काठमाडौं-वर्षभरि नेपाली लोकरक संसारलाई सुनाउनुअघि सन् २०१७ लाई नेपथ्यले शनिबार टुँडिखेलबाट भब्य स्वागत गरेको छ।
‘यो टुँडिखेल मुलुकको धेरै परिवर्तनको साक्षी बनेको छ,’ हजारौं तन्नेरी र महत्वपूर्ण व्यक्तित्वको उपस्थितीले खाँदिएको चौरमा नेपथ्यका मुख्य गायक अमृत गुरुङले आव्हान गरे, ‘आउनुस् अब नेपालीहरुको मुहार उज्यालो पार्ने परिवर्तनको संकल्प यही मैदानबाट गरौं ।’
उनले टुँडिखेलमा नेपथ्यको कन्सर्ट गर्ने लामो समयदेखिको धोको बल्ल पुरा भएकोमा खुशीसमेत प्रकट गरेका थिए ।
बजाज पल्सरले उसको ‘डेयर भेन्चर’ अभियान अन्तर्गत आयोजना गरेको नेपथ्य कन्सर्ट यसपाला ब्यान्डका एकपछि अर्का नयाँ गीतहरुले उनिएको थियो ।
काठमाडौंका दर्शकसामु पहिलो गीत नै नेपथ्यले नयाँ कोसेलीबाट सुरुगरेको थियो । नेपाल संगीत नाट्य प्रज्ञाप्रतिष्ठानका कुलपति सरुभक्तले तन्नेरीवयमा लेखेको ‘कुरुप अनुहार हो–यहाँ कोहि साथी छैन, बेरुप अनुहार हो– यहाँ कोहि साथी छैन’ बाट सुरु गरेपछि यस गीतका बारेमा अमृतले दर्शकलाई बताए ।
‘तपाईहरुमध्ये धेरै त जन्मिनु पनि भएको थिएन होला,’ उनले भने, ‘नेपथ्य पनि जन्मिनुभन्दा पहिल्यै लेखिएको गीत हो यो ।’
त्रिभूवन विश्वविद्यालयबाट स्नातकोत्तर गर्नका निम्ति पोखराबाट २०३९ सालमा कीर्तिपुर आएकै बेला दुइ तन्नेरी सरुभक्तले लेखेको र विक्रम गुरुङले संगीत दिएको गीत थियो यो । यो गीतका थोरै शब्दहरु मार्फत आफूले संसारमा एक्लै फ्याँकिएकाहरुको जीवनगाथा वर्णन गरेको सरुभक्त बताउँछन् ।
‘यो गीतको यति राम्रोसँग पुनर्जागरण गराइदिएकोमा नेपथ्यलाई धन्यवाद दिन चाहन्छु,’ कन्सर्टमा उपस्थित कुलपति सरुभक्तले भने, ‘यसमा विशेष गरेर कोरसका रुपमा प्रयोग भएको आवाजले मलाई बढी प्रभावित पारेको छ ।’
कार्यक्रममा यो नयाँ गीत प्रस्तुत गर्दा श्रोता दर्शकले उत्साहका साथ ताली बजाएर स्वागत गरेका थिए ।
पछिल्लो समय धुलो र धुँवाले अस्तब्यस्त भएको काठमाडौंको छटपटीलाई पनि गायक अमृतले उल्लेख गरेका थिए । शनिबार बेलुकी हजारौं दर्शक नाचिरहँदा रंगीचंगी बत्तीले भ्याएसम्मका आकाश धुलोले ढाकिएको तर्फ संकेत गर्दै उनले भने, ‘म पोखराबाट काठमाडौं आएको बेला यो सहर यस्तो थिएन ।’ उनले फेरि काठमाडौंलाई पहिलेजस्तै सफा पार्न युवा पुस्तासँग आव्हान गर्दै भने, ‘म सफा काठमाडौं हुँदाताकाकै गीतहरु सुनाउँछु ।’
त्यसै क्रममा एकपछि अर्को गर्दै ‘छेक्यो छेक्यो’, ‘चरी म¥यो’, ‘जोमसोमे बजारमा’, ‘हिमाल चुचुरे’ र ‘खान्न म त लामपाते सुर्ती’ सुनाइएको थियो । अघिल्ला कार्यक्रमहरुमा जस्तै पर्यटनको महत्व वर्णन गर्दै ‘भेँडाको ऊनजस्तो’ र ‘लाग्यो कुहिरो दिनभरि’ जस्ता गीतहरु पनि कार्यक्रममा गाइए ।
राजनीतिक अस्थिरताले गर्दा नेपालीहरुले धेरै दुःख पाइरहेको सन्दर्भ उप्काएर गायक अमृतले सबैको साझा पीडालाई आवाज दिएका थिए । पुसको चिसो ठिहीमा पनि गीत मात्र होइन गायकले आफुहरुको मनको कुरा पनि बोलिरहेको सुनेपछि दर्शकहरुले चर्को तालीबाट स्वागत गरे ।
‘यतिबेला कुरा बुझ्ने नबुझ्ने सबैले जात, धर्म र सम्प्रदायको नारा लगाएर विखण्डनको अवस्थामा मुलुकलाई जबर्जस्ती धकेल्न खोजिरहेका छन्,’ अमृतले भने, ‘आउनुस् हामी विविधताका बीचमा एकताको स्वरलाई चर्काऔं ।’
त्यसपछि पत्रकार रविन्द्र मिश्रले तयार पारेको गीत ‘तिमी पनि नेपाली, म पनि नेपाली, हामी नेपाली’ सुनाइएको थियो।
स्टेजमा रहेका कलाकारहरुको परिचय गराउँदै फरक जातजातिका मानिस एक भएर सारा दर्शकलाई रमाइलो पारिरहेको बताउने अमृतले यस्तै अवस्थामा सिंगो मुलुकलाई पु¥याउनु जरुरी रहेको औंल्याए ।
कार्यक्रममा ‘गाउँ गाउँबाट उठ’ र ‘रातो र चन्द्रसूर्य’ पनि सुनाइएको थियो ।
नेपथ्यका सर्वकालीक हिट ‘मै नाचेँ छमछमी’, ‘रेशम’ र ‘तालको पानी’का बेला सधैँझै मैदानको तापक्रम सर्वाधिक बढेको थियो ।
नयाँ रिलिज ‘कोशीको पानी यो जिन्दगानी’, ‘हो रामा रामा’ हुँदै संवेदनाले भरिएको ‘जीवन हो घाम छायाँ’ सम्ममा दर्शक रमाएका थिए ।
तोकिएकै समयमा दर्शक कार्यक्रमस्थलमा पुग्नु र ठ्याक्कै समयमा कार्यक्रम सुरु गर्ने नेपथ्यको परम्पराका कारण टुँडिखेलको दक्षिणी गेटमा एक्कासी बढेको भीँड व्यवस्थापन गर्न शनिवार केहिबेर मुश्किल परेको थियो ।
कार्यक्रमको मध्यमा बजाज पल्सर कम्पनीको ‘पल्सर डेयर भेन्चर, सिजन टु’ का सहभागी एवं विजेताहरुलाई कम्पनीका प्रमुख शेखर गोल्छाले पुरस्कार तथा प्रमाणपत्र पनि वितरण गरेका थिए । ’पल्सर डेयर भेन्चर’मा रामविक्रम थापाले दस लाख नगदसहित नेपालको ’बेस्ट राइडर’ उपाधि जितेका थिए । त्यसैगरि दोश्रो स्थानमा विक्रम केसीले आफ्नो पकड जमाउदै नगद पाच लाख प्राप्त गरे। ’मोस्ट पपुलर राइडर’को उपाधि भने सुदिप श्रेष्ठले जितेका थिए । यी तीनैजना विजेताले एक एकवटा पल्सरको एनएस मोटरसाइकलसमेत आयोजक बजाजका गोल्छामार्फत उपहार पाएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस