काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय समिति बैठकमा अधिकांश सदस्य अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विपक्षमा उभिएपछि त्यसबारे स्पष्ट पार्न तीन सदस्यीय कार्यदल गठन भएको छ।
पार्टीका वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठित समितिमा स्थायी कमिटी सदस्य भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सदस्य छन्। खनाल र रावल दुवैजना एमसिसीको विपक्षमा छन्। पार्टीले कार्यदलको संयोजक खनाललाई बनाएपछि नेपालमा एमसिसी संकटमा परेको नेकपा नेताहरुले बताएका छन्।
‘वरिष्ठ नेता खनाल र रावल दुवै एमसिसीविरोधी हुन्। उनीहरुले दिने सुझाव सरकारको पक्षमा हुँदैन। त्यसकारण एमसिसी सम्झौता संकटमा पर्ने सम्भावना छ’, एक नेताले बैठकपछि नागरिकसँग भने।
नागरिक दैनिकले लेखेको खबर अनुसार, वरिष्ठ नेता खनालले एमसिसी नेपालको हितमा नरहेको र त्यसलाई जस्ताको तस्तै पारित गर्नुहुन्न भन्ने अभिव्यक्ति दिँदै आएका थिए। केन्द्रीय समिति बैठकमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा महासचिव विष्णु पौडेलबाहेक सचिवालयका कुनै पनि नेताहरुले बोल्ने अवसर नपाए पनि आइतबार बिहान बसेको सचिवालय बैठकमा सबैजसो सचिवालय सदस्यले आफ्नो धारणा राखेका थिए।
उनीहरुले केन्द्रीय समितिमा उठेका विषयमा गम्भीरतापूर्वक ध्यान दिन दुवै अध्यक्षलाई आग्रह गरेका थिए। सचिवालय बैठकमा माधवकुमार नेपालले केन्द्रीय समितिमा उठेका विषयलाई गम्भीरतापूर्वक ध्यान नदिने हो भने पार्टी कार्यकर्तामा चरम निराशा आउने बताउँदै एमसिसीबारे कार्यदल बनाएर जानुपर्ने प्रस्ताव गरेका थिए।
उनैले कार्यदलको संयोजक खनाललाई बनाउन प्रस्ताव गरेका हुन्। त्यसमा सबैको सहमति भएपछि रावल र ज्ञवालीलाई सदस्य चयन गरी सोही प्रस्ताव केन्द्रीय समिति बैठकमा राखिएको थियो। बैठकले सो प्रस्ताव सर्वसम्मत पास गरेको थियो।
तीनसदस्यीय कार्यदलमा संयोजक रहेका झलनाथ खनाल र सदस्य भीम रावल एमसिसीको विपक्षमा बोल्दै आएका छन्। यही कारण एमसिसी सम्झौता संकटमा परेको विश्लेषण गरिएको छ।
बैठकमा उठेका प्रश्नको उत्तर दिने क्रममा अध्यक्ष दाहालले नेपालको भूराजनीतिलाई हेरेर एमसिसीबारे निर्णय गर्नुपर्ने, अमेरिकासँग वार्ता गरी सच्याउनुपर्ने बुँदा सच्याई राष्ट्रिय हितअनुकूल बनाउनुपर्ने धारणा राखिरहेका बेला केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले त्यसको प्रतिवाद गरेका थिए।
बैठक स्रोतका अनुसार सचिवालय बैठकमा एमसिसी पास गराउने सहमति गरेर कार्यदल बनाउने विषयलाई यहाँ अनुमोदन गराउन खोज्नुभएको हो भन्ने प्रश्न नेता खतिवडाले उठाएका थिए। जबाफमा दाहालले ‘त्यसो होइन, यस विषयमा थप स्पष्ट हुन कार्यदल बनाइएको र त्यसको सुझावका आधारमा पार्टीले निर्णय गर्ने, अहिले कुनै निर्णय भएको छैन’ भनेका थिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस