काठमाडौं – कोरोना भाइरसको विश्वव्यापी महामारी रोक्न भारतले आइतबार राति १२ देखि लागू हुने गरी नेपाल, भुटान, बंगलादेश र म्यानमारका सीमानाका बन्द गर्ने निर्णय गरेको छ ।
भारतीय गृह मन्त्रालयको फरेनर्स डिभिजनअन्तर्गतको अध्यागमन सेक्सनका तर्फबाट उपसचिव समिम अहमदद्वारा शुक्रबार साँझ जारी सूचनामा नेपालीहरूको आवतजावत प्रभावित नहुने स्पष्ट पारिएको छ । भारतले नेपालका चारसहित चार मुलुकका २० नाकाबाट विदेशी यात्रुहरूको आवागमन बन्द गर्नेछ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क मुलुकका नेतृत्वबीच कोरोना नियन्त्रणका लागि कठोर रणनीति तय गर्न सहकार्य गर्नुपर्ने धारणा सार्वजनिक गरेकै दिन भारतले नेपाली र भुटानी नागरिकबाहेकका लागि सबै सीमानाका बन्द गरेको हो । नेपाल जोडिएका उत्तराखण्डको बनबासा, उत्तर प्रदेशको सुनौली, बिहारको रक्सौल र पश्चिम बंगालको रानीगन्ज नाकाबाट अनिश्चितकालका यात्रु ओहोरदोहोर बन्द गरिने उल्लेख छ ।
भारतीय कूटनीतिक स्रोतका अनुसार नेपालबाट भारत जाने तेस्रो मुलुकका यात्रुलाई मात्रै बन्देज लगाइएको हो । नेपाली नागरिकको हकमा यसले फरक पर्दैन । यो नियम कार्यान्वयनका क्रममा आइतबारदेखि आउने जटिलतालाई छलफलका आधारमा समाधान गर्ने बचन भारतले नेपाली कूटनीतिक च्यानललाई जानकारी दिएको छ ।
भारतद्वारा जारी सातबुँदे सूचनाको चौथो बुँदामा भनिएको छ, ‘नेपाल र भुटानका सीमा नाकाहरूका सन्दर्भमा हवाईमाध्यमबाट वा उल्लेखित ९बनबासा, सुनौली, रक्सौल र रानीगन्ज० नाकाहरूको एकीकृत जाँचबाट आवागमनमा यो नियमले केही प्रभाव पार्ने छैन । यी नाकामा स्वास्थ्य जाँचको बन्दोबस्त गरिएको पनि भारतीय सूचनामा उल्लेख छ । भारतले यो जानकारी कूटनीतिक च्यानलमार्फत नेपाललाई दिइसकेको पनि बुझिएको छ ।
शुक्रबार जारी सूचना बनबासा, सुनौली, रक्सौल र रानीगञ्ज नाकाबाट मात्रै नेपाली र भारतीय नागरिकको आवागमन हुनुपर्नेछ । नेपालले भारतलाई जोगबनी र रुपेडिया नाकाबाट पनि आवागमनका लागि सहयोग गर्न कूटनीतिक च्यानलमार्फत आग्रह गरेको छ । यीबाहेकका नाकाबाट नेपाली र भारतीय नागरिकलाई ओहोरदोहोरका लागि कोरोना नियन्त्रण नभइन्जेलका लागि रोक लगाइनेछ ।
कूटनीतिक स्रोतले नयाँ पत्रिकासँग भन्यो, ‘नेपाली र भारतीय नागरिकलाई एकअर्को देशमा आवतजावतका लागि अहिले चार नाका तोकिएको छ । थप दुई नाकाका लागि नेपालले पहल गरेको छ । दुवै देशका नागरिकले परिचयपत्र बोक्नुपर्ने छ र सीमानाकामा अनिवार्य स्वास्थ्य जाँच गराउनुपर्नेछ ।
भारतले बिहीबार सबै पर्यटक भिसा बन्द गरेको थियो भने नेपालीहरूको आवतजावत यथावत् हुने स्पष्ट पारेको थियो । नेपाल–भारत नाकाबाट विदेशी नागरिकको प्रवेश बन्द गरेको तथा ३ फागुनपछि इटाली, इरान, चीन, दक्षिण कोरिया, स्पेन, फ्रान्स र जर्मनी पुगेर भारत फर्केकालाई १४ दिन क्वारेन्टाइनमा राख्ने पनि सूचनामा उल्लेख छ । यी देशमा कोरोना भाइरस फैलिएको भन्दै भारतले आवतजावत र उडान बन्द गरिसकेको छ ।
आसाम, बिहार, मेघालय, मिजोरम, त्रिपुरा, उत्तरप्रदेश, उत्तराखण्ड र पश्चिम बंगाल राज्यसँग नेपाल, भुटान, बंगलादेश र म्यानमार जोडिएका छन् । बंगलादेश र म्यानमारका नाकाबाट त्यहाँका नागरिकको आवागमन भारतले बन्द गर्नेछ । भारतले स्थलमार्गका अध्यागमनबाट सबै भिसा (नेपाली र भुटानीबाहेकका नागरिक) लाई बन्द गरिसकेको छ । सीमावर्ती हाटबजारमा विदेशीहरूको आवागमनलाई भारतले रोक लगाएको सूचनामा उल्लेख छ । नयाँपत्रिका दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस