काठमाडौं -साफ फुटबल च्याम्पियनसिपका क्रममा पाकिस्तानविरुद्धको गर या मरको खेलमा इन्ज्युरी समयमा गोल गरेर १५ वर्षे ठिटो विमल घर्ती मगर एकाएक स्टार बनेका थिए । विमलको उक्त गोल उनको जीवनकै महत्वपूर्ण ‘टर्निङ प्वाइन्ट’ पनि सावित भयो । त्यो खुसीले विमल आल्हादित हुनु स्वभाविक थियो, किनभने उनको त्यो एउटा गोलले राष्ट्रको शान उचो गरेको थियो । पाकिस्तानसँग लगभग हार तय भैसकेको अवस्थामा अतिरिक्त समयमा विमलले गरेको त्यो गोलले खेललाई बराबरीमा ल्याएपछि नेपाल सेमिफाइनलको यात्रा तय गर्न सफल भएको थियो । विमलले गोल गरेपछि सम्पूर्ण नेपालीले उनलाई मनैबाट धन्यवाद टक्र्याए र उनी सेलिब्रेसनको नायक बने ।
आफ्ना कारणले हासिल त्यो जितपछि विमल अत्यन्तै खुसी थिए, यद्यपि अर्को दृष्टिले भने उनी हल्का निराश पनि भए । निराश हुनुको कारण विमलको त्यो उपलब्धि हेर्न उनका बुबा यो धर्तीमा थिएनन् । ती पिता छोरा विमल चर्चित फुटबलर भएको हेर्न चाहन्थे । त्यो गोललाई विमलले दुर्घटनामा वितेका बुबाप्रति समर्पण गरे । विमल सम्झन्छन्– ‘सबैतिर मेरो चर्चा थियो, म पनि खुसी थिए, तर बुबा भैदिनुभएको भए, उहाँ मप्रति कति गर्व गर्नुहुन्थ्यो होला जस्तो लागिरह्यो ।’ विमल सानो छँदै उनका बुबा मोटरसाइकल दुर्घटनामा परेर दिवगंत भएका थिए ।
तत्कालीन फुटवल स्ट्राइकर वसन्त थापा र विमलका पिता साथीभाइ थिए । यी दुई परिवार पारिवारिक रूपमै निकट थिए । विमल सानै थिए, बुटवलको त्यो एक दिन, नेपाल प्रहरीमा उनका पिताले स्ट्राइकर वसन्त थापालाई देखाउँदै फुटबलर भनेको यस्तो हुनुपर्छ भनेर विमललाई सुनाए । ६ वर्षे विमललाई त्यो कुराले गहिरो प्रभाव पार्यो । ‘बुबा म फुटबलर भएको हेर्न चाहनुहुन्थ्यो भन्ने कुरा उक्त घटनापछि नै थाहा भयो,’ विमल सम्झन्छन्–‘बुबाले फुटबल खेल्नुपर्छ भनेर त त्यति भन्नुभएन, तर उहाँको अन्तर्मनको चाहना मैले फुटबलमै राम्रो करियर बनाएको हेर्ने रहेछ भन्ने बुझें ।’ त्यसो त फुटबलरका रूपमा राष्ट्रिय टिममा छनौट हुनु र त्यसमा पनि उत्कृष्ट खेलाडीको पहिचान बनाउनु अत्यन्तै कठिन काम थियो । यसकारण बाबुले छोरोलाई फुटबल खेल्ने वातावरण उपलब्ध गराए पनि छोराको फुटबल करियर कहाँसम्म पुग्छ भन्ने अनुमान भने गर्न सकेका थिएनन् । आज पिता छैनन् तर विमल नेपाली फुटबलरका रूपमा शिखर यात्रामा छन् ।
हालै सम्पन्न अन्डर नाइन्टिन साफ च्याम्पियनसिप सुरु हुनुपूर्व बेल्जियममा रहेका विमल खेल्न आउलान् कि नआउलान् भन्ने चिन्ता धेरै फुटबल प्रेमीमा थियो । विमल आए नेपालले साफ च्याम्पियनसिप जित्न सक्छ भन्ने भावनाले पनि यसमा काम गरेको थियो । नभन्दै अन्डरनाइन्टिन क्याप्टेन विमलले नेपाल आएर २२ वर्षदेखिको उपाधिको भोको नेपाललाई उपाधि दिलाए । अन्डर नाइन्टिन साफ च्याम्पियनसिपमा भुटान विरुद्धको खेलमा ह्याट्रिक गरेका विमलले अरू खेलमा गोल गर्न सकेनन् तर उनको खेलशैलीले धेरैको मन जित्यो । उनलाई विदेशी टिमले मार्क गर्दा अन्य नेपाली खेलाडीले गोल गर्ने अवसर पाए । विमल भन्छन्– ‘उमेर समूहको प्रतिस्पर्धामा भन्दा पनि राष्ट्रिय टिमका तर्फबाट नेपाललाई उपाधि दिलाउने खेलमा महत्त्वपूर्ण खेलाडीका रूपमा आफूलाई उभ्याउने चाहना छ ।’
विमलले १४ वर्षको उमेरमै नेपाली राष्ट्रिय टिमबाट बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यु गरेका थिए । त्यसको अर्को वर्ष पाकिस्तानविरुद्धको खेलमा अन्तिम समयमा उनलाई मैदान प्रवेश गराइएको थियो । उक्त खेलमा विमललाई खेलाउने प्रशिक्षकको निर्णयलाई उनले निरर्थक हुन दिएनन् । अझ सधैं उत्कृष्ट फिनिसरको खाँचो महसुस गरिरहेको नेपाली टिमलाई गोल गरेर सम्भावनायुक्त स्ट्राइकरका रूपमा आफूलाई उभ्याउन सफल भए । १३ मिनेटमै पाकिस्तानले सुन्दर गोल गरेपछि हतास मनस्थितिमा खेलिरहेको नेपालले बारम्बार प्रयास गर्दा पनि गोल गर्न सकेको थिएन् तर १५ वर्षको ठिटोले ९० मिनेटपछिको खेलमा गोल गरिदिए । त्यो १ गोलले नै विमललाई आमनेपालीमाझ चिनाइसकेको थियो । हिजोसम्म एन्फा एकेडेमीमा फुटबल खेलाडी बन्न संघर्षरत ठिटो एकाएक सेलिब्रेटी बनेको थियो । हेर्दा आकर्षक देखिने यी तन्नेरी युवतीहरूमाझ पनि उत्तिकै लोकप्रिय भए । यसैपनि फुटबलरहरू युवतीहरूको आकर्षणमा पर्छन्, त्यसमा थप ५ फिट ११ इन्च उचाइका विमलको अपिलिङ फिगर धेरैलाई आकर्षित गर्ने किसिमको छ ।
नाम र प्रसिद्धि कमाइसकेका विमल अहिले फुटबल करियरकै कारण उल्लेख्य आम्दानी गर्ने खेलाडी बन्ने पथमा अग्रसर छन् । सामाजिक सञ्जालमा पनि उनको क्रेज लोभलाग्दो देखिन्छ । उनका फ्यान फलोअर उत्तिकै छन् । फेसबुकमै उनको पेजका करिब १ लाख फ्यान छन् । विमललाई हुरुक्क भएर मन पराउनेहरू पनि छन् । उमेरमा केही वर्ष जेठी भए पनि एक सेलिब्रेटीले केही अघि विमल आफूलाई अत्यन्तै मनपर्ने भएकाले उनीसँग विवाह गर्न समेत आफू तयार रहेको बताएकी थिइन् । विमललाई प्रेमप्रस्ताव पनि आइरहेकै छन्, तर बेल्जियमको करियर राम्रो भएपछि मात्र प्रेम र विवाहका सम्बन्धमा सोच्ने उनी बताउँछन् ।
विमल भन्छन्– ‘१५ वर्षको उमेरमा मलाई पनि प्रेम गर्ने रहर थियो तर अहिले त्यस्तो सोच आउँदैन्, युवती साथीहरू छन्, उनीहरूले भेटौं भन्दा सामान्य रुपमा भेटघाट मात्र हुन्छ ।’
स्ट्राइकर विमललाई फुटबलसम्बन्धी विश्वचर्चित वेबसाइट गोल डटकमले दक्षिण एसियाका नेयमारको उपाधिसमेत दिइसकेको छ । गोल डटकमले केही अघि सार्वजनिक गरेको टप टेन साफ खेलाडीको सूचीमा विमललाई तेस्रो खेलाडीमा सूचीकृत गरेको थियो । उक्त सूचीमा माल्दिभ्सका अलि असफाक पहिलो, अफगानिस्तानका मनसुर फागियर दोस्रो तथा विमल तेस्रो स्थानमा थिए भने भारतका सुनिल क्षेत्री चौथो स्थानमा थिए । फिफाले समेत दक्षिण एसियाकै सम्भावनायुक्त स्ट्राइकरका रूपमा उनलाई मेन्सन गरेको थियो । फिफाको आधिकारिक वेबसाइटमा विमलको फुटबल करियरका विषयमा ‘आर्टिकल’ नै प्रकाशित भयो ।
विमलको प्रारम्भिक दिन
नवलपरासीको भुताहामा सन् १९९८ मा जन्मिएका विमलले गाउँबाटै फुटबल यात्रा प्रारम्भ गरेका थिए । ८–९ वर्षको उमेरदेखि उनी फुटबलसँग लहसिएका थिए । रूपन्देहीमा रहँदा त्यहाँको लोकल क्लब गोर्खा ब्वाइजले फुटबलको माहौल बनाएको थियो । त्यसले उनलाई फुटबल खेल्न मद्दत मिल्यो । प्रहरीमा कार्यरत विमलका पिता पनि उक्त क्लबका अफिसियलमध्ये एक थिए । ‘मलाई खुसी लाग्छ, हाम्रो गाउँमा एक जना फुटबल क्रेजी प्रशिक्षक जन्मिनुभयो, जसले आफैंले फुटबल किनेर, अन्य सामग्रीहरू जुटाइदिएर हामीलाई फुटबल खेल्न अभिप्रेरित गरिरहनुभयो ।’ विमल भन्छन्– ‘उहाँको नाम राजेश बुढाथोकी हो, जो हाल मलेसिया हुनुहुन्छ, सुरुवातमा मेरो मनमा फुटबल भावना जगाउन उहाँको ठूलो योगदान छ ।’ राजेशबाट फुटबलको स्कुलिङ सिकेका विमलका अनुसार समूहगत रूपमा सबैलाई खेल सिकाइसकेपछि राजेशले विमललाई छुट्टै पनि सिकाउँथे । विमल भविष्यको राम्रो खेलाडी बन्न सक्ने अनुमान राजेशले त्यही बेला नै गरेका थिए । विमल राजेशलाई आफ्नो प्रेरणाको स्रोत मान्छन् ।
एन्फा एकेडेमीले सानो उमेरदेखि नै फुटबलको तालिम उपलब्ध गराउने उद्देश्य राखेर अन्डर टुबेल सेलेक्सन गर्ने भयो, जसमा सहभागिता जनाउन विमल काठमाडौं आए । ‘सेलेक्सनका क्रममा म रिजेक्ट भए’ विमलले सम्झिए– ‘तर अचम्म रिजेक्ट भएपछि, ममा फुटबल क्रेज अझ बढ्यो । म गाउँ फर्किएर थप अभ्यासमा जुटें ।’ त्यतिबेलाका छनौटकर्तामध्ये अहिलेका अन्डरनाइन्टिनका राष्ट्रिय प्रशिक्षक बालगोपाल महर्जन पनि एक थिए । बुटवलमा एन्फा एकेडेमी स्थापना भएर त्यहाँ पनि सानो उमेर समूहका खेलाडीलाई लिइने भयो । बुटवल एन्फा एकेडेमीले गरेको रि–सेलेक्सनमा काठमाडौंमा भएको सेलेक्सनमा असफल भएकाहरू र अन्यले सहभागिता जनाए । विमल उक्त सेलेक्सनमा भने छनौट भए । त्यसपछि बुटवलको एन्फा एकेडेमीमा उनले लगातार दुई वर्ष तालिम लिए । बुटवलमा तालिम लिने क्रममै उनको फुटबल खेल्ने कला उत्कृष्ट छ भन्ने कुरा राष्ट्रिय प्रशिक्षकले बुझिसकेका थिए । त्यसैले उनलाई अन्डर थर्टिन राष्ट्रिय टिमको प्रतिनिधित्व गर्दै इरानमा खेल्न जाने अवसर मिल्यो ।
‘धरान, बुटवल र काठमाडौंको एन्फा एकेडेमीका खेलाडीहरूको एउटै ब्याचलाई सेलेक्ट गरी काठमाडौंमा तालिम दिने उद्देश्य राखेर फेरि सेलेक्सन भयो,’ विमलले भने– ‘त्यसमा म छनौट भए, त्यसपछि हालसम्म ४ वर्ष सातदोबाटोस्थित एन्फा एकेडेमीमै तालिम गरिरहेको छु ।’ विमलकी आमा र १ बहिनी छिन्, जो हाल नवलपरासीमा बस्छन् । बहिनी कक्षा ११ मा अध्ययनरत छिन् । विमलले भने खेलकै कारण आफ्नो अध्ययनलाई सुचारु गर्न सकिरहेका छैनन् ।
विमल सफलताको आफ्नो पहिलो मोड अन्डर थर्टिन राष्ट्रिय टिमलाई प्रतिनिधित्व गरेर इरान खेल्न जाँदाको समयलाई मान्छन् । ‘त्यो मेरा लागि खेल कौशल देखाउने अवसर थियो, नभन्दै मेरो प्रदर्शन उत्कृष्ट सावित भयो ।’ विमलले भने– ‘प्रशिक्षकले व्यक्तिगत रूपमै मेरो खेलको प्रशंसा गर्नुभयो, त्यतिबेला म लेफ्ट विंगरबाट खेल्थें ।’ यस्तै अन्डर फोर्टिन खेल्न उनी जापान गए, जहाँ उनले ८ गोल गरेका थिए । नेपालमै आयोजित अन्डर फोर्टिनको खेल पनि उनको उत्कृष्ट प्रदर्शन थियो । त्यसपछि अर्को उल्लेख्य सफलता भने काठमाडौंमा आयोजित अन्डर सिक्स्टिन साफ च्याम्पियन सिप थियो । त्यसमा उनले ७ गोल गरेर आफूलाई हाइएस्ट स्कोररका रूपमा चिनाए । थाइल्यान्डमा आयोजित अन्डर सिक्सटिनको क्वालिफाइङ म्याचमा पनि उनले सुधारिएको खेल देखाए । उमेर बढ्दै जाँदा विमलको खेल परिपक्व हुँदै गयो । त्यही भएर सिनियर खेलाडीले भरिएको राष्ट्रिय टिममा पूर्ण रूपमा शारिरिक विकास नभइसकेको फुच्चेलाई प्रशिक्षकले मैदान छिराएका थिए । साफ च्याम्पियनसिपमा सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडीको कीर्तिमान पनि विमलकै नाममा छ । त्यसअघि उक्त कीर्तिमान भरत खवासको नाममा थियो । भरतले १६ वर्षको उमेरमा सिनियर टिमबाट अन्तर्राष्ट्रिय गोल गरेका थिए । मैले अन्डरसिक्सटिन साफ च्याम्पियनसिपमा हाइएस्ट स्कोररका रूपमा परिचय बनाउनु नै राष्ट्रिय टिममा प्रवेश पाउने आधार बन्यो, विमलले भने– ‘म पनि मैदान प्रवेश गर्दा गोल गर्ने एउटै लक्ष्य लिएर छिरेको थिए, नभन्दै गोल गर्न सफल भए, खुसीको सीमा नै भएन ।’
यसपटक पनि अन्डर नाइन्टिन साफ च्याम्पियनसिपको उपाधि जितेको भोलिपल्टै उनले भारतको पुनेमा सम्पन्न मैत्रीपूर्ण खेलमा सहभागिता जनाए । गोल गर्न नसके पनि ८० मिनेटसम्म मैदानमा रहेर उनले आफ्नो कुशल खेल देखाए । टिम भावना बलियो भएकाले यो समूह आत्मविश्वासी भएको उनले बताए । त्यसका लागि सरकारले खेलाडीहरूलाई पर्याप्त सुविधाका साथमा तालिम र अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अभ्यास गराउनु आवश्यक भएको उनको भनाइ छ । नेपालमै पनि राम्रो ग्राउन्ड फ्यासिलिटिज दिने, खेलाडीलाई व्यक्तिगत तनावबाट मुक्त राख्ने काम गरिए नेपालको फुटबलले अझ फड्को मार्ने विमल बताउँछन् ।
एन्फा एकेडेमी काठमाडौंमा प्रवेश गरेपछि विमलले थुप्रै नयाँ साथी पाए । धरान, बुटवल र काठमाडौंबाट छानिएका उत्कृष्ट खेलाडी बीच खेल्ने मौका पाए । ‘मैले धेरै कुरा काठमाडौंको एकेडेमीबाट सिके’ विमलले भने– ‘बुटवलको एकेडेमीमा पारिवारिक वातावरण थियो, फुटबल कल्चर विकास गर्न बुटवल क्षेत्रका थुप्रै सहयोगी मनले त्यहाँको एकेडेमीलाई सहयोग गरेका थिए, मैले त्यो कुरा बिर्सन मिल्दैन ।’ किशोरहरूलाई फुटबलमा मात्र केन्द्रित गर्ने वातावरण त्यहाँको समाजले तयार गरेको थियो । विमल थप्छन्– ‘दिउँसोको समयमा विद्यालय जानेबाहेक अरू सबै समय फुटबलमा मात्र केन्द्रित हुन् भनेर त्यस्तै खालको वातावरण बनाइएको थियो ।’ आफ्नो खेल जीवनमा विमलले लेफ्ट विंगर, राइट विंगर, लेफ्ट डिफेन्सजस्ता पोजिसनबाट खेलिसकेका छन् ।
विमल सानो छँदा नै उनका पिताको दुर्घटनामा मृत्यु भएपछि परिवार चलाउने जिम्मेवारी आमामा सर्यो । सामान्य आयस्रोतको परिवार दिवंगत प्रहरी अभिभावकको पेन्सनको भरमा चल्नुपर्यो । ती अत्यन्तै कठिन दिन थिए, विमल भन्छन्– ‘अहिले मैले केही कमाउन थालेकाले अलिकति सजिलो भएको छ ।’ साप्ताहिकसँगको कुराकानीकै दिन उनी सुदूरपश्चिमाञ्चल क्लबसँग अनुबन्ध गर्दै थिए । क्लबले दिने पारिश्रमिक, राष्ट्रिय टिमको खेलाडी भएपछि प्राप्त हुने मासिक आम्दानी र बेल्जियमको क्लबमा पाइने पकेट मनि उनको परिवार धान्ने आर्थिक स्रोत हुन् ।
विद्यालय जाने उमेरमा छोरोले फुटबल नै खेले पनि पढाइचाहिँ नबिगारोस् भन्ने उनकी आमाको चाहना थियो । ‘मेरो सफलतामा अहिले आमा अत्यन्तै प्रसन्न हुनुहुन्छ,’ विमलले सुनाए– ‘पढाइमा भनेजस्तो राम्रो गर्न नसके पनि छोरो एउटा लाइनमा हिँडेको छ, उपलब्धि पनि हासिल गरेको छ भनेर दंग हुनुहुन्छ ।’ छोराले अझै उपलब्धि हासिल गर्छ भन्ने विश्वास आमामा भएको सुनाउँदै विमलले आमाका सपना पूरा गर्न अझै कठिन मेहनत गर्ने कुरा पनि बताए ।
पछिल्लो समयमा नेपालमा क्रिकेटको क्रेज बढ्दो छ । क्रिकेटमा नेपालले आत्मसात् गरेका थुप्रै उपलब्धिले पनि फुटबल ओझेलमा पर्दै गएको हो कि जस्तो लाग्छ तर विमल यो कुराको खण्डन गर्छन् । ‘क्रिकेटमा राम्रो गर्नु हामी सबैको गौरवको विषय हो, तर अहिले पनि नेपालीहरू फुटबल भनेपछि हुरुक्कै हुन्छन्,’ विमल भन्छन्– ‘मलाई त अत्यन्तै खुसी लागेको छ, फुटबल स्टारका रूपमा परिचय बनाउन पाउँदा गर्व महसुस गर्छु । उमेर समूहको फुटबलमा लामो समयपछि एउटा खुसी आत्मसाथ गर्नुका पछाडि फुटबल फ्यानहरूको उत्प्रेरणाले काम गरेको उनले बताए । विमल भन्छन्– ‘आशा गरौं, सिनियर फुटबल टिमको महत्वपूर्ण सदस्यका रूपमा देशको शिर उचो पार्न अझै उत्कृष्ट फुटबल खेल्नेछौं ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस