काठमाडौं – नेपाल भ्रमण वर्षका लागि बनाइएको यतीको मस्कट चर्को विवादमा परेको छ । धेरैले यतीको मस्कट सुमो खेलाडी, पहलमान, लाफिङ बुद्ध या हनुमान हुनसक्ने बताएका छन् ।
अन्नपूर्णपोष्ट दैनिकले लेखेको खबर अनुसार, भ्रमण वर्षको प्रवर्द्धन गर्न सरकारले यतीको यो स्वरूप अघि सारेको हो । यसबाट २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ । तर यतीको आधिकारिक प्रमाण कसैसँग छैन । पर्वतारोहीले नेपालको हिमाली भेगमा यतीको पाइला देखेको बताउँदै आएका छन् । अनुसन्धानकर्ताले पनि यसको स्वरूपको वर्णन गरेका छन् ।
सन् १८३२ मा नेपालमा रहेका बेलायती अध्येता ब्रायन हड्सनले हिमाली भेगमा शरीरभर रौं भएको भयंकर जीव ९यती० ले आफ्ना सहयोगीलाई आक्रमण गरेको उल्लेख गरेका छन् ।
‘विभिन्न विवरण, पर्वतारोहीका भनाइ र लोककथामा यतीको टाउको कोणात्मक भएको वर्णन छ’, भूगोलविद् तथा यतीसम्बन्धी पुस्तकका लेखक रामकुमार पाँडे भन्छन्, ‘शरीरमा बाक्लो रौं हुन्छ र पाइला पनि विशेष खालको हुन्छ ।’
भ्रमण वर्षमा सार्वजनिक गरिएको यतीको शरीर भने चिल्लो छालाजस्तो देखिन्छ । स्वरूप पनि पहलमानजस्तो छ । कपाललाई जुरो बनाइएको छ । ‘यतीलाई विश्वभर चिनाउन सरकार संवेदनशील भएको देखिँदैन’, लेखक पाँडे भन्छन्, ‘यतीको स्वरूपमा ठट्टा भएको छ ।’
विवरण र फेला परेका प्रमाणका आधारमा यतीको स्वरूप सच्याइनुपर्ने उनी बताउँछन् । उनका अनुसार यतीको पाइला, सोलुखुम्बुको एक गुम्बामा रहेको खप्पर, हातको स्केलेटन, छाला आदिका आधारमा यती बनाए जनविश्वाससँग मेल खानेछ ।
नेपाल भ्रमण वर्षको सचिवालय र यती आर्ट प्रोजेक्टको संयुक्त प्रयासमा यतीको मस्कट तयार पारिएको हो । कलाकार आङछिरिङ शेर्पाले यसको डिजाइन गरेका हुन् । त्यसपछि मूर्तिकार विजय महर्जनले यतीको डमी तयार पारे । यसका लागि केशरमहलमा कार्यालय खोलिएको छ । सचिवालयले यसको जिम्मा ग्यालरी यमक्युबका कलाकारलाई दिएको थियो ।
यतीलाई चिनाउन केही महिनायता काम भएको थियो । यतीका मस्कट उपत्यकाका सार्वजनिक स्थल, सपिङ कम्प्लेक्ससहित विश्व सम्पदा क्षेत्रमा राख्न तयार गरिएको हो । विरोधपछि हनुमानढोका, पाटन दरबार क्षेत्र, बौद्धबाट भने मस्कट हटाइएको छ ।
विज्ञसँग सल्लाहै नगरी तयार पारिएको यतीको स्वरूपले नेपाललाई चिनाउन नसक्ने पाँडे बताउँछन् । ‘अहिले बनाइएको यती नेपालको अवधारणासँग मेल खाँदैन’, उनी भन्छन्, ‘यो विदेशी लेखकहरूले उल्लेख गरेअनुसार पनि छैन ।’
हिमाली भेगमा बसोबास गर्नेहरूले यती मान्छे र बाँदरबीचको ‘मिसिङ लिंक’ भएको बताउँदै आएका छन् । अर्थात् पूर्ण मान्छे बन्न नसकेको र बाँदर पनि नभएको प्राणी यती भएको मानिन्छ । यो गुरिल्लाजस्तो पनि होइन । परिकल्पना गर्नेहरूले यतीलाई भयानक र शान्त दुवै स्वभावमा ढाल्ने गरेका छन् । यसलाई नेपालमा हिममानव, वनमान्छेजस्ता नाम दिइएको छ ।
महालंगुर हिमशृंखलामा यतीको अस्तित्व हुन सक्ने अध्ययनले देखाएको छ । सचिवालयले बिहीबार जारी गरेको विज्ञप्तिमा विवरणका आधारमा भन्दा पनि यतीलाई नेपाल, हिमाल र अध्यात्मसँग जोडेर चित्रण गरिएको उल्लेख छ ।
हतारमा बनाइएको यतीको मस्कट भ्रमण वर्षको पहिलो महिनामै विवादमा आएको हो । लेखक पाँडे ठेकेदारी प्रथामा जाँदा यतीको स्वरूप विवादमा आएको बताउँछन् । राष्ट्रलाई विश्वमा चिनाउने जिम्मा ठेकेदारलाई दिनु गलत भएको उनको धारणा छ ।
यसको मस्कटमा कोरिएका कलाकृतिको जनस्तरबाटै विरोधसमेत भयो । मस्कटले मौलिक पहिचान नबोकेको र त्यसमा भरिएका चित्रकला सम्पदामैत्री नभएको भन्दै स्थानीय तह, धार्मिक संघसंस्थाले विज्ञप्ति निकाले । यती मस्कटको पिठ्यूँमा बनाइएको जीवित देवी कुमारी र बुद्धको मिश्रित आकृति विवादमा तानियो । चित्र ‘अशोभनीय’ भएको भन्दै स्थानीयले विरोध गरे ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस