नेपाली कामदार जापान पठाउने विषयमा दुई सरकारबीच गत चैत ११ गते ‘सहकार्यको समझदारीपत्र’ मा हस्ताक्षर भयो । तर, उक्त समझदारीको विस्तृत विवरण सरकारले अझैसम्म बाहिर ल्याउँदा जापान जान खुट्टा उचालेका युवाहरु अन्योलमा छन् ।
अहिले जापान पठाउने भन्दै देशभित्र भाषा परिक्षाको नाममा ठगीधन्दा मौलाएको छ । कतिपय कन्सल्टेन्सीहरुले आफैंले विदेश पठाउने आश्वासन दिएर ठगी गरेका तथ्यहरु पनि बाहिर आएका छन् । सम्झौता भइसकेको विषयलाई पनि गुपचुप राख्दा जापान जाने आशामा बनेका धेरै युवा ठगिने क्रम बढेको हो ।
सहकार्यको समझदारीमा जापान जाने नेपाली कामदारले जापानी नागरिक सरह वा बढी पारिश्रमिक तथा सुविधा पाउने भनिएको छ । विभिन्न १४ क्षेत्रमा कामदार लैजाने सहमति भएको छ । ती क्षेत्रहरु हुन्ः कृषि, नर्सिङ केयर, सवारी साधान मर्मत सम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग, खाद्य पदार्थ र पेय पदार्थ उत्पादन, आवास उद्योग, मेसिनरी पार्ट उद्योग, माछा मार्ने र माछापालन उद्योग, औद्योगिक उपकरण उद्योग, इलेक्टिक, इलेक्ट्रोनिक्स र सूचना प्रविधि उद्योथ, विल्डिङ सरसफाइ व्यवसाय, जहाज र जहाज पाटपूर्जा उद्योग एवं हवाई उद्योग ।
जापानले विशिष्टिकृत दक्ष कामदार (स्पेसिफाइड स्किल वर्कर) को पहिलो र दोस्रो वर्गका कामदार लिने भनेको छ । पहिलो वर्ग -एसएसडब्लूआई) का कामदारलाई जापान जान सम्बन्धित कार्यक्षेत्रमा अनुभव आवश्यक पर्छ र उनीहरु बढीमा ५ वर्षसम्म जापानमा बस्न पाउँछन् । दोस्रो वर्ग -एसएसडब्लू -आईआई)का कामदारका लागि भने उच्च तहको सिप आवश्यक पर्छ ।
यसबाहेक समझदारीका अन्य विषयहरुलाई गोप्य राखिएको छ । सबैलाई चासो छ, रोजगारीका लागि जापान कहिलेबाट खुल्छ ? यस विषयमा हामीले वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसाललाई प्रश्न गर्यौं । जसमा भुसालले खुलाए कि पहिलोपटक जापानले पहिलो लटमा नर्सहरुलाई मात्रै लैजानेछ । भुसालसँग गरिएको छोटो संवादः
वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसाल | तस्बिर-अनलाइन खबर
जापान पठाउने नाममा बजारमा ठगी व्याप्त हुँदा वैदेशिक रोजगार विभाग के हेरेर बसेको छ ?
शैक्षिक परामर्श केन्द्र र भाषा सिकाउने संस्थाहरुको नियमन शिक्षा मन्त्रालयले गर्छ । समस्या देखिएपछि शिक्षा मन्त्रालयलाई यसबारे ध्यानाकर्षण सहित अनुगमनका लागि अनुरोध गरिरहेका छौं । हामीले पनि कसैलाई जापानको नाममा ठगिन नदिन सचेतनामूलक जानकारी र सूचनाहरु दिइरहेका छौं । सरकारले कोही पनि युवाले त्यसरी ठगिन नपरोस् भनेर टुंगो लागेका सबै विषय पारदर्शी ढंगले बाहिर ल्याइरहेको छ । जापानसँग भएको ‘सहकार्यको समझदारी’ ले पनि धेरै हल्लालाई चिरेको छ ।
तर, जापानी भाषा परीक्षाबारे व्यापक अन्योल त छ कायमै छ नि ?
हिजो कति कुरा कुटनितिक महत्वको भएकाले तत्कालै बाहिर ल्याउन असजिलो भएको पनि हो । अब त्यस्तो अवस्था रहँदैन । हामीले जापानको भाषा परीक्षाबारे बजारमा रहेका अन्योल चिर्न सुरु गरिसकेका छौं । अब कसैले भाषाकै अन्योलका कारण ठगिने अवस्था आउने छैन । जापानी भाषा परीक्षाबारे जापान सरकारले हामीलाई पनि भर्खरै स्पष्ट गरेको छ । अब यो सूचना र सन्देश सबैमाझ पुर्याइनेछ ।
जापानको भाषा परीक्षा कोरियन भाषा परीक्षा जस्तै सबै क्षेत्रको लागि एकैपटक हुन्छ कि हुँदैन ?
जापानको हकमा कोरियाको भन्दा फरक हुन्छ । भाषा र सीप परीक्षा १४ ‘क्याटेगोरी’ का लागि अलग-अलग हुन्छन् । सबैको एकैपटक नहुने भनिएको छ ।
परीक्षा कसरी सञ्चालन गरिन्छ ?
जापान फाउन्डेसनले कामदारको आधारभूत भाषा परीक्षा लिन्छ । परीक्षा अहिलेको कोरियन जस्तो कागजमा हुँदैन, कम्प्यूटरमा आधारित हुन्छ । प्रोमेटि्रकले जाँचको व्यवस्था गर्छ । त्यसमा उत्तीर्ण हुने मात्रै जापान जाने अवसरको लागि योग्य हुन्छन् । र, जापान जान पाउने कामदारको रोस्टरमा नाम दर्ता हुन्छ ।
यो वर्ष कुन-कुन क्षेत्रमा कहिले-कहिले परीक्षा होला त ?
सम्भवतः आगामी अक्टोबर (असोज १५ देखि कात्तिक १५) मा नर्सिङ क्षेत्रको लागि मात्र भाषा र सीप परीक्षा हुन्छ । यसलाई ‘नर्सिङ केयर जापाजिन ल्यांग्वेज इभ्यालुएसन टेस्ट’ भनिनेछ । साधारण जापानीमा लेख्न र बोल्न गर्न सक्नेले यो जाँचमा भाग लिन सक्छ ।
२० मिनेटको भाषा परीक्षा र ६० मिनेटको सीप परीक्षा हुन्छ । पास भए-नभएको परीक्षार्थीले तत्कालै थाहा पाउँछन् । जाँच दिएको दुई हप्तामा जाँचको प्रमाणपत्र प्राप्त हुन्छ ।
जापानी भाषाको परीक्षा कुन तहको हुन्छ?
हामीलाई प्राप्त अनौपचारिक जानकारी अनुसार ‘एन-४’ तहको भाषा परीक्षा लिइन्छ ।
एकपटक गएपछि जापानमा कति वर्ष काम गर्न पाइन्छ ?
काम गर्न पाउने अवधिबारे कार्यावधि बन्नेछ । विस्तृत विवरण जापानको श्रम मन्त्रालयको वेबसाइटमा हुन्छ । असल कामदारहरुले अर्को ५ वर्ष काम गर्न पाउँछन् ।
जापान जान कामदारलाई खर्च कति लाग्ला ?
भाषा र सीप परीक्षाको लागि जम्मा खर्च ४५०० जापानी येनको हाराहारीमा हुन्छ । त्यसबाहेकको खर्च रोजगारदाता र श्रमिकबीचको सम्झौतामा उल्लेख भएबमोजिम हुने हुँदा अहिले यकीन भन्न सकिने अवस्था छैन ।
कुन योग्यता पुगेका र कति वर्षसम्मका व्यक्ति जान पाउने हो ?
शैक्षिक योग्यता तोकिएको छैन । उमेर १७ वर्ष माथि हुनुपर्छ ।
यो बर्ष नर्सिङ क्षेत्रमा कति जना जान पाउलान् त ?
जापानले अबको ५ वर्षमा ६० हजार नर्स भित्र्याउने भनेको छ । नेपालबाट कति लैजाने भन्ने संख्या निश्चित छैन । समानुपातिक हिसाबले पनि बढीमा १३०० जना नर्स एक बर्षमा जान पाउँछन् कि भन्ने अपेक्षा छ ।-अनलाइन खबर
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस