काठमाडौँ – देशभर लकडाउन गरिएको तथा अन्तर्राष्ट्रिय हवाई उडानसमेत प्रतिबन्ध गरिएको अवस्थामा मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिकजसो अन्तर्राष्ट्रिय उडान भएका छन् ।
विश्वलाई सम्पर्क सञ्जालका रूपमा जोड्ने अन्तर्राष्ट्रिय विमानस्थलबाट लकडाउनको अवधिमा ३३ अन्तर्राष्ट्रिय उडान भएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विसं २०७६ चैत १० देखि २०७७ वैशाख १२ गतेसम्म विभिन्न अन्तर्राष्ट्रिय वायु सेवा प्रदायक कम्पनीले ३३ अन्तर्राष्ट्रिय उडान गरेको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिएका छन् । यी सबै उडान चार्टर्ड र केही कार्गो उडान हुन् ।
प्रवक्ता क्षेत्रीका अनुसार लकडाउनको अवधिमा यही वैशाख ८ गतेसम्म चार हजार ५३२ विदेशी नागरिक स्वदेश फर्किएका छन् । शुक्रबार मात्रै श्रीलङ्काले आफ्नो श्रीलङ्कन एयरको चार्टर्ड जहाजमार्फत नेपालमा रहेका ७६ विद्यार्थी स्वदेश लगेको थियो । यी उडानमध्ये सबैभन्दा बढी कतार एयरवेजको नौ, नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को (चार कार्गो र चार उद्धार उडानसहित) आठ, टीटान एयरको तीन, श्री एयरलाइन्सको (सुडान र सिङ्गापुर कार्गो उडान) दुई, बुद्ध एयरको एक र कोरियन एयरको दुई उडान भए । त्यसैगरी भूटानको ड्रक एयर, श्रीलङ्कन, मलेशिया, मालिन्दो, इत्तिहाद, चेक रिपब्लिकन, रोयल फ्लाइट एयर र जर्नी एयरलाइन्सको समान एक–एक उडान भएका छन् ।
यसबीचमा विशेषगरी युरोपेली मुलुक जर्मनी, फ्रान्स, न्यूजील्याण्डलगायतका मलेशिया, श्रीलङ्का, माल्दिभ्स, रुस, चेक रिपब्लिकन, अमेरिका र बेलायतका नागरिक घर फर्किएका हुन् । नेपाल पर्यटन बोर्डले सरोकारवाला निकायसँगको समन्वयमा उनीहरुलाई नेपालका विभिन्न गन्तव्यबाट उद्धार गरी काठमाडौँ ल्याउन सहजीकरण गरेको थियो । सम्बन्धित मुलुकका नेपालस्थित दूतावासले नेपालको परराष्ट्र मन्त्रालयसँगको समन्वयमा आफ्ना नागरिकलाई चार्टर्ड उडान गरी स्वदेश लगेका हुन् ।
लकडाउनको अवधिमा राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको वाइडबडी जहाजले उड्डयन इतिहासकै लामो उडान अष्ट्रेलियाको ब्रेश्वन शहरमा गत चैत १९ गते चार्टर्ड उडान भरेको थियो । त्यस्तै चैत २८ गते जापानको नारितामा उडान भरेको थियो । भारतको नयाँदिल्ली र बङ्गलादेशको ढाकामा पनि निगमको न्यारोबडी जहाजले उडान भरेको थियो । चीनको ग्वाङ्जाओमा निगमका वाइडबडी जहाजले चार कार्गो उडान गरेको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३० वायुसेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन्। आन्तरिकतर्फ पनि लकडाउनको अवधिम उल्लेख्य सङ्ख्यामा कार्गो र उद्धार उडान भएका छन् । आन्तरिकमा १० हेलिकोप्टर कम्पनीसहित १९ वायुसेवा प्रदायकले उडान गर्छन् । कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएसँगै नेपालमा कोभिडको सङ्क्रमण फैलिन नदिन सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन गरेको छ । पछिल्लोपटक वैशाख १५ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको थियो । वैशाख १८ सम्म अन्तर्राष्ट्रिय हवाई उडान स्थगन गरिएको छ । आन्तरिक उडान पनि स्थगन भएका छन् ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले चैत १० देखि लागू हुने गरी चैत ९ गते नेपालमा उडान भर्ने सबै अन्तर्राष्ट्रिय हवाई उडानमा प्रतिबन्ध लगाएको थियो । समितिले पछिल्लोपटक वैशाख १८ सम्म अन्तर्राष्ट्रिय हवाई उडान प्रतिबन्ध लम्ब्याउने निर्णय गरेको थियो ।
सरकारले जारी लकडाउनको ढाँचा परिवर्तन गर्ने गृहकार्य गरिरहेको विभिन्न सञ्चारमाध्यमले उल्लेख गरिरहेको सन्दर्भमा लकडाउनको अवधि थपिने या नथपिने अर्थात् लकडाउनलाई कस्तो ढाँचामा लैजाने भन्नेबारे यकिन भएको छैन । तथापि राजधानी काठमाडौँको लकडाउनलाई केही खुकुलो बनाउने सरकारले सङ्केत गरिसकेको छ । लकडाउन खुकुलो भए पनि अन्तर्राष्ट्रिय उडानको प्रतिबन्ध कायमै रहने सम्बद्ध अधिकारीले बताए ।
नियामक निकाय प्राधिकरणले पनि तत्कालै अन्तर्राष्ट्रिय उडान खुल्ने अवस्था नरहेको जनाएको छ । मुलुकको आन्तरिक उडान भने निश्चित मापदण्डका आधारमा सञ्चालन गरिने बताइएको छ । यद्यपि वैशाख १५ पछि आन्तरिक उडान खुलाउनेबारे सरोकारवाला निकायबीच छलफल भइरहेको छ । प्राधिकरणका प्रवक्ता क्षेत्रीले आन्तरिक उडान खुलाउनेबारे वायुसेवा सञ्चालक सङ्घलगायत सरोकारवालासँग छलफल चलिरहेको तर कसरी र कुन मितिदेखि उडान सञ्चालन गर्ने भन्नेबारे कुनै निष्कर्षमा पुगिनसकेको बताए ।
छिमेकी मुलुक भारतमा पनि लकडाउन चलिरहेको र अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध गरिएको अवस्थामा नेपालले पनि तत्काल उडान सञ्चालन गर्ने अवस्था नरहेको अधिकारीको बुझाइ छ । भारतीय एयर इण्डियालगायत एयरलाइन्सहरुले मे ४ देखि आन्तरिक र जुन १ देखि अन्तर्राष्ट्रिय उडानका लागि टिकट बुकिङ खुलाउने निर्णय गरे पनि त्यहाँको मिनिष्ट्री अफ सिभिल एभिएशनले जुलाइ महिनासम्म बुकिङ नखुलाउन निर्देशन दिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस