मुलुकको कुल गार्हस्थ उत्पादनको २९ प्रतिशतबराबर योगदान रेमिट्यान्सको छ । तर, पछिल्लोपटक रेमिट्यान्स घट्दै गएको तथ्यांक आउन थालेको छ । रेमिट्यान्सको योगदान, हुन्डीको कारोबारले वैधानिक माध्यमलाई पुर्याएको असर र रेमिट्यान्स घट्नुको कारणबारे हिमाल रेमिट हेर्ने हिमालयन बैंकका निमित्त महाप्रबन्धक उज्जल राजभण्डारीसाग गरेको कुराकानी :
राष्ट्र बैंकदेखि विभिन्न निकायले रेमिट्यान्स घट्ने प्रक्षेपण गरेका छन् । के त्यस्तो संकेत देखिइरहेको छ ?
रेमिट्यान्स घट्ने प्रक्षेपणभन्दा पनि घट्न नै थालिसकेको छ । घट्ने भनेर ऋणात्मक भएको छैन, तर वृद्धि घटिरहेको छ । पहिला हामी २८–३० प्रतिशतमा थियौ । राष्ट्र बैंकले घटेर १३ प्रतिशत भन्यो, अहिले ८ प्रतिशत हाराहारीमा घटेको भनेको छ । विदेशमा रहेका नेपालीले कमाएर नेपाल पठाउने आम्दानी विभिन्न कारणले घट्दै गएको छ । त्यसको असर रेमिट्यान्समा देखिन्छ । भूकम्प र नाकाबन्दीमा पैसाको बढी आवश्यकता भएर आफन्तका लागि विदेशबाट पैसा आयो, त्यो वेला रेमिट्यान्स बढेको देखियो । बीचमा त्यो वृद्धिमा ह्रास आएको छ । अब चाँडबाडका वेला पनि एकपटक केही वृद्धि देखिए पनि रेमिट्यान्स आउने अवस्था पहिलाजस्तो देखिएको छैन ।
रेमिट्यान्स किन घटिरहेको छ, यसको प्रभाव र असर कस्तो हुन्छ ?
नेपाली कामदार जाने मुलुक साउदी अरबलगायतका खाडी मुलुकमा रोजगार संकट देखिइरहेको छ । त्यसले जाने कामदार घट्ने र उता रहेका कामदार नेपाल फर्किने क्रमले पनि रेमिट्यान्समा असर पुर्याएको हो । त्यस्तै मलेसिया जाने कामदारलाई एक वर्षअघिदेखि नै फ्री टिकट र फ्री भिसाले अन्योल बनाएर कामदार जाने क्रम घटेको छ । विदेशमा जाने नेपाली नै घटेपछि त्यहाँबाट आम्दानी गरेर पठाउने रकम पनि घट्छ । यसरी रेमिट्यान्स घट्ने संकेत देखिएका छन् । र, केही रूपमा घट्दै गएको पनि छ । मलेसियाले केही क्षेत्रमा बाहिरबाट कामदार लिन पनि बन्द गर्यो । मलेसियाको रिंगेट पनि कमजोर भयो । यसले घटिरहेको हो । रेमिट्यान्स घट्नुको अर्काे कारण अनौपचारिक माध्यम बलियो हुँदै जानु पनि हो । बैँकिङ माध्यमभन्दा हुन्डीको कारोबार बढी हुन थालेपछि रेमिट्यान्सको हिसाब सन्तुलनमा पनि देखिदैन । मुलुकको अर्थतन्त्रको २९ प्रतिशतबराबर जिडिपी रेमिट्यान्सको रहेको छ । त्यसैले रेमिट्यान्स यसरी नै घट्दै गयो भने अर्थतन्त्रलाई नै धक्का पुग्छ । नेपाली युवा कामका लागि विदेश नजानु ठीक हो, तर जबसम्म आन्तरिक बजारमा रोजगारी सिर्जना हुँदैन, त्यो वेलासम्म विकल्प त विदेश नै हो । देशभित्र पनि रोजगारका अवसर सिर्जना नहुनु र विदेश पनि नजाँदा चलायमान अर्थतन्त्रमा भयावह स्थिति सिर्जना हुन्छ ।
यसरी आन्तरिक श्रम बजारमा त रोजगारविहीन युवाको संख्या बढ्ने भयो त ?
नेपालमा युवामा विदेश नै जानुपर्छ भन्ने सोच छ । गाउँघरतिर युवा त देख्न पनि गाह्रो छ । त्यसले गर्दा गाउँ–घरतिर हुने कृषिमा पनि समस्या देखिएको छ । सरकारले ठुल्ठूला आयोजना घोषणा गरी कार्यान्वयन गर्यो भने एकैचोटि धेरै युवाले रोजगार पाउने हो । सडक, हाइड्रोपावरदेखि विमानस्थलसम्म कुनै ठूलो आयोजना सुरु भएर एकैपटक युवालाई आबद्ध गर्न सकियो भने आन्तरिक श्रम बजारमा आएका युवाले रोजगार पाउने अवस्था आउँथ्यो र बिस्तारै विदेश जाने क्रम घट्थ्यो, तर मुलुकमा ठूला आयोजनाको निर्माण पनि उल्लेखनीय रूपमा भएको पाइादैन ।
निजी बैंकको सुविधा, थुप्रै रेमिट्यान्स कम्पनी खुलिरहेको अवस्थामा पनि हुन्डीको कारोबार बढ्नुको कारण के हो ?
बैंकको सुविधा र धेरै रेमिट्यान्स कम्पनी खुल्न थालेपछि वैधानिक माध्यमबाट आउने रेमिट्यान्स पनि बढेको छ । अहिले ५० वटा रेमिट्यान्स कम्पनी पुगेका छन् । तिनीहरूकै कारण रेमिट्यान्स बढेको हो, तर त्योसँगै अवैधानिक र अनौपचारिक कारोबार पनि बढिरहेको देखिन्छ । प्रहरीले पछिल्लोपटक गरेको कारबाहीबाट पनि यो थाहा हुन्छ कि हुन्डीको कारोबार कसरी बढिरहेको छ । जबसम्म रेमिट्यान्सलाई बैंकिङ च्यानलमार्फत भित्र्याइदैन, तबसम्म यसले दिएको सही योगदानको विषयमा पनि जानकारी हुँदैन । अहिले हुन्डी गर्नेले पनि प्रविधिको सहारा लिन थालेका छन् । औपचारिकभन्दा बढी संस्थागत रूपमा देखिएका छन् । त्यसैले हुन्डी बढ्दै गएको छ । हुन्डी कारोबारमा विनिमयदर बढी पनि हुन्छ । कुनै ठाउँमा त २ रुपैयाँसम्म फरक छ । अनि हुन्डीवाला कामदार बस्ने ठाउँसम्मै पुगेर पैसा जम्मा गर्छन् । काम गर्ने ठाउँ होस् वा होटेल, पैसा उठाउन उहीा पुग्छन् । विनिमयदर पनि बढी र उहीा पुगेर पैसा पनि जम्मा गर्ने सुविधाका कारण हुन्डी कारोबार बढिरहेको छ । तर, उच्च जोखिम छ भन्ने सेवाग्राहीलाई राम्रोसँग थाहा छैन । हुन्डीवालाले पैसा उठाएर भागेका पनि थुप्रै समाचार हामीले पढिरहेकै छौ ।
अनौपचारिक माध्यमलाई घटाउन राष्ट्र बैंकदेखि अन्य निकायले कसरी काम गर्नुपर्छ ?
राष्ट्र बैंकले त यसमा हेरी नै रहेको छ । अझ सशक्त रूपमा राष्ट्र बैंक आयो भने केही त तत्काल नै घट्छ । राष्ट्र बैंक एक्लैले पनि सक्ने कुरा होइन । उसले अरू सरकारी निकायहरूसँग समन्वय गरेर काम गर्नुपर्छ । सबै मिलेर भित्री अवस्थामा पुगियो भने केही त हुन्छ नै । केही मनी चेन्जर, ट्राभल, होटेल, पसललगायतमा हुन्डी कारोबार भइरहेको छ । त्यसमा अनुगमन बढाउने हो भने तत्काल रिजल्ट आउँछ । अहिले प्रहरीले पनि हुन्डीवालालाई पक्राउ गरिरहेको समाचार आइरहेको छ । यस्तो कारबाहीलाई अझ बढाउने हो भने विदेशबाट पैसा पठाउनेले पनि बैंकिङ च्यानल नै प्रयोग गर्थे । औपचारिक माध्यमबाट रेमिट्यान्स बढ्ने भनेको नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव बढ्नु हो । त्यसैले निजी बैंकले पनि यस विषयमा सचेतना बढाउन जरुरी छ । निजी बैंकहरूसँग सरकारले केही सुझाब मागेका वेला हामी जहिले पनि तयार छौ ।
रेमिट्यान्सले आन्तरिक उत्पादन बढाउन भूमिका खेलिरहेको छैन । यसले आयात र मूल्य वृद्धि बढाएको पनि छ भन्ने छ नि ?
रेमिट्यान्सको योगदानको कुरासँगै यसको चुनौतीको पनि कुरा आइरहन्छ । जबसम्म रेमिट्यान्सको भूमिकाको कुरा छ । नेपालबाट जाने कामदारले पठाएको रकमले त सबैभन्दा पहिला उनीहरूका आफन्तले आधारभूत आवश्यकता पूरा गर्छन् नै । जुन वर्ग नेपालबाट कामका लागि खाडी वा मलेसिया जान्छन् । उनीहरूका ठूला योजना र सपना हुादैनन् । खानपिन, बच्चाको पढाइ, लत्ताकपडामा नै उनीहरूको पैसा प्रयोग हुन्छ । रेमिट्यान्सले गर्दा गाउँघरमा टेलिभिजन, मोबाइल फोनको प्रयोगदेखि बच्चा बोर्डिङ स्कुलमा पढ्न थालेका छन् । कसैले घर बनाएका होलान् । कसैले रंगीन जस्तापाता राखेका होलान् । केहीले सामान जोडिरहेका होलान् । यसले गर्दा पनि आयात बढाउन भूमिका खेलेजस्तो देखिएको होला । आफ्ना आवश्यकता पूरा भएपछि मात्र बचत हुने हो । कतिले बचत पनि गरिरहेका छन् र त्यसलाई व्यापार व्यवसायमा पनि लगाइरहेका छन् । खासमा देशभित्र नै उत्पादन बढाउनका लागि सरकारले भूमिका खेल्नुपर्छ । उद्योग लगाएर आन्तरिक उत्पादन बढायो भने त उपभोक्ताले उपभोग त्यहीाबाट गर्ने हो । यस्तो विषय त नीतिगत रूपमा नै सोच्नुपर्ने हो । स–साना उद्यमशीलताका लागि पनि सरकारले वातावरण बनाउनुपर्छ । अवसर दिनुपर्छ । अर्काे कुरा मुद्रास्फीति उनीहरूले उपभोग गरेको भन्दा सवारीसाधनको आयातबाट भएको छ । जबकि उनीहरूले सवारीसाधन किनिरहेका छैनन् । मुख्य रूपमा धेरै पैसा त सवारीसाधनका लागि गएको छ ।
रेमिट्यान्सको कुरा गर्दा मध्यपूर्व र मलेसियाको कुरा हुन्छ, तर युरोप, अमेरिका वा जापानमा पनि रोजगारीका लागि नेपाली छन् नि । उनीहरूले पठाउने रेमिट्यान्स किन थोरै छ ?
यी ठाउँमा झन् बढी हुन्डीको कारोबार हुन्छ । त्यसैले पनि रेमिट्यान्स आएको देखिँदैन । अर्काे कुरा खाडी र मलेसियमा जस्तो गरेर युरोप, अमेरिका बस्नेले पटक–पटक पैसा पनि पठाउँदैनन् । त्यता बस्ने प्राय: परिवारसँग बस्ने वा उच्च वर्गका हुने हुनाले नेपालमा निरन्तर पैसा आउँदैन, त्यो पनि कारण हो । तर, जापानबाट पछिल्लो केही वर्षदेखि रेमिट्यान्स बढ्न थालेको छ । जापानमा ६० हजारजति नेपाली छन् । त्यसको आधाले औपचारिक माध्यमबाट पठाउन थालेका छन् ।
कोरियामा पनि नेपाली कामदार धेरै गएका छन् । सरकारले नै त्यहाँ कामदार पठाउँछ, त्यहीँ औपचारिक माध्यम छैन नि ?
हो, जिटुजी माध्यम भएर पनि कोरियाबाट जुन रेमिट्यान्स आउनुपर्ने हो, त्यो आएको छैन । सरकारले इपिएस माध्यमबाट कामदार पठाएपछि उताबाट पनि सरकारी तवरले नेपालमा पैसा आउनुपर्छ भनेर सम्झौता गर्नुपर्छ । कामदार पठाउने, तर उनीहरूको आम्दानी कसरी भित्र्याउने भन्ने नसोच्ने भन्ने त हुँदैन । नेपाल सरकार र कोरिया सरकारबीच श्रम सम्झौताको नवीकरण हुने वेला कोरिया र नेपालको बैंकबीचको सम्बन्ध उल्लेख गरी कामदारको आम्दानी सजिलो गरेर नेपाल पठाउने व्यवस्था राख्नुपर्छ । हामी त समन्वय गर्ने मात्र हो, तर निर्णय त सरकारले गर्नुपर्छ ।
रेमिट्यान्स पठाउँदा सेवाशुल्क नलिने अभ्यास पनि छ । जस्तो पाकिस्तानमा यो भएको थियो । नेपालमा पनि सेवाशुल्क नलिई गर्ने हो भने रेमिट्यान्स औपचारिक माध्यमबाट बढ्न सक्छ नि होइन र ?
बाहिर कम्पनीको विभिन्न शुल्क छ । पाकिस्तानमा यो अभ्यास पहिला भएको थियो । तर, सरकारलाई नै यसको भार बढी पर्छ । यो प्रभावकारी छ कि छैन भनेर मात्र लागू गर्नुपर्छ । नेपालको सन्दर्भमा पनि यो विषयमा एकपटक छलफल भएको थियो । नेपालमा श्रम बैंक स्थापना गरी कामदारलाई सुविधा दिने विषयमा यो कुरा थियो । तर, सरकारले अहिले के गरिरहेको छ, थाहा भएन । तर, यसको शुल्क नै महँगो हुने भएकाले नेपालमा समस्या छ । निजी बैंक वा रेमिट्यान्स कम्पनीले सेवा शुल्क नलिने भनेको सरकारले निजी बैंक वा कम्पनीलाई सुविधा दिनु हो, तर त्यो झन् महँगो हुन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस