काठमाडौँ – कार्यक्रमको तालिका पूर्वनिर्धारित नै हो तर तालिकामा पार्टीको समीकरणभित्र दुई भागमा बाँडिएका दुईरदुई जना नेता सहभागी हुनु संयोग थियो ।
त्यसैले पनि बिहीबार काठमाडौंमा भएको नेकपा वाग्मती प्रदेशस्तरीय प्रशिक्षण उद्घाटन कार्यक्रममा पार्टी अध्यक्षहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र सचिवालय सदस्य ईश्वर पोखरेल सहभागी हुने भएपछि पछिल्लो राजनीतिक घटनाक्रमबारे केही जानकारी आउँछ कि भन्ने अपेक्षा नेकपा कार्यकर्ताको थियो ।
त्यसैले कार्यक्रमको सुरुमै वाग्मती प्रदेश कमिटीका सहइन्चार्ज हितमान शाक्यले भने, ‘नेताहरूको कुरा र निर्णयबारे बेलाबेला बाहिर आउने चिजले हाम्रो दिमाग खराब गर्छ ।’
शाक्यको अभिव्यक्ति चार दिनदेखि उतारचढावपूर्ण रहेको नेकपाको आन्तरिक राजनीतिप्रति लक्षित थियो । हुन पनि उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने र राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधन गर्न बहसमा नेतृत्व विभाजित भएपछि त्यसको तरंग नेकपाको कार्यकर्ता पंक्तिमा पुगेको थियो तर झन्डै चार घण्टा चलेको उद्घाटन सत्रमा नेताहरू यसरी प्रस्तुत भए कि नेकपाभित्र कुनै समस्या छैन, नेतृत्व एकताबद्ध छ ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पार्टीसँग व्यापक र सुदृढ संगठन भएको दाबी गर्दै एकता नखलबलिने बताए । ‘हाम्रो संगठन मजबुत छ, हामी कार्यकर्ताको बलमा टिकेका छौं,’ उनले भने, ‘हामी मान्छे अलमल्याउने खेलमा छैनौं, देश बनाउने संकल्पका साथमा अघि बढेका छौं ।’ पार्टी नेतृत्वविरुद्ध पार्टीभित्रका नेताले चाहिँदो नचाहिँदो लेखेर प्रचारबाजी गरेको आरोप भने अध्यक्ष ओलीले लगाए ।
‘पार्टीको आफ्नै कुनै सञ्चार माध्यम छैन, नेताहरूका आआफ्ना सञ्चार माध्यम छन्, उनीहरू आफ्ना नेताविरुद्ध क्रियाशील छन्,’ उनले भने, ‘लेखेर पार्टीको खोइरो खन्ने काम भएको छ, यो कुनै बहादुरी होइन, समय क्रममा त्यस्ता कुराको पार्टीले मूल्यांकन गर्छ ।’ पार्टीको आन्तरिक राजनीतिबारे संक्षिप्त भनाइ राखेका ओलीले आफ्नो जन्मदिन र पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरणको बचाउमा भने केही समय खर्चिए ।
ओलीले बुधबार सचिवालय बैठकले गरेको उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनयनका लागि सिफारिस गर्ने निर्णयप्रति असन्तुष्टि जनाएका थिए । आफ्नै अध्यक्षतामा बसेको निर्णयलाई आफैंले नमान्ने चुनौती उनले दिएपछि पार्टीभित्र पछिल्लो समय देखिएको समीकरणप्रति धेरैको चासो थियो तर अरू नेताले पनि प्रशिक्षण उद्घाटनमा त्यो विषय उप्काएनन् । पार्टीभित्र व्यापक विवाद छ भन्नेमा भने सबैजसो नेता एकमत देखिए ।
अध्यक्ष दाहालले दुई अध्यक्षबीच बेलाबेला विवाद हुने स्वीकार गर्दै यही कारण पार्टी भने नफुट्ने जिकिर गरे । टुटफुट र आरोपप्रत्यारोपसहितको नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास प्रस्तुत गर्दै उनले नेतामा अलिअलि विवाद हुनु अस्वाभाविक नभएको बताए ।
‘नेकपा जमेको पानीपोखरीजस्तो होइन, गडगडाउने नदीजस्तो हो,’ अध्यक्ष दाहालले भने, ‘नेताहरू एउटै भइदिएहुन्थ्यो, मिलेर, शान्त भएर मिलेर हिँडे हुन्थ्यो भन्ने धेरैलाई लाग्न सक्छ । एकताबद्ध हुन कोसिस गर्ने हो । जुन दिन पार्टी विवादरहित र शान्त बन्छ, त्यो दिनबाट पार्टी चाहिन्न ।’
आजभोलि अध्यक्षहरूबीच केही पो भइरहेको छ कि भन्ने कार्यकर्तालाई परेको बताउँदै दाहालले विवाद गर्ने अध्यक्षले नै समाधान पनि खोज्ने दाबी गरे । ‘पार्टीमा भुमरी परिरहन्छ । पार्टी भत्किन्छ, फुट्छ । विवादरहित र शान्त भएपछि साम्यवाद आउँछ, त्यसपछि पार्टी चाहिन्न,’ उनले भने, ‘हाम्राबारे मिडियामा आएका कुराको पछाडि कमरेडहरू नलाग्नुहोला ।’
पछिल्लो समय विशेष गरी गत पुस २३ गते उपाध्यक्ष गौतम निवास भैंसेपाटीमा भएको गुट भेलापछि नेकपाभित्रको समीकरण स्पष्टै देखिएको छ ।
त्यसपछि नै सभामुख चयन, अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसी, संविधान संशोधनलगायत विषयमा अध्यक्ष ओली र दाहाल पक्षमा स्पष्टै कित्ताकाट देखिएको छ ।
त्यसपछि पनि ओली समूह र दाहाल समूहले बारम्बार रणनीतिक बैठक भेला गर्दै आएका छन् । कान्तिपुर दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस