काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केहीबेरपछि देशै भर ७७ वटै जिल्लामा एकै साथ एकै समय पारेर पार्टीको जनजागरण अभियान सुरु गर्दै छ । कांग्रेसले पार्टीका संगठन बलियो बनाउनेदेखि सरकारका गलत क्रियाकलापविरुद्ध आमजनतालाई सचेत गराउनेसहित विभिन्न १५ उद्देश्य लिएर जनजागरण अभियान सुरु गर्न लागेको हो । कांग्रेसले अभियानलाई ‘हिमाल, पहाड, तराई मधेस, नेपाली कांग्रेस’ नारा दिएको छ ।
जागरण अभियानको अहिले १ बजे पार्टी सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभागृहमा उद्घाटन गर्दैछन् । देउवाले समीको बिरुवामा पानी हालेर कार्यक्रम उद्घाटन गर्ने र त्यो विरुवा लगेर पार्टी कार्यालय परिसरमा रोपिने जनाइएको छ ।
यसैगरी, सात प्रदेशका प्रदेश सदरमुकाम रहेका जिल्लाहरूमा हुने कार्यक्रमको उद्घाटनका लागि पार्टीका वरिष्ठ नेतासहित पदाधिकारीहरू सम्बन्धित ठाउँमा पुगिसकेका छन् ।
कांग्रेस उपसभापति विमलेन्द्र निधिका अनुसार प्रदेश १ को सुनसरीमा उपसभापति विजयकुमार गच्छेदारले अभियानको उद्घाटन गर्नेछन् । यसैगरी, १ कै विराटनगरमा नेता कृष्णप्रसाद सिटौला, प्रदेश २ को जनकपुरमा वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रदेश ४ को पोखरामा महामन्त्री पूर्णबहादुर खड्का, प्रदेश ५ को बुटवलमा अर्का महामन्त्री डा. शशांक कोइराला, प्रदेश ६ को सुर्खेतमा कोषाध्यक्ष सीतादेवी यादव र प्रदेश ७ को धनगढीमा उपसभापति निधिले अभियानको उद्घाटन गर्ने भएका छन् । अन्य ७० जिल्लामा भने पार्टीले पहिले नै तय गरेका केन्द्रीय प्रतिनिधिहरूबाटै अभियान उद्घाटन हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
कांग्रेसले जागरण अभियानबाटै पार्टीका कार्यक्रमलाई भद्दा हुनबाट रोक्न भन्दै प्रमुख वक्ता, महिला वक्ता र कार्यक्रमका सभापतिलाई मात्रै वक्ताका रूपमा राख्ने भएको छ । देशैभर हुने कार्यक्रममा जम्मा तीन जना मात्रै वक्ता हुनेछन् भने कार्यक्रम एकै शैलीबाट संचालन हुनेछ । यस्तै, ब्यानर तथा पर्चासमेत एउटै प्रकारका प्रयोग गरिने कांग्रेसले जनाएको छ । यस्तै, कांग्रेसले जनजागरण अभियानमार्फत आफ्नो पार्टीको कार्यक्रममा ‘ब्याच’ र ‘माला’लाई समेत प्रतिबन्ध लगाएको छ । पार्टीका कार्यक्रममा अनावश्यक रूपमा समय खर्च हुने भन्दै कांग्रेसले कार्यक्रमबाट ‘ब्याच’ र ‘माला’मा समेत प्रतिबन्ध गरेको हो । कांग्रेसले जनजागरण अभियानका क्रममा हुने कार्यकममा दीर्घजीवी बिरुवा रोपेर र दीप प्रज्ज्वलन गरेर कार्यक्रमको उद्घाटन गर्नेछ । यस्तै, कार्यक्रमका सभापति र प्रमुख अतिथिबाहेक अन्यलाई एकैपटक आसन ग्रहण गराउनेछ ।
कांग्रेसले जागरण अभियानमा विभिन्न १२ भाषामा जागरण गीतसमेत प्रस्तुत गरेर समावेशी दलका रूपमा आफूलाई चिनाउँदै छ । मैथिली, मगर, नेवारी, तामाङ, गुरुङ, भोजपुरी, राई, लिम्बू, थारू, राजवंशी, देउडा भाका र नेपाली भाषा गरी फरक १२ भाषामा जागरण गीत बजाइने कांग्रेसले जनाएको छ । कांग्रेस प्रवक्ता शर्माका अनुसार पहिलो चरणको जागरण अभियान २५ वैशाखबाट २५ जेठसम्म गरी एक महिने कार्यक्रम ७७ वटै जिल्लामा सञ्चालन गरिनेछ । पहिलो चरणको कार्यक्रमका लागि ७७ वटै जिल्लामा केन्द्रीय तहका नेता सहभागी हुनेछन् तर पार्टीका सांसदहरू भने कार्यक्रममा सहभागी नहुने कांग्रेसले जनाएको छ । प्रवक्ता शर्माका अनुसार अभियानमार्फत महासमितिबाट पारित विधानसहितका दस्तावेजबारे कार्यकर्तालाई सुसूचित गर्ने, नेता कार्यकर्ताबीच एकता बढोत्तरी गर्ने, जागरण अभिवृद्धि गर्ने, कांग्रेसको अगुवाइमा उपलब्ध राजनीतिक उपलब्धि जनताबीच सम्प्रेषण गर्ने, संविधान संशोधनबारे जनमत सिर्जना गर्नेलगायतका उद्देश्य कांग्रेसले लिएको छ ।
यस्तै, दोस्रो चरणअन्तर्गत २४ भदौबाट १० असोजसम्म अभियान चलाइने प्रवक्ता शर्माले जानकारी दिए । दोस्रो चरणअन्तर्गत मुलुकका सबै प्रदेशस्तरीय निर्वाचन क्षेत्रहरूमा कार्यक्रम गरिनेछ । सो कार्यक्रममा समेत केन्द्रीय तहका नेताहरू सहभागी हुनेछन् ।
यसैगरी, तेस्रो चरणको अभियान ७ पुसबाट १६ गतेसम्म गरी १० दिन आयोजना हुनेछ । यस चरणमा सबै स्थानीय तहमा जनजागरण अभियान हुने कांग्रेसले बताएको हो । कांग्रेसले अभियानकै क्रममा सरकारका गलत क्रियाकलापविरुद्धमा आफ्ना नेता कार्यकर्तासहितका मतदाताहरूलाई सचेत बनाउने, कार्यकर्ताका मनोबल उच्च बनाउनेदेखि पार्टी सदस्यतासमेत वितरण गर्नेसम्मको लक्ष्य कांग्रेसले लिएको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस