काठमाडौं – तत्कालीन एमालेको मजदुर संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का पूर्वअध्यक्ष विष्णु रिमाल अहिले प्रधानमन्त्री केपी ओलीका मुख्य सल्लाहकार छन् ।
दुई दशकभन्दा बढी मजदुर संगठनमै बिताएर राजनीतिक भर्याङ चढ्दै गएका उनी सत्तारूढ नेकपाको स्थायी समिति सदस्यसँगै जिफन्टको सल्लाहकार पनि छन् । मुलुकको वागडोर सम्हालिरहेका प्रधानमन्त्री ओलीको मुख्य सल्लाहकार रिमाल शक्ति र पहुँचका हिसाबले पनि सर्वोच्च तहमै छन् ।
रिमालले चाहे भने लकडाउनबाट सबैभन्दा बढी प्रताडित मजदुर वर्गको उद्धार, राहत र रोजगारीको सुनिश्चितताका लागि जुनसुकै भूमिका खेल्न सक्छन् । किनभने उनले प्रधानमन्त्रीलाई मात्र होइन, प्रशासनिक निकाय र सुरक्षा अंगलाई दिने सल्लाह–सुझाबले देशभरका मजदुरले तत्काल सुखद परिणामको अनुभूति गर्न सक्छन् ।
तर, विडम्बना १ यतिवेलै मजदुरहरू राहतको पोकोभन्दा कष्टको भारी बोक्न बाध्य छन् । सहरका औद्योगिक प्रतिष्ठान र ठेकेदारहरूले हदैसम्मको गैरजिम्मेवार व्यवहार गर्दै कामबाट निकालेका, खाने–बस्ने जोहोसमेत नभएका हजारौँ मजदुरले बाँच्नका लागि कठिन संघर्ष गर्नुपरेको छ । निरुपाय बनेका उनीहरू भोकभोकै सयौँ किलोमिटरको यात्रामा पैताला खियाइरहेका छन् ।
रिमाल मात्रै होइन, तत्कालीन नेकपा (माओवादी केन्द्र)को मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघको अध्यक्ष रहेका शालिकराम जमकट्टेल पनि अहिले सत्ता र शक्तिको केन्द्रमै छन् ।
उनी बागमती प्रदेशमा मुख्यमन्त्रीपछिको दोस्रो वरीयताका मन्त्री हुन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी सम्हालेका उनले गृह, कानुनदेखि सञ्चार तथा सूचना प्रविधिसम्मका मामिला हेर्दै आएका छन् ।
तत्कालीन माओवादीको सबैभन्दा बलियो संगठन मानिने मजदुर फाँटबाट राजनीतिमा उदाएका जमकट्टेल अहिले नेकपाको केन्द्रीय सदस्य र धादिङको इन्चार्जको जिम्मेवारीमा पनि छन् ।
संगठनको नेतृत्वमा रहँदा मजदुरको पेसागत हक सुरक्षित गर्न सडक आन्दोलनको अग्रपंक्तिमा देखिने जमकट्टेलले मजदुरहरू निकालिँदा थुप्रै औद्योगिक प्रतिष्ठानमा तालाबन्दी गर्नेदेखि ठेकेदारलाई झुक्न बाध्य पार्नेसम्मका काम गरेर चर्चा बटुलेका थिए । तर, देशभरिका मजदुरलाई सबैभन्दा ठूलो सहयोग चाहिएका वेला भने उनी मौन छन् ।
लकडाउनका कारण हजारौँ मजदुर बेरोजगार बनेर भोकभोकै हिँड्न विवश हुँदा पनि जमकट्टेल गुमनामजस्तै बसेका छन् । आफू सरकारको नेतृत्वमै रहेको बागमती प्रदेशभित्रका मजदुरका पक्षमा समेत उनले कुनै भूमिका देखाएका छैनन् ।
त्यसो त मजदुरको राजनीति गरेर सांसद, मन्त्री बन्नेदेखि पार्टीको केन्द्रीय भूमिकामा पुग्ने नेताहरूको संख्या सत्तारुढ नेकपामा एक दर्जनभन्दा बढी छ । मजदुरकै नाममा राजनीति गरेर उनीहरूले पद र प्रतिष्ठा मात्रै प्राप्त गरेका छैनन्, सामान्य आम्दानीको भरमा करोडौँका महल पनि ठड्याएका छन् ।
तर, लकडाउन लम्बिएर मजदुरको दैनिकी कष्टकर बनिरहँदा उनीहरूको भूमिका भने शून्यप्रायः देखिन्छ । यही कारणले रिमाल र जमकट्टेलसहित मजदुर पृष्ठभूमिबाट आएका नेताहरूको अहिले सामाजिक सञ्जालमा आलोचना पनि भइरहेको छ । नयाँपत्रिका दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस