काँकडभिट्टा – नेपालको पूर्वी सीमा नाका काँकडभिट्टामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्णकदको प्रतिमासहित सुन्दर उद्यान बनेको छ । पर्यटकीय आकर्षणको केन्द्र बनेको देवकोटा पार्कको नामले परिचित यो स्थानमा दिनहुँ सयौँ आन्तरिक पर्यटक रमाउने गरेका छन् ।
मुलुकको प्रवेश नाकामै रहेको यो पार्क छ वर्ष अघिसम्म लागुऔषधका दुव्यर्सनीको अखडाजस्तै थियो । त्यसबेला यहाँ देवकोटाको अर्धकदको शालिक थियो । असामाजिक तत्वले शालिक पटकपटक तोडफोड गरेका थिए । स्थानीय युवाले पार्कको महत्व बुझेर स्याहारसम्भार गर्दै जाँदा अहिले देवकोटा पार्क पर्यटक लोभ्याउने स्थलको रूपमा विकसित भएको हो ।
कोभिड–१९ का कारण चैतदेखि बन्द रहेको पार्क तिहारको लक्ष्मीपूजाको दिनदेखि खुलेको थियो । विभिन्न मनमोहक फूल र वृक्षले भरिभराउ पार्कमा बालबालिकालाई पिङ, चिप्लेटी, ढिकीच्याउँ, मिनी रेललगायतका खेल्ने सामान राखिएको छ । बाल उद्यानका कारण दैनिक १०० को हाराहारीमा बालबालिका नै अभिभावकसहित आउने गरेका छन् ।
पार्कको संरक्षण र सौन्दर्य अभिवृद्धिका लागि स्थानीय युवा बालकृष्ण थापाले युवा स्वयंसेवकको अगुवाइ गरिरहेका छन् । पार्कको सरसफाइ, बगैँचाको गोडमेल, फूलको रोपणजस्ता काममा युवा स्वयंसेवक नियमित खट्छन् । युवाको लगनशीलता देखेर स्थानीय नगरपालिका, प्रदेश सरकार र नेपाल पर्यटन बोर्डले पार्कलाई व्यवस्थित तुल्याउन आर्थिक सहयोग गर्न थालेका छन् ।
देवकोटा पार्क निर्माण तथा व्यवस्थापन समितिका सचिव फणीन्द्र घिमिरेले आर्थिक सहयोग जुटेपछि शालिकको नियमित रङरोगन, पक्की घेराबारा, बाल उद्यान, शौचालय, वाइफाइ, बिजुली, खानीपानीसमेतको व्यवस्था गरिएको बताए । उनले युवाले पार्कको व्यवस्थापन सम्हालेपछि पार्कमा निर्माण गरिएको पुस्तकालय र कफी सेन्टर चाँडै उद्घाटनको तयारीमा रहेको जानकारी दिएका छन् ।
पार्क व्यवस्थापनका लागि प्रदेश नम्बर १ को सरकारले रु एक लाख, मेचीनगर नगरपालिकाले रु १४ लाख, वडा नम्बर ६ ले रु तीन लाख, नेपाल पर्यटन बोर्डले रु सात लाख आर्थिक सहयोग गरेको देवकोटा निर्माण व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण थापाले बताए । “कुनै बेला लागुऔषध दुव्र्यसनीको अखडा बनेको पार्कको विकास गर्न स्थानीय युवाले गरेको योगदान सराहनीय छ”, उनी भन्छन्, “देवकोटा पार्कलाई सजाउन हामीले सरकारी अनुदानको मात्र भर नपरी स्वेच्छिक सहयोगसमेत गरेका छौँ ।”
कोभिड कहरकै अवधिमा काँकडभिट्टासम्म एशियाली राजमार्गको छ लेनको फराकिलो सडक निर्माण भइसकेको छ भने मेचीमा चार लेनको नयाँ पुल बनेको छ । निकट भविष्यमा नाका खुला भएपछि पूर्वी प्रवेशद्वार काँकडभिट्टाबाट भित्रिने पर्यटकको पहिलो नजर देवकोटा पार्कमा पुग्ने मेची उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष बिना तामाङले बताइन् ।
व्यवस्थापन समितिले पार्कमा खेल्न आउने १२ वर्षमुनिका बालबालिकाका लागि रु १० टिकटको व्यवस्था गरेको छ । बालबालिकाले टिकट लिएपछि अभिभावकलाई हेरचाहमा प्रवेश निःशुल्क गरिएको छ । कोरोनाका कारण विद्यालय बन्द रहेकाले दैनिक १०० भन्दा बढी बालबालिका पार्कमा खेल्न घुम्नका लागि आउने गरेको अध्यक्ष थापाले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस