको घाँसा सुरक्षा बेस क्याम्प, प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए ।
पहिरोबाट उद्धारपछि प्राथमिक उपचार गरी स्ट्रेचरमा राखेर सेनाको टोलीले म्याग्दीको दाना ल्याएपछि गाडीमा राखेर बेनी अस्पताल ल्याइएको थियो । पहिरो पार गर्ने क्रममा भिरबाट एक्कासि खसेको ढुङ्गा, माटोसहितको पहिरोले चोट लागेको घाइते गर्बुजाले बताइन् ।
अन्नपूर्ण गाउँपालिका–२ नागढुङ्गामा खसेको पहिरोले पुरिएर साउन ६ गते सोही पालिकाको ३ नम्बर वडामा पर्ने काभ्रेका ३२ वर्षीय झलक पुनको ज्यान गयो । बेनीबाट काभ्रेस्थित घरतर्फ जाने क्रममा हिँडिरहेको अवस्थामा भिरबाट खसेको पहिरोले पुरिएका पुनको घटनास्थलमै मृत्यु भएको थियो ।
अन्नपूर्ण गाउँपालिका–३ गुइठेभिरबाट कालीगण्डकीमा खसेर गत असार ३० गते मङ्गला गाउँपालिका–५ का ज्ञानबहादुर पुनको मृत्यु भयो । गिट्टी बोकेर गुइठेदेखि घारतर्फ जाँदै गरेको बा २ ख ३४२५ नम्बरको टिप्परसहित कालीगण्डकीमा खसेका चालक पुनको शव असार ३१ गते रातोपानीमा भेटिएको थियो ।
म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकमा पहिरोका कारण पछिल्लो एक महिनायता दुई जनाको ज्यान जानुका साथै एक जना घाइते भएका छन् । साँघुरो र अक्करे भिरमा खनिएको सडकमा खसिरहने पहिरोका कारण यात्रा जोखिमपूर्ण बनेको छ ।
गत असार २६ गतेदेखि अवरुद्ध बेनी जोमसोम सडकको विभिन्न ठाउँमा खसेको पहिरो पार गर्न जोखिमपूर्ण पैदलयात्रा गर्नुपर्छ । ठाउँ ठाउँमा गाडी परिवर्तन गर्नुपर्ने कष्टकरसँगै जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको दानाका जितबहादुर पुर्जाले बताए ।
राहुघाट, खामभित्ता, रुप्से, काभ्रेभिर र घोप्टेभिरमा खसेको पहिरोले ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । गलेश्वरमा राहुघाटमा आएको बाढीले भत्काएको बेलिब्रिज, धिरच्याङ, नागढुङ्गा, जलथलेमा कटान गरेको सडक मर्मत सकिएको बेनी–जोमसोम कोरला सडक आयोजनाका प्रमुख अशोक तिवारीले बताएका छन् ।
रुप्सेखोलामा बाढीले निर्माणाधीन र चालु अवस्थाको मोटर चल्ने पुल बगाएपछि आवतजावतका लागि काठको अस्थायी पुल बनाइएको छ । सडक मर्मतसँगै पैदलमार्ग र साँघु हालिएको आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए ।
बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङमा खाद्यान्न, इन्धन, निर्माण सामग्री ढुवानी र त्यहाँ उत्पादन भएको कृषिउपज निकासी हुन सकेको छैन । बिरामीलाई महँगो रकम खर्चेर हेलिकप्टरबाट अस्पताल लैजानुपर्ने बाध्यता छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस