पर्सा- कोरोना सङ्क्रमणकै कारण पर्सामा आज फेरि एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । भारतबाट केही दिन अगाडि नेपाल फर्किएका वीरगञ्ज महानगरपालिका–१४ बहुवरी निवासी ५७ वर्षीय पुरुषको वीरगञ्जको नारायणी बयोधा अस्पतालमा आज बिहान १२ः४५ बजे उपचारका क्रमम मृत्यु भएको हो ।
भारतबाट फर्किएलगत्तै बिरामी भएका पुरुषलाई उपचारका लागि चैत २९ गते अस्पताल भर्ना गरिएको र सोही दिन उनको आरडिटी पिसिआर रिपोर्ट पोजेटिभ आएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले जानकारी दिनुभयो । उहाँले श्वाप्रश्वासमा समस्या, उच्च ज्वरो र कडा निमोनियाबाट मृतक ग्रस्त रहेको बताउनुभयो ।
बितेको एक साताभित्र पर्सामा चार पुरुष र एक महिला सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । यससँगै पर्सामा सङ्क्रमणकै कारण मृत्यु भएको सङ्ख्या ५८ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
सङ्क्रमित फेला परेपछि सतर्कता
इलाम– कोरोना भाइरसको दोस्रो चरणको सङ्क्रमण एक जनामा पुष्टि भएपछि इलामस्थित कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । सूर्योदय नगरपालिका–११ का ६२ वर्षीय एक पुरुषमा कोरोना पुष्टि भएको थियो । उहाँको झापाको विर्ता सिटी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ । सङ्क्रमित पुरुषको सम्पर्कमा पुगेका अन्य पाँच व्यक्तिको भने सोमबार स्वाब सङ्कलन गरिने जनाइएको छ ।
समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काको अध्यक्षतामा आइतबार बसेको बैठकले इलाम र झापाको सिमाना जोर कलशमा हेल्थ डेस्क राख्ने र इलाम प्रवेश गर्नेको स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको छ । बैठकले सरकारले दोस्रो चरणमा शुरु गर्न लागेको कोभिड–१९ खोप यही वैशाख ७ गते देखि ११ गतेसम्म लगाउने निर्णय भएको प्रजिअ खड्काले जानकारी दिनुभयो ।
“इलाम सदरमुकाममा दोस्रो चरणको खोप लगाउने सङ्ख्या बढिरहेकाले वैशाख ७ देखि ११ गतेसम्म खोप लगाउने तयारी गरिएको छ”, प्रजिअ खड्काले भन्नुभयो, “अन्य पालिकामा वैशाख ८ र ९ गते खोप लगाइने छ ।” प्रजिअ खड्काका अनुसार यसपटकको अभियानमा पहिलो चरणमा खोप लगाउनेले मात्र दोस्रो चरणको खोप लगाउन पाउने छन् । गत माघ १४ देखि २४ सम्म र फागुन २ देखि ११ गतेसम्म खोप लगाउनेलाई यो दोस्रो चरणको खोप लगाइने छ ।
इलाम नगरपालिबाहेकका स्थानीय पालिकामा रहेका ४४ स्वास्थ्य चौकी र मङ्गलबारे, फिक्कल, पशुपतिनगर तथा प्याङ प्राथमिक स्वास्थ्य केन्द्रमा भने वैशाख ८ र ९ गते खोप लगाउने तयारी रहेको जिल्ला स्वास्थ्य कार्यालय इलामका कोभिड स्थानीय स्रोत व्यक्ति विमल बरालले जानकारी दिनुभयो ।
यता नेपाल–भारत आवतजावत गर्ने मुख्य नाका पशुपतिनगरमा भने स्वास्थ्य परीक्षण साथै एन्टिजेन र मलेरिया परीक्षणलाई कडाइ गरिएको छ । यस्तै सीमा नाकाबाट आउने सबै यात्रुको अनिवार्य रेकर्ड राख्न लगाउने र भारतबाट नेपाल प्रवेश गर्ने यात्रुको अनिवार्य स्वास्थ्य परीक्षण गरी शङ्कास्पद देखिएका व्यक्तिको कोभिडको एन्टिजेन परीक्षण र मलेरियाका लागि आरडिटी परीक्षण गर्ने काम भइरहेको प्रजिअ खड्काले जानकारी दिनुभयो ।
बैठकले स्यानिटाइजर, मास्कको प्रयोग, सामाजिक दूरी कायम राख्न र स्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न सबैलाई आग्रह गरेको छ । यसैबीच इलामको रोङ र माई नगरपालिकामा कोभिड अस्पताल पनि सञ्चालनमा आएका छन् । एक जना एमबिबिएस डाक्टरसहितको स्वास्थ्यकर्मीको टोली अस्पतालमा रहेको छ ।
बाँकेमा १५९ को मृत्यु
राँझा– बाँकेमा कोरोना सङ्क्रमणका कारण हालसम्म १५९ जनाको मृत्यु भएको छ । बाँके जिल्लाभित्र बसोबास गर्ने ६१ जना र जिल्लाबाहिर बसोबास गरी उपचारका लागि बाँकेस्थित अस्पतालमा आएका ९८ गरी १५९ जनाको मृत्यु भएको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार, बाँकेमा उपचाररत कोरोना सङ्क्रमितको दैनिकजसो मृत्यु हुने गरेको छ । बाँकेमा हाल भेरी अस्पताल नेपालगञ्जमा ३८ र शिक्षण अस्पताल कोहलपुरमा आठ गरी ४६ सङ्क्रमित सिकिस्त अवस्थामा छन् । तीमध्ये सात जनाको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ ।
अहिले ८६६ सक्रिय सङ्क्रमित उपचाररत छन् । बाँकेमा गए राति ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमित थपिएका छन् । जिल्लाका तीन वटा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ३२२ जनामा भाइरस सङक्रमण पुष्टि भएको स्रोत व्यक्ति वलीले जानकारी दिनुभयो ।
सङ्क्रमण पुष्टि भएकामा बालबालिकादेखि युवा र वृद्धसम्म छन् । विद्यार्थी, शिक्षक, अभिभावक र पत्रकारसमेत सङ्क्रमित भएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस