प्युठान – प्युठानको ऐरावती गाउँपालिका–६ काल्नेका ७७ वर्षीय वृद्ध डोरबहादुर खड्का व्यावसायिक कागती खेतीमा रमाएका छन् । उनका छोरा भरतको आर्थिक लगानी र सहयोगमा उहाँले विगत पाँच वर्षदेखि व्यावसायिक कागती खेती गर्दै आएका थिए । विसं २०७२ मा ४०० बिरुवाबाट कागती खेती शुरु गरेको उनी बताउछन् । पछिल्ला वर्षमा कागतीका बोट वृद्धि गर्दै हाल साना–ठूला गरेर एक हजार कागतीका बिरुवा आफ्नो बारीमा रहेकोे उनले बताए । आफ्नै करिब ४० रोपनी क्षेत्रफलमा कागती खेती गर्दै आएको उनी बताउछन् । “यत्तिकै बस्यो भने अनेकन रोग लागेर बिरामी भइन्छ, मेहेनत गर्यो भने परिश्रमको फल मिठो हुन्छ”, उनले भने, “परिश्रमी बन्न कागती खेती गर्दै आएको हूँ ।”
तत्कालीन जिल्ला कृषि विकास कार्यालयबाट ४०० बिरुवा ५० प्रतिशत अनुदानमा पाएपछि उहाँले कागती खेती शुरु गरेका हुन् । त्यसपछि ऐरावती गाउँपालिका कृषि शाखाबाट ५० प्रतिशत अनुदानमा ६०० बिरुवा थपी एक हजार बिरुवा पुर्याएको उनले बताए । एक हजार बिरुवामध्ये हाल ६०० बिरुवाले फल दिइरहेको र अन्य बिरुवा फल्ने अवस्थामा रहेको उनले बताए । लामो समयसम्म गाउँमै तरकारी खेती गरेका डोरबहादुरले तरकारी खेतीलाई समय दिन नसकेपछि कागती खेती शुरु गरेको बताए । अघिल्लो वर्षमा रु ३५ हजार बराबरको कागती बेच्न सफल भएको उनले बताएका छन्। कागती गाउँघरसँगै बजार क्षेत्र बिजुवारमा पुर्याएरसमेत बेच्ने गरेको उनले बताए ।
करिब रु तीन लाख लगानीमा कागती खेती गरिएको उनी बताउछन् । यस वर्षमा भने कागती बोटबाट झरेर घाटा भएको डोरबहादुरका छोरा भरतले बताए । उनका अनुसार करिब चार क्विन्टल कागतीका दाना झरेर खेर गएको छ । वैशाखदेखि यता दुई क्विन्टल कागतीका दाना बेचेको उनले बताए ।
जिल्लाको स्वर्गद्वारी नगरपालिका–९ लामाचौरका पूर्णप्रसाद कालाथोकीले पनि व्यावसायिक कागती खेती गर्दै आएका छन् । उनीले माण्डवी गाउँपालिका–३ साजपानीमा चार वर्षदेखि कागती खेती गर्दै आएका हुन् । एकचालीस वर्षीय कालाथोकीले ३४ रोपनी जग्गामध्ये आधा क्षेत्रफलमा ३५० कागतीका बिरुवा लगाएका छन् । उनले लगाएकामध्ये केही कागतीले यस वर्षदेखि फलसमेत दिन शुरु गरेका छन् । कागती खेतीबाट मासिक रु एक लाखभन्दा बढी आम्दानी गर्ने लक्ष्यसहित कागतीका बिरुवा एक हजार लगाउने लक्ष्य कालाथोकीको रहेको छ । त्यस्तै कागती लगाएर बचेको बाँकी जमिनमा हलेदो, अदुवा लगाएको र दालचिनी लगाउने उनको योजना छ ।
स्वदेशमै केही गर्नपर्छ भन्ने उद्देश्यले कागती खेती गरेको र यसले प्रतिफल पनि राम्रो दिने आशा गरेको उनले बताए । कागती खेती गर्नका लागि गाउँपालिकाले ५० प्रतिशत अनुदानमा बिरुवा उपलब्ध गराएको थियो । वर्षमा एकपटक मलजल गरेर पुग्ने कागती खेती अन्य खेतीको तुलनामा सजिलो खेती हो । गाउँपालिकामार्फत एक घर एक धारा निर्माणको अभियानले सिँचाइका लागि एक धारा निर्माण गरिदिएपछि थप सहजता प्रदान गरेको छ । आगामी दिनमा कागती सिँचाइका लागि प्लाष्टिक पोखरी निर्माण गरी पानी सङ्कलन गर्ने योजना बनाएको समेत उनले बताए ।
यस स्थानमा जग्गा खरिद र कागती खेतीसँगै अन्य कामका लागि करिब रु ५० लाख खर्च भइसकेको कालाथोकीले बताए । सडकदेखि टाढा रहेकाले उनले कागती खेतीसम्म पुग्नका लागि आफ्नै लगानीमा करिब ५०० मिटर सडकसमेत निर्माण गरेका छन् । आफूसँगै कागती खेतीको रेखदेख र स्याहारसुसारका लागि एक कर्मचारीसमेत राखेका छन् ।
जिल्लामा परम्परागतरूपमा गरिँदै आएको कागती खेतीलाई पछिल्लो समय व्यावसायीकरण गरिएको छ । जिल्लाको ऐरावती गाउँपालिका, झिमरुक गाउँपालिका, प्युठान नगरपालिका, नौबहिनी गाउँपालिकाका केही क्षेत्रका किसानले पछिल्लो समय व्यावसायिकरूपमा कागती खेती गर्दै आएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस