भक्तपुर – सम्भावित कोरोना सङ्क्रमितको उपचारका लागि आइसोलेशन वार्ड तयार पारेका अस्पतालका चिकित्सक एवं स्वास्थ्यकर्मीले सुरक्षाको प्रत्याभूतिको माग गरेका छन् । शङ्कास्पद बिरामी अस्पताल आएमा उपचार गर्न विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्ड अनुसारको सुरक्षाको व्यवस्था नभए अस्पतालले आइसोलेशन वार्ड तयार पारे उपचारमा स्वास्थ्यकर्मी नखटिने चिकित्सकहरुले बताएका छन् ।
पहिला सुरक्षा गर्न सके मात्रै सङ्क्रमित बिरामीको उपचार गर्न सकिने बताउँदै चिकित्सकहरुले सरकारले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार सुरक्षाका लागि सबै व्यवस्था गर्नुपर्ने बताएका हुन् । मध्यपुरथिमिमा सञ्चालित मध्यपुर अस्पतालकी प्रसूति रोग विशेषज्ञ एवं चिकित्सक डा रबिना प्रधानाङ्गले अस्पतालमा कोरोना सङ्क्रमितको आशङ्काका बिरामी आएमा मेडिकल टोली नै भाग्नुपर्ने अवस्थाको सृजना हुन नहुने बताएकी छिन ।
मध्यपुर अस्पतालले चार श्ययाको आइसोलेशन वार्ड तयार पारेर राखे पनि मेडिकल टोलीसँग आफू सुरक्षित छु भन्ने विश्वस्त पार्नेगरी व्यवस्था हुन नसके बिरामीको उपचारमा समस्या आउने उनले बताए । उनले भनिन, “उपचारमा खटिने स्वास्थ्यकर्मीको टिम पहिला सुरक्षित महसुस हुनु प¥यो, आफ्नै ज्यान जोखिममा छ भन्ने जान्दाजान्दै बिरामीको नजीक जाने आँट कसैले गर्दैन, आवश्यक सुरक्षाका सबै पूर्वाधार एवं सामग्री तयारी अवस्थामा हुनुप-यो ।”
आफ्नो अस्पतालमा सामान्य मास्क र ग्लोभ्स समेत सकिएर किन्न खोज्दा बजारमा कहीँ नपाएको बताउँदै उनले अस्पतालका सबै स्वास्थ्यकर्मीले कपडाको मास्क लगाएर सेवामा खटिनु परेको बताए । अस्पतालमा आइसोलेशन वार्ड मात्रै भएर के गर्नु, डाक्टर छिरेर काम गर्ने अवस्था आएन भने के मोबाइल र अनलाइनबाट उपचार गर्ने ? भन्दै डा प्रधानाङ्गले भने, “कोरोनाको बिरामी आए उपचार गर्ने सरकारको पूर्ण तयारी खै, साधारण मास्क छैन, सङ्क्रमितको उपचार गर्दा लगाउने एन नाइन्टी मास्क खै ?, पिपिई सेट खै ? मेडिकल टोलीको सुरक्षाका लागि खै व्यवस्था ?, मेडिकल टोलीको सुरक्षाको जिम्मा कसले लिन्छ ?”
कोरोना सङ्क्रमितको उपचार गर्दा लगाइने पोसाक (पिपिई–पर्सनल प्रोटेक्शन इक्विप्मेन्ट) बजारमा कतै नभएको र सरकारले समेत उपलब्ध गराउन नसकेको अवस्थामा सुरक्षित भएर काम गर्न नसकिने चिकित्सकको भनाइ छ । धेरै पाठ सिक्नुपर्ने औल्याउदै उनले कोरोना सङ्क्रमितको उपचार अरू बिरामीको उपचार नहुने निश्चित तोकिएको अस्पतालमा मात्रै गर्नुपर्ने र मेडिकल टोलीको पूर्णसुरक्षाको अनुभूति गराउँदै निश्चित समयका लागि उपचार केन्द्रमै बस्ने गरी व्यवस्थापन हुनुपर्ने भनाइ राखेकी छिन ।
नागरिक अस्पतालकी नर्सिङ इन्चार्ज सुन्दरी जोशीले अस्पतालमा ज्वरो नाप्ने थर्मल गनदेखि मास्क समेत नभएको बताए । उनले रु चार हजार पर्ने एउटा थर्मल गनको बजारमा नौ हजार भनेको बताउँदै पिपिईसमेत नभई आइसोलेशनमा बिरामी उपचार गर्न नसकिने बताएका छन् । सङ्क्रमित बिरामीको उपचारमा खटिएका व्यक्तिलाई घर जान दिइने हो भने घरपरिवार र अन्य व्यक्तिलाई पनि सङ्क्रमण हुने जोखिम उच्च रहने भएकाले यसबारेमा विशेष ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीको माग छ ।
यता धुलिखेल अस्पताललाई कोरोना सङ्क्रमितको उपचार गर्ने अस्पताल बनाउने सरकारले तयार गरेपछि यहाँ स्वास्थ्यकर्मीदेखि कर्मचारी समेत त्रसित भएका छन् । आज कोरोना आशङ्काका एक बङ्गलादेशी आएको र उसलाई ज्वरो देखिएपछि टेकु अस्पताल पठाइएको अस्पतालको आकस्मिक शाखाले जानकारी दिएको छ । अस्पताललाई कोरोना सङ्क्रमित बिरामीको उपचार केन्द्र बनाउने भनिए पनि अस्पतालमै सिलाएको कपडाको मास्क र कपडाकै गाउन लाएर स्वास्थ्य परीक्षण गर्नुपर्ने बाध्यता भएपछि यहाँका कर्मचारीसमेत त्रसित भएको आशिश थापाले बताए । ज्वरो नाप्न ढोकादेखि नै कर्मचारी खटाए पनि अस्पताल प्रशासन र शाखाप्रमुखले सम्भावित जोखिमलाई गम्भीर रुपमा नलिँदा कर्मचारीमै जटिल समस्या आउन सक्ने र ढुक्क भएर साँझ घर जान सक्ने अवस्था नभएको उनको गुनासो छ ।
कोरोना सङ्क्रमितको उपचार गर्ने भए निश्चित टोली बनाएर २४ घण्टा त्यही बस्ने र उपचार गर्ने गरी चीनले गरेको व्यवस्था अनुसार गर्नुपर्ने यहाँका कर्मचारी र स्वास्थ्यकर्मीको भनाइ छ । अस्पताल प्रशासनले कर्मचारीको बेवास्ता गरेको गुनासो गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस