काठमाडाैं – राष्ट्रपति कार्यालयमा गलैँचा मात्र होइन, शौचालयको सजावट पनि यही वेला हुन लागेको छ । बैठक र शौचालय भव्य बनाउन सरकारले दुईथरी टेन्डरमार्फत एक करोड ८४ लाखमा ठेक्का दिने निर्णय गरिसकेको छ ।
राष्ट्रपति कार्यालयमा हुन लागेको यो सजावट कोभिड सुरु हुनुअघिको होइन । यसका लागि ठेकेदार छनोट भएको सूचना १३ जेठ र १७ जेठमा सार्वजनिक गरिएको छ । सहरी विकास तथा भवन निर्माण विभागले १३ जेठको सूचनाअनुसार एक करोड ५७ लाख र १७ जेठको सूचनाअनुसार २७ लाख रुपैँया खर्च गर्न थालेको हो ।
विभागअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले हिमालयन डेकोर तथा श्री विकोई-इन्द्रेणी-सुप्रिम जेभिईलाई दिने निर्णय गत ९ जेठमा गरेको हो । तीन वर्षअघि मात्र निर्माण सम्पन्न भएको भवनमा यसरी पौने दुई करोड खर्च गर्न लागिएको छ ।
‘संकटको यो वेला अत्यावश्यक खर्च मात्र गर्ने सरकारी नीति छ,’ सहरी विकास विभागकै एक अधिकारी भन्छन्, ‘तर, राष्ट्रपति कार्यालयका लागि हो भनेपछि हामी बोल्न मिलेन, भएका सामान फालेर नयाँ सामान किन्ने काम भइरहेको छ ।’
राष्ट्रपति कार्यालयमा गलैँचा फेर्ने ठेक्का पाएको हिमालयन डेकोर गण्डकी प्रदेशका नेकपा सांसद रामबहादुर गुरुङको हो । उनी तनहुँ–१ (क) बाट निर्वाचित भएका हुन् ।
त्यस्तै, राष्ट्रपति कार्यालयको बगैँचा सजाउन मात्र वार्षिक ४२ लाख रुपैयाँ खर्च हुने गरेको छ । यो वर्ष बजेट व्यवस्थापनका लागि राष्ट्रपति कार्यालयले प्रितम बगैँचा निर्माण प्रालि, कागेश्वरी मनहरालाई ४२ लाख आठ हजार ६ सय ४० रुपैयाँमा ठेक्का दिएको छ । गत असोजमा नै सो कम्पनीलाई यससम्बन्धी ठेक्का दिइएको स्रोत बताउँछ । राष्ट्रपति कार्यालयमा पहिलेदेखि नै बगैँचा र फूलबारी भए पनि त्यसको व्यवस्थापनका लागि मात्र ४२ लाख खर्च गरिएको हो । तीन वर्षअघि ६८ करोडमा नयाँ भवन बनाइएको थियो ।
नजिकै रहेको प्रहरीको तालिम प्रतिष्ठान तथा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई समेत हटाएर राष्ट्रपति कार्यालय विस्तार गर्न लागिएको छ । राष्ट्रपति कार्यालय अझ फराकिलो बनाउन सँगैको प्रहरी प्रशिक्षण प्रतिष्ठान र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) कार्यालय हटाउन सरकारले ताकेता गरेको छ ।
सिआइबीलाई साउनभित्र अन्यत्र सारेर ठाउँ खाली गर्न ताकेता गरिएको छ, तर सिआइबीको कार्यालय कहाँ राख्ने भन्ने विषयमा सरकारले कुनै पहल गरेको छैन । ‘हामी त सरकारी मान्छे हौँ, जहाँ पठायो त्यही जान्छौँ, तर कहाँ जाने भनेर त सरकारले भनिदिनुपर्यो, कार्यालय झोलामा बोकेर हिँड्न त मिलेन नि,’ सिआइबीका एक अधिकारीले भने ।
त्यस्तै, प्रहरीलाई तालिम दिने सबैभन्दा ठूलो संस्था राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई पनि राष्ट्रपति कार्यालय विस्तारकै लागि विस्थापित गर्न लागिएको छ । राष्ट्रपति कार्यालयका लागि हेलिप्याड तथा बगैंचा बनाउन तालिम प्रतिष्ठान अन्यत्र सार्न खोजिएकोे हो । आफ्नो ऐतिहासिक धरोहर तालिम केन्द्र हटाउन लागिएकोमा पनि प्रहरीको असन्तुष्टि छ । नयाँपत्रिका दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस