काठमाडौँ-ऊर्जामन्त्री वर्षमान पुनले चिनियाँ राजदूत होउ याङचीलाई मन्त्रालयमा बोलाएर चिनियाँ कम्पनीको कामबारे सोधे । अनौपचारिक छलफल सञ्चारमाध्यममा सार्वजनिक भएपछि याङचीले साँझ ट्वीटमार्फत जवाफ दिइन् । तत्काल प्रतिक्रिया नजनाउने चिनियाँ राजदूतले सार्वजनिक रुपमै जवाफ दिनुको गहिरो अर्थ रहेको कूटनीतिज्ञहरु बताउँछन् ।
ऊर्जामन्त्री वर्षमान पुनले नेपालका लागि चिनियाँ राजदूत होउ याङचीलाई मंगलबार सोधे, ‘चिनियाँ कम्पनीहरूले चीन र अन्य विश्वमा राम्रो काम गरिरहेका छन्, यहाँ किन गर्न सकिरहेका छैनन् ?’ सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा राजदूत याङचीले यसबारे आफूले ‘गहिरो अध्ययन र अनुसन्धान गरिरहेको’ कूटनीतिक जवाफ दिएर फर्किइन् ।
यो भेटबारे मन्त्री पुनको सचिवालयले सञ्चारमाध्यमलाई विज्ञप्ति पठायो । मन्त्रीले राजदूतलाई गरेको प्रश्नको समाचार बन्यो । भेटघाटको तस्बिरसमेत सार्वजनिक भयो । चर्चा यत्तिमै सेलाएन ।
राजदूत याङचीले दूतावास फर्केपछि त्यही साँझ ७ः४४ बजे ट्वीट गरिन्, ‘नेपालमा निर्माण भइरहेका जलविद्युत् आयोजनामध्ये सबभन्दा ठूलो आयोजना चीन जलविद्युत् संस्थाले गरेको हो ।’ उनले आयोजनाको नाम भने उल्लेख गरेकी छैनन् । चिनियाँ कम्पनी सिनो हाइड्रोले ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनाको सिभिलतर्फको निर्माण गरिरहेको छ । निर्माणको अन्तिम चरणमा रहेको यो आयोजनाको कार्यप्रगति सन्तोषजनक छ ।
राजदूतले ट्वीट गर्नुअघि मन्त्री पुनले चिनियाँ कम्पनीले निर्माण गरिरहेको त्रिशूली थ्री ए र कुलेखानी तेस्रो आयोजना सम्पन्न हुने तरखरमा रहे पनि ढिला भएको, त्रिशूली थ्री ए–को पहिलो ३० युनिटबाट उत्पादन थालिए पनि दोस्रो युनिटको काम सुस्त देखिएको उल्लेख गर्दै जिज्ञासा राखेका थिए । त्यस बेला पुनले राजदूत याङचीसँग यी आयोजनाको काम सम्पन्न गर्न चिनियाँ कम्पनीसँग समन्वय गरिदिन आग्रह गरेको विज्ञप्तिमा उल्लेख थियो ।
मन्त्री र राजदूतबीच खासगरी नेपालका जलविद्युत् आयोजनामा लगानीबारे करिब डेढ घण्टा कुराकानी भएको थियो । ‘विश्वमा चिनियाँ कम्पनीले राम्रो काम गरिरहेको सन्दर्भमा नेपालमा किन ढिला भनेर जिज्ञासा राखेको हुँ,’ पुनले शुक्रबार कान्तिपुरसँग भने, ‘राजदूतले चिनियाँ कम्पनीको कामबारे अध्ययन गरिरहेको भन्नुभएको थियो ।’
त्यही राति राजदूतले सबभन्दा ठूलो माथिल्लो तामाकोसी आयोजना बनाएको ट्वीट गरेको थाहा पाएको उनले बताए । ‘मैले चिनियाँ कम्पनीबारे राखेको जिज्ञासाको राजदूतले ट्वीटरबाट जवाफ दिएको सामाजिक सञ्जालमा चर्चा चलेको देखें,’ मन्त्री पुनले भने । उनले नेपालमा चिनियाँ ठेकेदार कम्पनीले निर्माण जिम्मा लिएका आयोजना ढिला भएकाले आफूले त्यस्तो जिज्ञासा राखेको बताए ।
राजदूत याङची अघिल्लो शुक्रबार मात्र ट्वीटरमा आएकी थिइन् । ट्वीटर एकाउन्ट खोलेको चार दिनपछि उनले नेपालमा काम गरिरहेका चिनियाँ कम्पनीको बचाउ गर्दै ऊर्जामन्त्री पुनको प्रश्नको जवाफ दिएकी हुन् । चीनका लागि नेपाली पूर्वराजदूत टंक कार्कीले चिनियाँ कूटनीतिज्ञले तत्काल प्रतिक्रिया जनाउने परम्परा नभएको बताए । ‘चिनियाँहरू कुनै पनि प्रश्नको तत्काल प्रतिक्रिया जनाउँदैनन्,’ उनले भने, ‘अझ सार्वजनिक रूपमा प्रतिक्रिया वा जवाफ दिनुको अर्थ छ । यसले भित्रभित्रै आशंका जन्माएको हो कि ?’ यो समाचार आजको कान्तिपुर दैनिकले प्राथमिकता साथ् छापेको छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस