झिमरुक – प्युठानका आठ स्थानीय तहले सञ्चालन गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमबाट स्थानीयस्तरमा रोजगार सिर्जना हुन थालेको छ । जिल्लाका प्युठान नगरपालिका, स्वर्गद्वारी नगरपालिका, नौवहिनी, मल्लरानी, गौमुखी, माण्डवी, सरुमारानी र झिमरुक गाउँपालिकाले रोजगार कार्यक्रम सञ्चालन गरेका हुन् । ऐरावती गाउँपालिकाले रोजगार कार्यक्रम शुरु गर्ने तयारीमा छ । कार्यक्रममार्फत बेरोजगार जनताले १०० दिनका लागि रोजगारी पाउने छन् । नौवटै स्थानीय तहका दुई हजार ९१५ बेरोजगार व्यक्तिले यो वर्ष १०० दिन बराबरको रोजगारी पाउँदैछन् ।
प्युठान नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरेको छ । अत्यन्त विपन्न वर्गलाई आंशिकरुपमा भए पनि स्वरोजगार बनाउने नेपाल सरकारको लक्ष्यअनुसार नगरपालिकाले रोजगार कार्यक्रम सञ्चालन गरेको हो । माघ २० गतेदेखि नगरका १० वटै वडामा रोजगार कार्यक्रम शुरु भएको छ । विपन्न परिवारलाई सहयोग गर्ने उद्देश्यले रोजगार कार्यक्रम शुरु भएको नगरप्रमुख अर्जुनकुमार कक्षपतिले बताएका छन् ।
कार्यक्रममार्फत नगरपालिकाका १० वटा वडामा ३० योजनाको काम शुरु भएको रोजगार संयोजक माधव गिरीले जानकारी दिए । सडक मर्मत, बालविकास भवन, पैदलमार्ग, नाली, रिचार्ज पोखरी निर्माणलगायतका योजनाको काम भइरहेको उनले बताए । जसका लागि रु दुई करोड ५६ लाख ४४ हजार बजेट विनियोजन भएको छ । नगरपालिकाभित्रका बेरोजगार फारम भरेकाबाट छनोट भएका ४९६ व्यक्ति रोजगार कार्यक्रममा सहभागी भएका छन् । यी व्यक्तिले १०० दिन रोजगारी पाएका हुन् । दैनिक आठ घण्टा काम गर्नुपर्नेछ । जसबापत प्रतिव्यक्ति दैनिक रु ५१७ उपलब्ध गराइने रोजगार संयोजक गिरीले बताए ।
नौवहिनी गाउँपालिकाले पनि प्रधानमन्त्री उक्त कार्यक्रम थालेको छ । फागुन १ गतेबाट कार्यक्रम शुरु गरेको रोजगार संयोजक विक्की घिमिरेले जानकारी दिनुभयो । गाउँपालिकाले ४५२ व्यक्तिलाई १०० दिन बराबरको रोजगारी दिँदैछ । धेरै वडामा काम शुरु भइसकेको उनले बताए । कार्यक्रमका लागि रु दुई करोड ३३ लाख ६९ हजार बजेट विनियोजन भएको छ । त्रिचालीस योजना छनोट गरिएको रोजगार संयोजक घिमिरेले बताए ।
मल्लरानी गाउँपालिकाले पनि सो कार्यक्रम थालेको छ । फागुन ६ गतेदेखि वडा नं ४ बाट रोजगार कार्यक्रम शुभारम्भ गरिएको रोजगार संयोजक शरद भण्डारीले जानकारी दिए । कार्यक्रममार्फत २८० ले रोजगारी पाउने छन् । त्रिपन्न योजना छनोट भएका छन् । जसका लागि रु एक करोड ४४ लाख ७६ हजार बजेट विनियोजन गरिएको छ ।
गौमुखी गाउँपालिकाले पनि उक्त कार्यक्रम शुभारम्भ गरेको छ । वडा नं २ र ७ बाट कार्यक्रम शुभारम्भ गरिएको रोजगार संयोजक नीरज पाण्डेले जानकारी दिएका छन् । कार्यक्रममार्फत २८५ व्यक्तिले रोजगारी पाउनेछन् । कार्यक्रमका लागि ४५ योजना छनोट भएका छन् जसका लागि रु एक करोड ४७ लाख ३४ हजार ५०० विनियोजन भएको उनले बताए ।
माण्डवी गाउँपालिकाले फागुन १० गतेदेखि रोजगार कार्यक्रम चलाएको छ । कार्यक्रममार्फत २५० ले रोजगारी पाउने छन् । कार्यक्रममार्फत ४० योजनाको काम हुने गाउँपालिकाका सूचना प्रविधि अधिकृत अनिल अधिकारीले जानकारी दिनुभयो । जसका लागि रु एक करोड ४ लाख ८५ हजार बजेट विनियोजन भएको छ । झिमरुक गाउँपालिकाले सो कार्यक्रम सञ्चालन गरेको रोजगार संयोजक सुदर्शक जिसीले जानकारी दिनुभयो । वडा नं ७ बाहेक अन्य सात वडामा कार्यक्रम शुरु भएको छ । कार्यक्रममार्फत ३९७ ले रोजगारी पाउने छन् । नाली, पर्खाल, पोखरी, चौतारी निर्माणलगायतका १६८ योजना छनोट भएको उनले बताए । यस कार्यक्रमका लागि रु दुई करोड पाँच लाख २५ हजार बजेट विनियोजन भएकोसमेत उनले बताएका छन् ।
सरुमारानी गाउँपालिकाले सो कार्यक्रम शुरु गरेको छ । दुई सय ५४ लाई यस वर्ष १०० दिन बराबरको रोजगारी दिन थालेको कार्यक्रम संयोजक अनुस्का महतोले जानकारी दिए । “दुई वटा वडाबाहेक अन्यमा शुरु भएको छ”, उनले भने, “बाँकी रहेका वडामा आइतबारदेखि शुरु गर्ने योजनामा छौँ ।” कार्यक्रममार्फत सडक नाली, कुलो, बाटो, कम्पाउण्ड वाल निर्माण तथा मर्मतलगायतका योजनाको काम हुने उनले बताए । सो कार्यक्रममा दैनिक रु ५१७ ज्याला निर्धारण गरिएको छ । कार्यक्रमका लागि रु एक करोड ३१ लाख ३२ हजार प्राप्त भएको संयोजक महतोले जानकारी दिए ।
स्वर्गद्वारी नगरपालिकाले सो कार्यक्रम सञ्चालन गरेको छ । चार वटा वडामा कार्यक्रम शुरु भएको र बाँकी वडामा शुरु गर्ने तयारीमा रहेको रोजगार संयोजक रमेश पोख्रेलले बताए । कार्यक्रममार्फत २८४ ले रोजगारी पाउने छन् । कार्यक्रमका लागि रु एक करोड ४६ लाख ८३ हजार बजेट विनियोजन गरिएको छ । कार्यक्रमअन्तर्गत १८ योजना छनोट गरिएको उनले बताए ।
ऐरावती गाउँपालिकाले पनि आजदेखि सो कार्यक्रम सञ्चालन गर्ने रोजगार संयोजक विनोद त्रिपाठीले जानकारी दिएका छन् । छ वटा वडामा ३१ योजना छनोट गरिएको छ । जसका लागि रु एक करोड १२ लाख १९ हजार बजेट विनियोजन भएको संयोजक त्रिपाठीले जानकारी दिए । कार्यक्रमका लागि ऐरावती गाउँपालिकामा २१७ व्यक्ति छनोट भएका छन् ।
कार्यक्रम मार्फत १०० दिनको रोजगारी पाएकाहरु खुशी छन् । मल्लरानी गाउँपालिका–४ खलङ्गा कर्वडहलदेखि लाममेलासम्मको सडकमा नाली खन्दै गरेका २७ वर्षीय सूर्यबहादुर विश्वकर्माले खाली समयमा केही समयका लागि काम पाउँदा खुशी लागेको बताए । केही समय भारतमा समय बिताउनुभएका उहाँ तीन वर्षदेखि गाउँमै रहेको र घरायसी काम गर्दै आएका थिए। बिहान १० देखि ५ बजेसम्म काममा खटिएको उनको भनाइ छ । यसरी काम पाउँदा घरपरिवार पाल्न पनि सहज हुने विश्वास उनले लिएका छन् । उनी भन्छन्, “हामीजस्ता बेरोजगारीलाई १०० दिनमात्र नभई सधैँभरि काम दिएमा सहज हुने थियो ।”
त्यस्तै मल्लरानी गाउँपालिका–३ बञ्चरेका ३५ वर्षीय शिवकुमार श्रेष्ठ पनि खाली समयमा काम पाउँदा खुशी भएका छन् । शुक्रबारदेखि वडा नं ३ स्थित बर्बोटमा गोरेटेबाटो खन्ने काम शुरु गर्न लागेको उनले बताए । बिहान ९ः३० देखि साँझ ५ बजेसम्म काम गर्दै आएको उनले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस