धनुषा– विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरसका कारण देश लकडाउनमा रहँदा धनुषासहित तराई मधेसका जिल्लाका किसानलाई खेतमा लगाइएको गहुँ बाली भित्र्याउने चिन्ता बढ्न थालेको छ । यो समय किसानका लागि खेतमा व्यतित गर्ने भए पनि लकडाउनका कारण उनीहरू खेतसम्म पुग्नसक्ने अवस्था छैन । खेतमा गहुँ पाकेर झर्ने अवस्थामा पुगिसकेको किसानको भनाइ छ ।
देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन लकडाउन हुँदा मानिस घरबाहिर निस्कन नपाएपछि किसान खेतमा पाकेको गहुँबाली कसरी भित्र्याउने भन्ने चिन्तामा छन् । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ का वडाध्यक्ष समेत रहेका कृषक जिवछ मण्डलले भने, “खेतमा लगाइएको गहुँ, रहरी दाल र मसुरो पाकेर झर्ने अवस्थामा पुगिसक्यो कसरी भित्र्याउने भन्ने चिन्ता लाग्न थालेको छ ।”
उनले हिउँदमा भएको वर्षाले केही गहुँ नष्ट गरिसकेको भए पनि बचेको बाली भित्र्याउने समयमा देशमा भएको लकडाउनले झनै भोकमरी ल्याउने बताए । मण्डलले भने, “अहिले खेतसम्म जान सक्ने अवस्था पनि छैन, विश्व नै विपत्तिमा छ । बाहिर निस्कन मिल्दैन । प्रशासनले कडाइ गरेको छ । घरमा खाना छैन, खेतको बाली भित्र्याउन पाइने हो कि होइन कुनै ठेगान छैन ।”
हिउँदमा बढी वर्षा भएका कारण किसानले लगाएको अन्न बालीमा पहिले नै ठूलो क्षति पुगेको थियो । बाँकी रहेको गहुँ पनि पाकेर खेतमै झर्ने अवस्थामा पुगेको किसानको गुनासो छ । धनुषा जिल्ला समन्वय समितिका सभापतिसमेत रहेका अर्का किसान रामदेव यादवले भने, “अझै पनि मौसमको कुनै भर छैन । अहिले कुन बेला मौसम खराब हुनसक्छ । त्यसैले कसैगरी गहुँ बाली भित्र्याउने व्यवस्था सरकारले गरिदिनु पर्छ ।”
यन्त्रले गहुँ काट्ने गरेको भए पनि किसानले डिजेल नपाएको गुनासो गरेका छन् । सरकारले नै डिजेलको बिक्री वितरणमा रोक लगाएको भन्दै आयल स्टोरहरुले डिजेल दिन नमानेको किसानहरु बताउँछन् । मेशिनले गहुँ काट्दा मानिस जमघट पनि नहुने र गहुँ पनि भित्र्याउन सकिने भएकाले सरकारसँग किसानलाई डिजेलको व्यवस्था गरिदिन आग्रह गरेका छन् ।
लकडाउनले छोएन भित्री ग्रामीण भेगलाई
अर्कोतर्फ भित्री ग्रामीण भेगका किसानलाई चाहिँ यो लकडाउनले छोएको देखिन्न । शहरी क्षेत्रका मानिस एकाध बाहेक घरभित्रै बसिरहेका छन् । यद्यपी शहरभन्दा भित्री ग्रामीण भेगका कृषि पेशामा आश्रितको दैनिकीमा खासै परिवर्तन आएको छैन ।
ग्रामीण भेगमा खेती किसानी गर्नेहरुलाई तरकारी गोडमेल गर्ने, गाईवस्तुको हेरचाह र उनीहरुको आहाराको जोहो गर्ने कामका लागि पनि घरबाहिर ननिस्केर उपाय छैन । किसानहरुले तरकारी र दूध सदरमुकाम लिएर बिक्री गर्न छोडेका छैनन् । अझ अहिले किसानहरूलाई चैतेबाली गहुँ, मसुरो, रहरीलगायतका बाली काट्ने चटारो छ ।
धनुषाका अधिकांश नगरपालिका र गाउँपालिका गाउँ देहातहरुमा किसानहरूले धमाधम आफ्नो खेतमा काम गर्दै कोरोना भाइरसको समेत चर्चा गरिरहेका भेटिन्छन् । क्षीरेश्वरनाथ नगरपालिका–१० दिगम्बरपुरका किसानहरु बुधबार बिहान खेतमा काम गर्दै कोरोना भाइरसको त्रास बारे चर्चा गर्दै भेटिए । उनीहरूमा कोरोना भाइरसको त्रास त छ तर तराईमा अहिले चैतेबालीको चटारोले कोरोनाको भय भुलाइदिएको छ । अहिले घर भित्र्याएन भने बालीनै नाश हुने र वर्षभरि कसरी खाने भन्ने चिन्ता किसानहरूमा छ ।
बुधबार बिहान खेतमा काम गर्न आएका मजदुरहरुले एकआपसमा फुसफुस कुरा गरिरहेका थिए ‘पुलिस सब आदमी सबके येना भीडभाड देख्तै त मारतै’ अर्थात ‘प्रहरीले मान्छेहरुको भिडभाड देखेपछि कुटपिट गर्छन् ।’ उनीहरूले खेतमा काम गर्न नगए के खाने, कसरी खाने चिन्ता व्यक्त गरिरहेका थिए ।
घरभित्रै थुनिएर बस्दा आफूहरूलाई वर्षभरि खान नपुग्ने भन्दै तराईका किसानलगायत दैनिकी मजदुरी गरी खाने श्रमिकहरु नियमितरूपमा काममा जुटेका छन् । कोरोनाको त्रास भए पनि उनीहरूको काम पहिले झैं चलिरहेको छ ।
ग्रामीण भेगका किसानहरुले दैनिक दूध पुर्याइरहेका छन् । तरकारी बेच्नेले पनि बजार हाट आएर बेचिरहेका छन् तर पहिलेको तुलनामा उनीहरु समूहमा भने हिँड्दैनन् । मास्क लगाउँछन् । त्रास उनीहरुमा पनि छ । पहिले जस्तो एकै ठाउँमा बसेर तरकारी बेच्दैनन्, बाटोमा डुलेर घरघर तरकारी बिक्री गर्ने गरेका छन् ।
वटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउतले भने, “बाध्यता छ । पशुवस्तुलाई आहारा खोज्नका लागि पनि घरबाट निस्कनै पर्यो ।” ग्रामीण भेगमा घाँस काट्ने, गाईबाख्रा चराउने, गोठालो जानेलगायतका कार्य जारी रहेको अध्यक्ष राउतले बताए । उनले भने, “सबै मानिस त्रसित छन् तर सचेत पनि छन् । दैनिक नगरी नहुने काम पनि स्थानीयले गरिरहेकै छन् ।”
“शहरका मानिसलाई लकडाउनमा कसरी समय बिताउने भन्ने चिन्ता छ तर हामीलाई कहिलै काम पुग्दैन”, वटेश्वर–५ शान्तिपुरका शान्तिदेवी चौधरीले भनिन्, “केटाकेटीको हेरचाह, खानपिन, घाँस काट्ने, बस्तुभाउ हेर्ने, तरकारी गोडमेल, दूध र तरकारी बेच्न बजार जाँदै ठिक्क हुन्छ । के को लकडाउन कामै पुग्दैन । आराम गर्ने फुर्सद पनि हुँदैन ।”
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस