काठमाडौं-काठमाडौंको वनस्थलीस्थित राष्ट्रिय मिर्गौला उपचार केन्द्रछेवैको सानो टहरामा एक दर्जन मिर्गौला बिरामीको वास छ । शनिबार नयाँ पत्रिकाकर्मी पुग्दा उनीहरू आँगनमा साँझपखको घाम तापिरहेका थिए ।
अधिकांश बिरामीको अनुहार सुन्निएको छ । साताको दुईपटक गरेर आठ घन्टा नियमित डायलाइसिस गर्नुपर्ने उनीहरूले लकडाउनपछि चार घन्टा मात्रै सेवा पाइरहेका छन्, जसले गर्दा रोगले च्याप्दै गएको छ । बिरामीका कुरुवा र परिवारका सदस्यलाई यसले थप पिरोलेको छ ।
यिनैमध्येकी एक हुन् रुकुम ज्यामिरकोटकी मीना मल्ल । १४ वर्षीय छोरो गणेशको नियमित डायलाइसिस गराउन उनी दुई वर्षदेखि श्रीमान्सँगै यहाँ बसिरहेकी छिन् । गणेशको एउटा मिर्गौला काम नलाग्ने भएपछि यसअघि नै निकालिसकिएको छ । बचेको अर्को मिर्गौला डायलाइसिसको भरमा चलेको छ । तर, लकडाउनयता डाइलाइसिस सेवा पनि आधा मात्रै पाउन थालेपछि आमा मीनाको मन अत्तालिएको छ । ‘कोठाबाट बाहिर निस्कन पनि मन लाग्दैन । न निद्रा लाग्न, न खाना रुच्छ । चिन्ताले मन मात्रै आत्तिएको छ,’ उनले भनिन् ।
मीनाका छोरालाई दुई वर्षअघिको फागुनमै मिर्गौलाको समस्या देखिएको थियो । तर, मेसो पाइनन् । श्रीमान् परु मल्ल रोजगारीका लागि भारतमा थिए । गाउँमा भएजति धामी, झाँक्री सबैलाई देखाइन्, तर उनीहरूले सन्चो बनाउने सम्भवै थिएन । रोगले च्याप्दै गएपछि एक रात त उनका छोरा बेहोस नै भए । ‘रातिको २ बजे छोरो बेहोस भएर मरेजस्तै भयो,’ मीनाले सम्झिइन्, ‘मसँग मोबाइल त थियो, तर अरूको नम्बर लगाउन जान्दिनँ थिएँ । त्यो रात छटपटाएरै बितायौँ । अर्को बिहान छोरालाई तीन घन्टा बोकेर गाडी चढ्ने ठाउँसम्म ल्याएर नेपालगन्ज अस्पताल पुर्याएँ ।’
त्यहीँबाट सुरु भयो मीनाको छोरो बचाउने संघर्षको यात्रा । नेपालगन्ज अस्पतालले काठमाडौं रेफर गरेपछि शिक्षण अस्पताल पुगिन् । करिब एक महिना आइसियूमा राखेपछि गणेशलाई होस आयो । छोराले आँखा खोलेपछि मीनाको मन पनि केही हलुँगो भयो । तर, उनको खुसी धेरैबेर टिकेन । डाक्टरले ‘छोराको दुवै मिर्गौला खराब छ, एउटा त झिकेर फाल्नुपर्छ, अर्को फेर्नुपर्छ’ भनेपछि उनी छाँगाबाट खसेझै भइन् ।
मीनासँग डाक्टरले सुझाएको नगर्नुको विकल्प पनि थिएन । जेनतेन एक लाख २५ हजार ऋण काढेर छोरोको बिग्रेको मिर्गौला फालिन् । ‘भएको पैसा नेपालगन्ज र काठमाडौंमा उपचार र आउजाउ गर्दैमा सकिइसकेको थियो,’ मीना दुस्खको फेहरिस्त सुनाउँछिन्, ‘हारगुहार गरेर छोराको एउटा मिर्गौला फाल्न ऋण काढेरे पैसा जम्मा गर्यौँ ।’ अर्को चुनौती अझै पहाडझै अगाडी नै थियो, मृगौला प्रत्यारोण गर्न पैसाको जोहो गर्नु ।
त्यसयता मीनादम्पतीको बसाइ काठमाडौंमै छ । लकडाउन नभएको भए उनीहरू अहिले छोराको मिर्गौला प्रत्यारोपणका लागि पैसा ऋण खोज्न संघर्ष गरिरहेकी हुन्थे । डाक्टरले मीनाको मिर्गौला छोरालाई दिन मिल्ने बताइसकेका छन् । मिर्गौला दानका लागि सबै जाँच पनि भइसकेको छ । कुरा पैसामा अड्किएको छ । डाक्टरले मिर्गौला प्रत्यारोपण गर्न सात–आठ लाख खातामा ठिक्क पारेर आउनु भनेका छन् । त्यत्रो रकम जुटाउन मिनालाई त्यसै महाभारत छ । झन लकडाउनले छोरोका ज्यान बचाउने सञ्जिवनी डायलाइसिसमा समेत कमी गरिदियो । नयाँपत्रिका दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस