कावासोती- नवलपरासी (बर्दघाट सुस्तापूर्व) तीन हजार मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माणको पहिलो चरणको काम शुरु गरिएको छ । रिटर्नी कृषि तथा पशुपालन कम्पनी लिमिटेडले राजधानीबाहिर यति ठूलो क्षमतामा पहिलो चिस्यान केन्द्र निर्माण गर्न लागेको कम्पनीका अध्यक्ष नेत्र थनेतले बताउनुभयो ।
साइड अफिस, कम्पाउण्डवाल र पार्किङस्थल निर्माणको काम थालनी गरिएको अध्यक्ष थनेतले बताउनुभयो । आउँदो पुस महिनाभित्र पहिलो चरणको काम सकिने र त्यसलगत्तै दोस्रो चरण (सिभिलको) काम थालनी गरिने उहाँले जानकारी दिनुभयो ।
जर्मन प्रविधिबाट निर्माण गरिने चिस्यान केन्द्र आधुनिक हुनेछ । केन्द्रमा आठवटा च्याम्बर रहनेछन्, जहाँ फलफूल, तरकारी र मासु भण्डारण गरिनेछ । किसानले चिस्यान केन्द्रलाई आफ्ना उत्पादन बेच्न सक्नेछन् भने भाडामा लिएर आफ्ना सामान राख्न चाहनेका लागि पनि सेवा उपलब्ध हुने थनेतले जानकारी दिनुभयो ।
अध्यक्ष थनेतका अनुसार केन्द्र, प्रदेश र ‘रिटर्नी’ नेपालीहरुको लगानी गरी रु २० करोडको लागतमा नवलपुर चिस्यान केन्द्र निर्माण गर्न लागिएको हो । ‘प्रवासबाट आर्जित सीप, ज्ञान र पूँजी स्वदेशका लागि’ भन्ने नारा लिएर विदेशबाट फर्किएका नेपालीहरुको पहलमा उक्त चिस्यान केन्द्र निर्माण हुन लागेको हो । वैदेशिक रोजगारमा आर्जेको सीप र ज्ञानलाई आफ्नै माटोमा प्रयोग गरेर आत्मनिर्भर बन्ने र देशलाई पनि समृद्धिको बाटोमा अगाडि बढाउन सहयोग पुर्याउने उद्देश्यले रिटर्नीहरुको पहलमा चिस्यान केन्द्र निर्माण गर्न लागेको अध्यक्ष थनेतले बताउनुभयो । यस चिस्यान केन्द्रमा देशभरका रिटर्नीहरुको सहभागिता रहेको छ ।
अठार कठ्ठा जग्गा लिजमा लिएर उक्त चिस्यान केन्द्र निर्माण गर्न लागिएको हो । नवलपुर कृषि उपजका हिसाबले समृद्ध रहेको र यहाँका किसानलाई थप प्रोत्साहित गर्न सकिएमा किसानदेखि उपभोक्तासम्मलाई लाभ दिन सकिने भएका कारण चिस्यान केन्द्र निर्माण गर्ने योजना बनाएर काम थालनी गरिएको थनेतले बताउनुभयो । कृषि उपजको वृद्धिका लागि किसानलाई अत्याधुनिक तालिम र बिउबीजन चिस्यान केन्द्रले नै उपलब्ध गराउने अध्यक्ष थनेतको भनाइ छ । यसले हालको भन्दा बढी उत्पादन हुने र किसानलाई लागत खर्च कम भई प्रतिफल वृद्धि हुने उहाँ बताउनुहुन्छ । जिल्लामा नै चिस्यान केन्द्र निर्माण हुने भएपछि स्थानीयवासी पनि खुशी भएका छन् । कावासोती नगरपालिका–१४ अग्यौलीमा तीन हजार मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माणको काम थालनी गरिएसँगै जिल्लाका किसानले उत्पादित कृषि उपजको भण्डारण गर्न अन्यत्र जान नपर्ने भएपछि खुशी छन् ।
चिस्यान केन्द्र स्थापनापछि उत्पादन गरेका भण्डारण गर्न मिल्ने कृषि उपजलाई आफ्नै ठाउँमा भण्डारण गरेर राख्न सहज हुने मध्यविन्दु नगरपालिकाका कृषक हरि ढकालले बताउनुभयो । “मैले कागतीखेती गर्दै आएको छु । लकडाउनका कारण कागती बिक्री नहुँदा कुहिएर गयो । चिस्यान केन्द्र भएको भए त भण्डारण गर्न सक्थेँ”, ढकालले भन्नुभयो, “जिल्लामै चिस्यान केन्द्र बन्ने भएपछि हामीजस्ता किसान धेरै खुशी छाँै, हाम्रो उत्पादन खेर जानबाट जोगिन्छ भन्ने लागेको छ ।”
जिल्लाको हुप्सेकोट गाउँपालिका पनि आलु उत्पादनको पकेट क्षेत्र मानिन्छ । यहाँको आलु छिमेकी जिल्लामा पनि निर्यात हुँदै आएको छ । कहिलेकाहीँ समयमा आलु बिक्री नहुँदा कुहिएर फाल्नु परेको सम्झँदै कृषक यमबहादुर माकिम भन्नुहुन्छ, “जिल्लामा चिस्यान केन्द्र नहँुदा उत्पादन गरेको तरकारी भण्डारण गर्न पाएका छैनाँै । बाहिर जिल्लामा राख्दा लागत बढ्छ, आफ्नै जिल्लामा चिस्यान केन्द्र बनेपछि त भण्डारण गरी बेमौसममा पनि बिक्री गर्न पाएमा मूल्य राम्रो पाइन्छ ।”
जिल्लामा उत्पादन हुने आलु, सुन्तला, अमिलो, प्याजलगायतका कृषि उपज र हिमाली क्षेत्रको स्याउसमेतको यहाँ भण्डारण गरेर बेमौसममा बिक्री गरी अम्दानीमा वृद्धि गर्न सकिने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तलाजोन कार्यक्रमका वरिष्ठ कृषि विकास अधिकृत विष्णुप्रसाद शर्माले बताउनुभयो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस