काठमाडौँ- जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेललगायत मुख्य बजारमा तरकारीको अभाव छ तर लकडाउनका कारण ढुवानी रोकिँदा बारीका तरकारी कुहिएर नष्ट हुन थालेका छन् । जिल्लाका कतिपय कृषकले उत्पादन गरेको तरकारी बिक्री नभएपछि गाई तथा भैँसीलाई कुँडोको रुपमा पकाएर खुवाउने गरेको पाइएको छ ।
अधिकांश खरिद गरेको तरकारी उपभोग गर्ने दिक्तेल बजारका स्थानीय बासिन्दा अहिले चर्को मूल्यमा खरिद गर्न बाध्य छन् । यसअघिसम्म प्रतिकेजी रु ५०÷६० मा पाइने गोलभेँडा लकडाउनका कारण बजारमा नआएपछि अहिले रु १२० मा खरिद गरेर उपभोग गरिरहेका छन् । किनमेल गर्ने सर्वसाधारणका कारण निकै व्यस्त रहने दिक्तेल बजारमा यसअघिसम्म दुई दर्जनभन्दा बढी तरकारी पसल सञ्चालनमा थिए । गाउँ तथा शहरबाट ढुवानी गरेर ल्याउन नपाएपछि अहिले अधिकांश तरकारी पसल बन्द नै भइसकेका छन् ।
छिटपुटरूपमा सञ्चालनमा रहेका तरकारी पसलमा पनि ग्राहकले खोजेको तरकारी पाउन मुस्किल छ । दिक्तेल बजारमा सञ्चालित तरकारी पसलमा अहिले लामो समयसम्म टिक्ने दाल, गुन्द्रुक, सिन्की, भटमासको मस्यौरालगायत मात्र पाइन्छ ।
सरकारले लागू गरेको लकडाउनपछि गाउँ तथा शहरबाट तरकारी नआएपछि पसल नै बन्द गर्नुपर्ने अवस्थामा पुगेको दिक्तेल बजारस्थित सङ्गमपार्कका तरकारी व्यापारी श्याम पौडेलले बताएका छन् । “जिल्लाका तरकारी व्यापारीलाई प्रशासनले सवारी सञ्चालन अनुमति दिएको छैन”, उनले भने, “सवारी सञ्चालन अनुमति दिने हो भने, दिक्तेल बजारमा आवश्यक तरकारी गाउँबाट ढुवानी गरेर ल्याउन सकिन्छ । तर पटक–पटक अनुरोध गर्दा पनि प्रशासनले सवारी अनुमति दिन मानेन ।”
दिक्तेल बजारमा सञ्चालित तरकारी पसलबाट सर्वसाधारणसँगै निजामती कर्मचारी, नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले खरिद गर्दै आएका थिए । ढुवानीका साधन हुने केही पसलबाहेक दिक्तेल बजारका अधिकांश तरकारी पसल स्थानीय कृषकको उत्पादनले सञ्चालन हुँदै आएको थियो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको केन्द्रमा पर्ने दिक्तेल बजारमा हप्ताको दुई दिन बुधबार र शनिबार हटिया लाग्दै आएको थियो । विशेषगरी कृषि उपजहरु (दाल, तरकारी, चामल, फलफूल, कुखुराको भाले, सुँगुरको पाठापाठी आदि) खरिद तथा बिक्री हुने उक्त हटिया डेढ महिनादेखि अनिश्चितकालीन बन्द छ ।
अधिकांश व्यापारी तथा कर्मचारीको बसोबास रहेको दिक्तेल बजारमा अहिले आसपासका कृषकका बारीमै गएर खरिद गरेर ल्याएको तरकारी उपभोग हुने गरेको छ । लकडाउनका कारण दिनभर बन्द हुने दिक्तेल बजारमा सञ्चालित तरकारी पसल भने बिहान ७ देखि १० बजेसम्म खुलाउन प्रशासनले अनुमति दिएको छ ।
लामो समयको लकडाउनका कारण आफूले उत्पादन गरेको काउली मात्रै २५० केजीभन्दा बढी कुहिएर खेर गएको सोल्माका अगुवा कृषक गङ्गाबहादुर विश्वकर्माले बताए । “अहिले सबै कृषकको बारीमा काउली, बन्दा, गोलभेँडालगायतका सागसब्जी बिक्री गर्ने अवस्थामा छ”, उनले भने, “लकडाउनका कारण बजार लैजान नपाएपछि बारीमै कुहिएर गइरहेको छ ।”
अन्यबाली लगाउने जमिनसमेत मासेर तरकारी खेती शुरु गरेका कृषक आफूले उत्पादन गरेको तरकारी लकडाउनका कारण बिक्री गर्न नपाएपछि निरास बनेका छन् । जिल्लाका दिक्तेल, सोल्मा, खाल्ले, लफ्याङ, बाम्राङ, याम्खा, नेर्पालगायतका कृषक व्यावसायिक तरकारी खेतीमा लागेका छन् । जिल्लामा उत्पादित अग्र्यानिक तरकारी राजधानी काठमाडौँलगायत तराईका विभिन्न शहरमा निर्यात हुन थालेको थियो । आफूले उत्पादन गरेको तरकारी बाहिरी जिल्लामासमेत निर्यात हुन थालेपछि जिल्लाका कृषक आधुनिक प्रविधि अपनाएर व्यावसायिक तरकारी खेती गर्न लागिपरेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस