काठमाडौँ : कृषि संस्कृतिको देश नेपालमा श्रावन महिनाको पहिलो दिन आज देखि अर्थात् साउने सक्रान्ति धान रोप्ने कामका साथै चाड पर्व शुरु हुने दिनका रुपमा मनाइएको छ I रोपाईं र बर्षाको हिलोले छालाको रोग लाग्ने हुँदा आजका दिन विभिन्न बनस्पति, झारपात र जरिबुटी सहित आगोलाई पूजा गरेर अगुल्टो चारै दिशा तर्फ फ्याकेमा छालाको रोग निको हुन्छ भन्ने बिश्वासका साथ् साँझमा अगुल्टो फाल्ने चलन छ I त्यसैले आजको दिनलाई लुतो फाल्ने औंशी पनि भनिन्छ I श्रावण महिनामा सूर्य कर्कट राशीमा गएसंगै गर्मी पनि अत्यधिक बढ्ने र निरन्तर झरी पर्ने भएकाले मान्छेहरु पानीमा रुझ्ने बढी संभावना हुन्छ । जसले गर्दा गर्मी र वर्षाको मिश्रणको असरले श्रावन महिनामा छालासंग सम्बन्धित रोगहरु आउनसक्ने संभावना अत्याधिक भएको कारण यो महिनाको पहिलो दिनमानै लुतो फाल्ने दिन पनि मानेको भन्ने पनि चलन छ ।
कागति, निबुवा, अम्बा, अनार, नासपाति आदि फलफुलहरू चढाएर कण्डारक नामक राक्षसको पुजा गर्नाले दाद, लुतो खटिराजस्ता चर्मरोगको प्रकोपबाट बच्न सकिन्छ भन्ने विश्वास गरेर् लुतो फाल्ने चलन् शुरु भएको मानिन्छ ।
लुतो फाल्ने आ-आफ्नै खालका चलन रहेको पाइन्छ । यस दिन नदि किनारमा गई शरीरमा लेसिलो पहेंलो माटो दलेर नुहाउँदा फोहोरजन्य कारणबाट आउने लुतो फालिन्छ भन्ने विश्वाश छ भने कसैले भान्टालाई दूलो पारेर चौबाटोमा फालिदिएर नुहाएमा समेत लुतोबाट छुटकारा पाइने मानिसहरुको विश्वास रहिआएको छ ।
तेस्तै, सांझमा कुकुर डाइनो, काग भलायो, कुरिलो, पानिसरो, पुरेनि, गलेनि आदि औषधिजन्य वनस्पतिहरू जलाएर घर-घरका आंगनबाट चारै दिशामा फ्यांकिन्छ र यसैलाई नै लुतो फ्यांकेको भन्ने पनि चलन छ । लुतो फ्यांक्दा नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढिकि कुट्ने तथा केहिवेरसम्म घरको ढोका बन्द गर्ने आदि बिभिन्न प्रचलन समेत रहिआएको छ। यस्ता प्रचलन ठाउँ अनुसार फरक फरक हुने गरेको पाईन्छ ।
शिव प्रति महिलाको आकर्षण
श्रावन महिना भगवान शिवको महिना भनेर पनि चिनिन्छ । विशेषत्ः श्रावणको प्रत्येक सोमबार महिलाहरू हरियो चुरा, लुगा, पोते र हात अनि गोडामा मेहन्दी लगाएर शिव मन्दिरहरुमा जल, भाङ्ग, धतूरो तथा बेली पुष्प चढाई सफलता, सु-स्वास्थ्य तथा योग्य वर पाउँ भनी व्रत बस्ने चलन पनि रहि आएको छ । आफ्नो श्रीमान् को लामो आयु र राम्रो वर पाउँ भनि शिवको आराधनामा कुनै कमि नराखिकन उनीहरुले यो हर्ष उल्लास का साथ मनाउने गर्दछन ।
श्रावन संक्रान्ति माघे संक्रान्ति पछिको दोस्रो ठुलो संक्रान्ति हो । यस दिन बोलाएको पाहूँना लाइ दशैं मा आउनै पर्ने कर लाग्ने चलन समेत रहेको छ । यस महिनामा अत्यन्त वर्षा हुने भएकोले यसलाइ पावस र वर्षा ऋतु पनि भनिन्छ । हरियो रङ्ग यस महिनाको विशेष रङ्ग मान्ने चलन पनि छ ।
श्रावण महिनामा समुन्द्र मन्थन भएको विष निस्केको र संसारलाई रक्षा गर्नकालागि भगवान शिव आफैले सो विषको सेवन गरेर हिमालय पर्वतमा रहनुभएको किम्बदंतीरहेका छन् । विष सेवन गरेर निलकण्ठ भएका भगवान शिव नेपालमा अवस्थित गोसाँईकुण्डमा गएर सुत्नुभएको र विषको असर कम भएका भनाईहरु भेटिन्छन् । यसरी विषको प्रभावमा रहनुभएका शिवलाई यस महिना शिवलिङ्गमा जल तथा वेली पुष्प चढाएमा शिव प्रसन्न हुने मान्यता छ । शिवपुराणमा पनि आफ्नो जटामा साक्षात गङ्गा नदि लिएर हिँडेका भगवान शिव आँफै जल हुनुभएको उल्लेख गरिएको छ ।
यसै महिनाका विभिन्न तिथीमा हरितालीका तिज, रक्षाबन्धन/जनै पुर्णिमा नागपञ्चमी आदि थुप्रै महत्वपूर्ण चाडहरु पर्ने भएपनि तिथीले गर्दा नागपंचमी मात्रै श्रावन महिनामा परेको छ भने अन्य चाडहरु भदौमा परेका छन् ।
बोलबमको महिना
श्रावन महिना शिवलिङ्गमा जल चढाउन पहेंलो कपडा लगाएर हातमा जल अड्याउने लौरो स्वरुपको खर्पनझै बोकेर जलाशयबाट कठिन र खाली खुट्टा पदयात्रा गरेर बोल बम जाने चलन छ । बोलबममा धरानको पिण्डेश्वर, काठमाण्डौको बागद्वार र सुन्दरीजल, महोत्तरीको सोनामाईथान र सिद्धनाथ, सिरहाको कमलामाई दोभान लगायत देशैका विभिन्न ठाउँहरुमा नै पहेंलो र सुन्तला रङ्गका र भगवान शिवको फोटो भएको वस्त्र लगाएर शिवभक्तहरुको भीड लाग्ने गर्दछ । बोलबम लाई काँवरहरु पनि भन्ने गरिन्छ । यसमा महिला र पुरुष दुवै सहभागी हुन्छन । पूजा सकेपछि शिवको प्रसाद सम्झेर रक्सिहरु खाएर ठुलो आवाजमा गीत बजाएर नाचेर रमाईलो गर्दछन ।
तराइमा यो महिनाभरी काँवरहरूले आफुले चिताएको शिवस्थलीमा पुगेर जल नचढाउञ्जेल खुट्टामा चप्पल नलगाई, चोखोनितो दैनिकी ग्रहण गर्दै सामूहिक रूपमा यात्राकोलागि आफुलाई तयार पार्ने गर्दछन् । काँवरका विभिन्न टोलीहरू देशका हरेक शिव मन्दिरहरुमा देख्न सकिन्छ ।
यसदिनबाट सूर्यले दक्षिणतर्फको यात्रा तय गर्नेभएकाले यसलाई दक्षिणायन पनि भन्ने गरिन्छ । श्रावण महिना हिन्दु धर्मावलम्बिहरुको पवित्र महिना र यस महिनाको हरेक सोमबार विशेष महत्वको दिनका रुपमा रहिआएको छ ।
भगवान शिवका १०८ नाम
१)शिव -कल्याणकारी, २)महेश्वर -मायाका अधिश्वर, ३)शम्भू -आनन्द स्वरुप, ४)पिनाकी -पिनाक धनुषधारी, ५) शशिशेखर -शिरमा चन्द्रमा धारण गर्ने, ६)वामदेव -अत्यन्त सुन्दर, ७) विरुपाक्ष- विचित्र आँखा भएको, ८)कपर्दी -जटाजुट धारी, ९) नीललोहित -निलो र रातो रंगवाला, १०) शंकर -सबको कल्याण गर्ने, ११ )शूलपाणी -त्रिशूल धारी, १२ ) खटवांगी -खाटमा एक पाउ राख्ने, १३ )विष्णुवल्लभ -विष्णुका प्रिय, १४ )शिपिविष्टि -सितुहामा प्रवेश गर्ने, १५ )अम्विकानाथ -देवी भगवतीका पति, १६ )श्रीकण्ठ -सुन्दर कन्ठवाला, १७ )भक्तवत्सल -भक्तलाई अत्यन्त स्नेह गर्ने, १ ८ )भव -संसार भइ प्रकट हुने, १९ )शर्व -कष्टको पनि कष्ट नाश गर्ने, २० )त्रिलोकेश -तिन लोकका स्वामी, २१ )शितिकण्ठ -सफेद कण्ठ २२ )शिवाप्रिय -पर्वातिका प्यारा, २३ ) उग्र -अत्यन्त उग्र रुप वाला, २४ )कपाली -कपाल धारण गर्ने, २५ )कामारी -कामदेवका शत्रु, २६ )सुरसुदन -अन्धक दैत्यको मार्ने, २७ )गंगाधर -गंगालाई धारण गर्ने, २८ )ललाटाक्ष -लालाटमा आँखा भएका, २९ )महाकाल -कालका पनि काल, ३० )कृपानिधि -करुणाका खानी, ३१ )भीम -भयङ्कर रुप, ३२ ) परशुहस्त -हातमा बन्चरो लिने, ३३ )मृगपाणी -हरिण धारण गर्ने, ३४ )जटाधर – जटा भएका, ३५ )कैलाशवासी -कैलाश निवासी ३६ )कवची -कवच धारण गर्ने, ३७ )कठोर -अत्यन्त मजबूत देहवाला, ३८)त्रिपुरांतक -त्रिपुरासुरको मार्ने, ३९ )वृशांक -ध्वजामा वृषको चिन्ह भएको, ४० )वृषभारुढ़ -गोरुमा सवार हुने, ४१ )भस्मोदधुलितविग्रह -भस्म लगाउने, ४२ )सामप्रिय -साम गानमा प्रेम गर्ने, ४३ )स्वरमयी -सात स्वर निवास गर्ने, ४४ )त्रयिमूर्ति -वेदरुपी विग्रह गर्ने, ४५ )अनिश्वर -सबका स्वामी, ४६ )सर्वज्ञ -सबै जान्ने, ४७ )परमात्मा -सबै आत्मा भन्दा उच्च , ४८)सोमसुर्याग्निलोचन -चन्द्र ,सूर्य र अग्नि रुपी आंखावाला, ४९ ) हवि -आहुति रुप, ५० )यज्ञमय -यज्ञ स्वरुप, ५१ )सोम – उमासहित, ५२ )पन्चवक्त्र-पांच मुख वाला ५३ )सदाशिव -नित्य कल्याण रुप, ५४ )विश्वेश्वर -विश्वका ईश्वर, ५५ )वीरभद्र -वीर भएर पनि शान्त , ५६ )गणनाथ -गणका स्वामी, ५७ )प्रजापति -प्रजाको पालन गर्ने, ५८)हिरण्यरेता -स्वर्णतेजवाला, ५९ )दुर्धुर्ष -कसैसंग न दब्ने, ६० )गिरिश -पर्वतका स्वामी, ६१ )गिरिश्वर -कैलाशमा सुत्ने, ६२ )अनघ -पाप रहित, ६३ )भुजंगभुषण -सांपका गहन लगाउने
६४ )भर्ग -पाप मेटाउने, ६५ )गिरिधन्वा -मेरु पर्वतको धनुष बनाउने, ६६ )गिरिप्रिय -पर्वत प्रेमी, ६७ )कृतिवासा -गजचर्म लगाउने, ६८)पुराराती -पुरको नाश गर्ने, ६९ )भगवान् -सर्व समर्थ सम्पन्न, ७० )प्रमथाधिप -प्रमथ गणका अधिपति
७१ )मृत्युन्जय -मृत्यूलाई जित्ने, ७२ )सुक्ष्मतनु -सुक्ष्म शरिरवाला, ७३ )जगदव्यापी -जगत भरि व्यापक, ७४ )जगदगुरु -जगत्क गुरु, ७५ )व्यमकेश -आकाश रुपी, ७६)महासेनजनक -कार्तिकेयका पिता, ७७ )चारुविक्रम -सुन्दर पराक्रम वाला, ७८)रुद्र -भयानक, ७९ )भूतपति -पंचभूत वा भूतका स्वामी, ८० )स्थाणु -स्पन्दन रहित, ८१ )अहिर्बुध्न्य -कुण्डलिनी धारण गर्ने, ८२ )दिगम्बर -नग्न, ८३ )अष्टमूर्ति -आठ रुप, ८४ )अनेकात्मा -अनेकरूप धारण गर्ने, ८५ )सात्विक -सत्व गुण वाला , ६ )शुद्धविग्रह -शुद्ध मूर्तिवाला, ८७ )शाश्वत -नित्य, ८८)खण्डपरशु -टुटेको बन्चरो बोक्ने, ८९ )अज -अजन्मा ९० )पाशविमोचन -बन्धनबाट छुटाउने, ९१ )मृड -सुख स्वरूप, ९२ )पशुपति -पशुका स्वामी, ९३ )देव -स्वयं प्रकाश रुप ९४ )महादेव -देवका पनि देव, ९५ )अव्यय -खर्च गर्दा पनि न घट्ने, ९६ )हरि -विष्णु रुप, ९७ )पुषदन्तभित् -पुषाको दाँत उखेल्ने, ९८)अव्यग्र -कहिल्यै व्यथित नहुने, ९९ )दक्षाध्वरहर -दक्ष यज्ञ नष्ट गर्ने, १०० )हर -पाप र ताप हर्ने, १०१ )भगनेत्रभिद -भग देवताको आँखा फोड्ने, १०२ )अव्यक्त -प्रकट नहुने, १०३ )सहस्राक्ष -हजार आँखा, १०४ )सहश्रपाद -हजार पादवाला, १०५ )अपवर्गप्रद -कैवल्य वा मोक्ष दिने, १०६ )अनन्त -अन्त नभएको, १०७)तारक -सबको तार्ने
१०८ )परमेश्वर -परम इश्वर
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस