दमौली- तनहुँका विभिन्न स्थानीय तहमा बन्दाबन्दी भएसँगै रोकिएका विकास निर्माणका काम शुरु गरिने भएको छ । स्थानीय तहहरुले बन्दाबन्दीको अवधिमा पनि विकास निर्माणका काम शुरु गर्ने अनुमति दिएपछि यसअगाडि नै सम्झौता भएका भौतिक निर्माणका काम शुरु गर्न लागिएको हो ।
जिल्लाको शुक्लागण्डकी नगरपालिकाले बन्दाबन्दीको समयमा पनि भौतिक निर्माणको काम गर्न दिने भएको छ । बन्दाबन्दी अगाडि ल्याइएका निर्माण सामग्री फाल्नुपर्ने अवस्था आउन सक्ने भन्दै पाँच जनासम्म मजदुर खटाएर काम गर्न दिने निर्णय भएको नगरप्रमुख किसान गुरुङले जानकारी दिएका छन् ।
नगरप्रमुख गुरुङका अनुसार सामाजिक दूरी कायम गर्दै सावधानी अपनाएर विकास निर्माणका काम गर्नका लागि अनुमति दिइएको छ । “मौज्दात रहेका निर्माणका सामग्री बिग्रिने अवस्था आउन सक्ने भएकाले सावधानी अपनाएर विकास निर्माणको कामलाई अगाडि बढाउन सकिने निर्णय गरिएको छ”, उनले बताए ।
उहाँका अनुसार विकास निर्माणका कामका लागि ल्याइएका सामग्री मौज्दात नभएमा भने काम गर्न रोक लगाइएको छ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि लकडाउन भएसँगै करिब चार हप्तादेखि विकासका योजनासँगै भौतिक संरचना निर्माणको काम ठप्प छ । मौज्दात रहेको सिमेन्टलगायत निर्माण सामग्रीको हिनामिना हुनसक्ने भएकाले स्थानीय मजदुर प्रयोग गरेर काम गर्न बाटो खुला गरिएको गुरुङले जानकारी दिएका छन् ।
त्यसैगरी जिल्लाको व्यास नगरपालिकाले पनि निर्माणको काम गर्नका लागि बाटो खुला गरेको छ । तनहुँमा नै उपलब्ध निर्माण सामग्री र स्थानीय कामदारको प्रयोग गरी सम्झौता भइसकेका सार्वजनिक निर्माणकार्यलाई अगाडि बढाउन अनुमति दिइएको नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिएका छन् । यस्तै बन्दीपुर गाउँपालिकाले पनि निर्माण प्रक्रियामा रहेका विभिन्न आयोजनाका कामलाई सामाजिक दूरी कायम गर्दै अगाडि बढाउने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाका अनुसार सामाजिक दूरी कायम गरी स्थानीय मजदुर प्रयोग गरी काम गर्न सकिनेछ ।
बन्दाबन्दीकै क्रममा १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको काम सञ्चालन भइसकेको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाका लागि हाल केवल टनेल खन्ने कामलाई निरन्तरता दिइएको छ । आयोजनाका साइट प्रमुख अच्युत घिमिरेका अनुसार क्याम्पभित्रै बसिरहेका मजदुरलाई परिचालन गरेर काम सञ्चालन गरिएको छ । हाल क्याम्पमा २४ चिनियाँ तथा अन्य गरी करिब ५० श्रमिक र प्राविधिक छन् । विद्युत् गृहमा तार लैजानका लागि १८७ मिटर सुरुङ खनिनेछ । उक्त सुरुङ खनेर सकिएपछि ‘मेन एक्सेस टनेल’ निर्माण शुरु गरिनेछ ।
एकान्तबासको क्षमता १८१ : बस्ने जम्मा ३६
कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि विदेश तथा बाहिरी जिल्लाबाट आएकालाई निगरानी गर्नका लागि तनहुँ जिल्लामा १८१ श्यया क्षमताको एकान्तबास बनाइए पनि त्यहाँ बस्ने सङ्ख्या न्यून छ । दश स्थानीय तहले २५ ठाउँमा एकान्तबासको व्यवस्थापन गरेका छन् ।
शनिबारसम्म एकान्तबासमा बस्नेको सङ्ख्या ३६ मात्रै छ । बन्दाबन्दी लम्बिँदै गएपछि नेपालका विभिन्न जिल्ला र भारतबाट घर आउने क्रम नरोकिएपछि जिल्ला प्रशासन कार्यालयले कम्तीमा १४ दिन एकान्तबासमा बस्नुपर्ने निर्णय गरेको थियो । सोहीबमोजिम जिल्लामा आउनेलाई वैशाख ११ गतेदेखि एकान्तबासमा राख्न थालिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीका अनुसार भानु नगरपालिकामा १३, शुक्लागण्डकी नगरपालिकामा चार, घिरिङ गाउँपालिकामा एक, देवघाट गाउँपालिकामा दुई, व्यास नगरपालिकामा १३ र ऋषिङ गाउँपालिकामा तीन जनालाई एकान्तबासमा राखिएको छ । उनीहरु सबैलाई कम्तीमा १४ दिन राखेर मात्रै घर पठाइनेछ । हालसम्म सबैको स्वास्थ्य अवस्था सामान्य छ । “बन्दाबन्दीका क्रममा जिल्ला भित्रिने सबैलाई स्थानीय तहको व्यवस्थापनमा एकान्तबासमा राख्न भनेका छौँ”, अधिकारीले भने, “कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सबै सचेत हुनुपर्छ ।”
२० को स्वाब परीक्षण, १६ को रिपोर्ट नेगेटिभ
कोभिड–१९ को आशङ्कामा तनहुँ जिल्लाका २० जनाको स्वाब परीक्षण गरिएको छ । जिल्लाका विभिन्न ठाउँका सात महिला र १३ पुरुषको स्वाब परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
तीमध्ये व्यास नगरपालिकाका ११, म्याग्दे गाउँपालिकाका दुई, शुक्लागण्डकी नगरपालिकाका एक, ऋषिङका तीन र भीमाद नगरपालिकाका तीन रहेका छन् ।
स्वाब परीक्षण गरिएकामध्ये १६ को रिपोर्ट नेगेटिभ आएको छ भने चार जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले जानकारी दिएका छन् । शङ्कास्पद व्यक्तिको स्वाब परीक्षणका लागि दमौलीस्थित दमौली अस्पतालमा र शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा नमूना सङ्कलनको व्यवस्था मिलाइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस