भादगाउँ – धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको भक्तपुरको प्रसिद्ध बिस्काः (बिस्केट) जात्राका लागि भैल खः (भैरवनाथको रथ) बनाउने कार्य शुरु भएको छ । यही चैत २८ गते साँझबाट शुरु गरिने यस वर्षको बिस्काः जात्राका लागि टौमढीस्थित प्रसिद्ध ङातापोल्हँ (पाँचतल्ले) मन्दिर प्राङ्गणमा भैल खः बनाउन शुरु गरिएको हो । भैल खः करिब ३० फिट अग्लो तीन तले प्यागोडाशैलीको हुने गर्छ ।
गत वर्ष कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण जात्रालाई औपचारिक पूजामा सीमित गरिएको थियो । भैल खः निर्माण हुँदै गर्दा कोरोना महामारी र यसको नियन्त्रणका लागि बन्दाबन्दी (लकडाउन) गरिएपछि भैल खः निर्माण बीचमै रोकिएको थियो । यो वर्ष जात्रालाई थप व्यवस्थित, भव्य र सभ्य बनाउन समयमै भैल खः निर्माण थालिएको गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुख आन्नदप्रसाद कर्माचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गएको वर्ष कोरोनाको महामारीले जात्रालाई औपचारिक पूजाआजामा सिमित गरेका थियाँै, यो वर्ष जात्रालाई विधिवत्रूपमा सञ्चालन गर्न समयमै सबै कार्य सम्पन्न गर्न अहिले नै रथ निर्माण कार्य अगाडि बढाइएको हो ।”
अहिले भक्तपुरको टौमढीमा दैनिक आधा दर्जनभन्दा बढी सिकर्मी भैल खः निर्माण गर्ने कार्य सम्पादनमा व्यस्त छन् । रथको अगाडि बेताल देवता विराजमान गराउने बेतसिं बनाउने कार्य सम्पन्न भइसकेको छ । भैल खः बनाउने नाइके पे्रमलाल शिल्पकारले यसवर्ष भैल खःको पाङ्ग्रा, गल, पोल्ह (छाना) तथा बाहिर देखिने अधिकांश सामान नयाँ हुने बताउनुभयो । भैल खःको बाहिरी ढाँचा चैत १२ गतेसम्म तयार गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । भैल खः बनाउँदा फलामको किला प्रयोग नहुने र परम्परागत शैलीमा काठको चुकुल मात्र प्रयोग गरिन्छ ।
भैल खः निर्माण र बिस्काः जात्राका लागि आवश्यक सम्पूर्ण सामग्री यसै साता आइपुग्ने गुठी संस्थान प्रमुख कर्माचार्यले जानकारी दिनुभयो । “जात्राका लागि सबै आवश्यक काठका साथै लिङ्गो ठड्याउने काठसमेत यही सातामै ल्याउने तयारी पूरा भइसकेको छ”, उहाँले भन्नुभयो । यो वर्ष गत वर्षको काठका साथसाथै नयाँ काठको पनि प्रयोग हुने उहाँले बताउनुभयो । “यो वर्ष करिब ४० प्रतिशत नयाँ काठ प्रयोग हुनेछ”, उहाँले भन्नुभयो ।
भक्तपुरमा बिस्काः जात्रा नौ दिन आठ रातसम्म धुमधामका साथ मनाइन्छ । विक्रम संवत्को नयाँ वर्ष शुरु हुनु चार दिनअघि साँझ भैल खः तानेर बिस्काः जात्रा शुरु गरिन्छ । यो वर्ष चैत २८ गते भक्तपुरमा बिस्काः जात्रा शुरु हुनेछ । चैत महिना ३० को छ भने २७ गते र ३१ को छ भने २८ गते रथ तान्ने प्रचलन छ । बिस्काः जात्रा नयाँ वर्षको वैशाख ५ गते सम्पन्न हुन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस