काठमाडौं – नेपाल आयल निगमकोे सिनामंगलस्थित सबैभन्दा ठूलो हवाई इन्धन डिपोमा तेल बोकेर आउने सबै ट्यांकरको ताला खोल्ने साझा साँचो मास्टर की हराएको छ । साँचो हराएको पुष्टि १९ माघमा भएको हो । तर, अहिलेसम्म भेटिएको छैन ।
हराएको ‘मास्टर की’ले भारतीय आयल कर्पोरेसन आइओसी को रक्सौल डिपोदेखि सिनामंगलस्थित निगमको हवाई इन्धन डिपोमा तेल ओसार्ने एक सय ८१ ट्यांकरको ताला खुल्छ । त्यस्तै, बागमती प्रदेशमा इन्धन वितरण गर्ने थानकोट डिपोका दुई सय ट्यांकरको लक पनि सोही साँचोले खोल्न मिल्छ ।
साझा साँचो हराएको संयोग ट्यांकर चालकको माग सम्बोधन भएको समयसँग मिलेको छ । तापक्रम नोक्सानीबापत तेलको जति परिमाण देखाए पनि निगमले छुट दिने लिखित सहमति १४ माघमा आयल निगम र ट्यांकर चालकबीच भएको थियो । सिनामंगल डिपोमै तेल ओसार्दै आएका ट्यांकर चालकले राखेको माग निगमले सम्बोधन गरेको थियो । त्यसको ५ दिनपछि साँचो हराएको पत्ता लागेको हो ।
साँचो चालकको हातमा परेको भए आइओसीबाट तेल बोकेर आउनले ट्यांकर बाटैमा रोकेर केही परिमाण तेल चोर्न सहज भएको छ । चोरी गरेको तेल परिमाणलाई चालकले तापक्रम नोक्सानीमा देखाइदिन सक्छ । यसकारण साँचो चालककै हातमा पुगेको अनुमान छ ।
‘ट्यांकरको प्रत्येक चेम्बरमा केही परिमाण तेल झिक्यो भने अहिले कारबाही नहुने व्यवस्था छ । त्यसैले हराएको साँचो ट्यांकर चालकको हातमा पुगेको हुनुपर्छ,’ निगमको केन्द्रीय कार्यालयका एक कर्मचारीले भने ।
१ चैत ०७४ देखि तेल चोरी गर्न नमिल्ने लकिङ लगाउन थालेपछि चालकहरूले विरोध गरेका थिए । हवाई इन्धन डिपोमै इन्धन ओसार्ने चालक संगठनका अध्यक्ष पशुपति पाठकले त इन्धन चोरी गर्न पाउनुपर्ने भन्दै सार्वजनिक मञ्चबाटै उद्घोष गरेका थिए । तत्कालीन निमित्त प्रमुख सुशील भट्टराईले पनि लकिङलाई साथ दिन अनुरोध गर्दै चालकहरूलाई केही न केही सुविधा दिने आश्वासन दिएका थिए ।
साँचो हराएको विषयमा छानबिन गर्न नायब प्रबन्ध निर्देशक विशाल ओझाको संयोजकत्वमा २३ माघमा कमिटी गठन भएको छ । तर, यो कमिटीले अहिलेसम्म चोरी घटनाबारे ठोस प्रमाण फेला पारेको छैन । कमिटीको सदस्यसमेत रहेका प्रवक्ता वीरेन्द्र गोइतले छानबिनकै क्रममा रहेकाले सबै कुरा भन्ने अवस्थामा नरहेको बताए ।
‘मास्टर की हराएको सुन्दा हामी पनि अचम्मित छौँ । यस्तो संवेदनशील साँचो हराउनु नै अपराध हो । त्यसैले हामीले यो घटनालाई गम्भीरताका साथ सूक्ष्म ढंगले अध्ययन गरिरहेका छौँ,’ उनले भने, ‘छानबिन सकिएपछि सबै कुरा बाहिर ल्याउँछौँ ।’
स्रोतका अनुसार डिपो प्रमुख महेशमान श्रेष्ठको कार्यकक्षमा पासवर्डसहितको गोदरेज दराजमा दुईवटा मास्टर की राखिएको थियो । त्यसमध्ये एउटा हराएको हो । ‘प्रत्येक डिपोमा स्पेयरसहितको मास्टर की राखिएको हुन्छ, सिनामंगलमा रहेका दुईमध्ये एउटा हराएको हो,’ स्रोतले भन्यो । प्रत्येक ट्यांकरमा रहेको ताला खोल्न अलग्गै साँचो पनि हुन्छ । तर, त्यस्तो साँचोले एउटाबाहेक अर्को ताला खुल्दैन ।
‘मास्टर की नितान्त डिपो कर्मचारीले प्रयोग गर्ने गरी बनाइएको हो । त्यसैले यो भुलवश हराउने भन्ने कुरै हुँदैन,’ स्रोतले भन्यो । टैंक ट्रक लकिङ प्रणालीसम्बन्धी कार्यविधि, ०७४ मा उल्लेख भएअनुसार मास्टर की गोप्य पासवर्डसहितको दराजमा राख्ने गरिएको छ ।
‘मास्टर की राखिएको दराजको पासवर्ड डिपो प्रमुखलाई मात्र थाहा हुन्छ, अरूलाई थाहा हुन्न,’ स्रोतले भन्यो । बिहान खाली भएका ट्यांकर डिपोबाहिर पठाउनुअघि ताला लगाउन मास्टर की झिक्ने र बेलुका डिपो परिसरमा रहेका ट्यांकरको ताला लगाउन मास्टर की झिक्ने गरिन्छ । यसरी मास्टर की झिक्दा र राख्दाको समय र कर्मचारीको नामसमेत रजिस्ट्ररमा नियमित रूपले राख्ने गरिन्छ ।
सिनामंगल डिपो प्रमुखले भने मास्टर की राखेको दराजको पासवर्ड केही कर्मचारीलाई समेत दिएको निकटस्थलाई बताउने गरेका छन् । उनले तिनै कर्मचारीलाई दोष देखाउने गरेका छन् । ‘मैले विश्वास गरेका कर्मचारीले नै मास्टर की गायब गरिदिए भनेर डिपो प्रमुख श्रेष्ठले गुनासो गर्दै आएका छन्,’ स्रोतले भन्यो ।
निगममा १८ वर्षदेखि कार्यरत श्रेष्ठ पहिलोपटक डिपो प्रमुख भएर वैशाख पहिलो साता सिनामंगलमा खटिएका थिए । साँचो हराएको घटना बाहिरिएपछि करिब एक वर्ष कार्यकाल बाँकी छँदै उनको सरुवा भएको छ । गत शुक्रबारदेखि अभिषेक ठाकुरले सिनामंगल डिपो प्रमुखको जिम्मेवारी सम्हालेका छन् । नयाँपत्रिका दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस