काठमाडौं – कोरोना भाइरसको इपिसेन्टर चीनको हुबेई प्रान्तको वुहानबाट अमेरिकाले दुई सय एक र जापानले दुई सय ६ नागरिक फिर्ता लगिसकेका छन् । भारत, श्रीलंका, पाकिस्तानलगायत १५ भन्दा बढी देशले पनि विशेष विमान पठाउन चीनको अनुमति पर्खेका छन् । तर, महामारीको चपेटामा परेका आफ्ना नागरिक फिर्ता गर्न नेपालले कुनै चासो देखाएको छैन ।
प्रधानमन्त्री केपी ओलीको प्रयासमा यसै साता बसेको सम्बन्धित मन्त्रीहरूको बैठकले चीनबाट नेपालीलाई एयरलिफ्टमार्फत उद्धार गर्न पनि तयार हुनुपर्ने छलफल भएको थियो । तर, उनीहरूलाई ल्याउन कुनै कूटनीतिक र व्यवस्थापकीय प्रयास भएको छैन । बरु सरकार ढुक्कसाथ भनिरहेको छ, ‘कुनै खतरा छैन, धैर्य रहनू र चिनियाँ सरकारको सूचना पढेर बस्नू ।’
स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले वुहानलगायत अन्य ठाउँमा रहेका नेपालीलाई तत्काल फिर्ता गर्नुपर्ने अवस्था नरहेको बताए । ‘अध्ययन वा कामका सिलसिलामा चीन गएका नेपालीमा अहिलेसम्म संक्रमण देखिएको छैन । उनीहरू सुरक्षित छन्, अहिले बोलाउनुपर्दैन । सरकारले गर्नुपर्ने तयारी गरिरहेकै छ,’ श्रेष्ठले भने ।
वुहानमा रहेका विद्यार्थीले भने आफूहरू खतरामा रहेकाले घर लगिदिन याचना गरिरहेका छन् । ‘कोरोना भाइरसले त्रसित बनाएको छ । यहाँ सबै शैक्षिक संस्था, बजार, यातायात पूर्ण बन्द छन् । हामी बाहिर निस्केका छैनौँ । कलेजले हामीलाई आ–आफ्नो दूतावासमा सम्पर्क गरेर घर जान सक्छौ भनेको छ,’ वुहानको थोङ्ची मेडिकल कलेजमा सर्जरीमा पिएचडी गरिरहेका डा। गौरव पोखरेलले नयाँ पत्रिकासँग भने, ‘हामीलाई सरकारले उद्धार गरोस् ।’
हुबेईमै रहेका अर्का विद्यार्थी डा। अमित शर्माले आफूसँगै पढ्ने भारतीय साथीहरूको उद्धार हुँदै गर्दा सरकारले आफूहरूको जीवनप्रति चासो नदिएकोमा दुःख जनाए । ‘हामी नेपाल गएर जति दिन पनि निगरानीमा छुट्टै ठाउँमा बस्न तयार छौँ । नेपाल गएर अरूलाई फैलाउन चाहँदैनौँ । हाम्रो स्वास्थ्य जाँच गरेर लैजाओस्,’ शर्माले भने, ‘हामीसँगै बसेका भारतीय साथीहरूलाई लिन शुक्रबार गाडी आउँदै छ । हामी उनीहरू फर्किएको हेरेर बस्न बाध्य छौँ ।’
वुहानमा विद्यार्थी जति त्रासमा छन्, नेपालमा अभिभावक झन् बढी तनावमा छन् । ‘चीनमा हाम्रा सन्तान त्रासमा छन्, हामी यता तनावमा छौँ । त्यहाँ सबै क्षेत्र बन्द भएकाले उनीहरूलाई खानाकै पनि समस्या छ । सरकारले तत्काल उद्धार गरिदेओस्,’ अभिभावक डा। आनन्द श्रेष्ठले भने ।
बेइजिङस्थित दूतावासले वुहानमा नेपालीलाई बाहिन ननिस्किन र समस्यामा परे दूतावासले उपलब्ध गराएको हटलाइनमा सम्पर्क गर्न भनेको छ । त्रासका कारण नेपालीले पसलमा पनि जान नसकेको विवरण दूतावासलाई टिपाइरहेका छन् । धेरैले दूतावासमा फोन गरेर घर फर्काइदिन गुहार गरिरहेका छन् । दूतावासले सूचना पठाएको पनि छ, तर सरकार मौन छ । ‘एक सय ८० नेपाली दूतावासको सम्पर्कमा आएका छन्, उनीहरूले स्वदेश फिर्ताको प्रबन्ध गरिदिन आग्रह गरेका छन्,’ बेइजिङस्थित नेपाली दूतावासका उपनियोग प्रमुख सुशीलकुमार लम्सालले बिहीबार नयाँ पत्रिकासँग टेलिफोनमा भने, ‘यस सम्बन्धमा परराष्ट्र मन्त्रालयलाई जानकारी दिइरहेका छौँ ।’
तर, मध्यपूर्वी देशहरूबाट नेपालीलाई उद्धार गरेजस्तो वुहानबाट उद्धार सम्भव नरहेको लम्सालले बताए । जहाजमै संक्रमण फैलिएर भयावह हुन सक्ने जटिलता रहेको उनको भनाइ छ । ‘उहाँहरूलाई लिनका लागि जहाज पठाउने एउटा सामान्य काम मात्रै हो । जहाज उडाउनुअघि र जहाजबाट गन्तव्यमा नागरिकलाई पुर्याइसकेपछिको व्यवस्थापन जटिल हुन्छ । चिकित्सकहरूले त जहाजमै संक्रमण फैलिने र झन् भयाभह रूप लिने अवस्था आउन सक्छ भनेका छन्,’ लम्सालले भने, ‘सरकारले दायित्व निर्वाह नगर्ने भन्ने प्रश्नै भएन । व्यवस्थापनको तयारीका लागि हामीलाई समय लाग्छ ।’
चीनले संक्रमण नदोहोरियोस् भन्न वुहानबाट विदेशी नागरिक लैजान विस्तृत र कठोर पूर्वर्सत राखेको नेपाली अधिकारीहरूको बुझाइ छ । उपनियोग प्रमुख लम्सालले भने, ‘विद्यार्थीहरू फेरि पढ्न जाँदा संक्रमण नहोस् भन्ने कुराको ग्यारेन्टी चीनले खोजेको देखिन्छ । चीनका विस्तृत सर्तहरू पालना गर्न अप्ठेरो अवस्था छ । परिपक्व व्यवस्थापन नभएमा फेरि संक्रमण बढ्ने र अहिले भएका सम्पूर्ण प्रयास असफल हुने हुनाले चिनियाँहरू बढी नै संवेदनशील भएका हुन सक्छन् ।’
नेपाली दूतावासले ९ माघमा जारी गरेको सूचनामा साबुन पानीले हात धुन, माक्स लगाएर हिँड्न, काँचो मासुको वरपर नजान, माक्स लगाएर हिँड्न, संक्रमणमा रहेकाहरूसँग संगत नगर्न आग्रह गरेको छ । चीनको स्वास्थ्य मन्त्रालयका सूचना नियमित हेर्न पनि भनेको छ । त्यस्तै सम्पर्कका लागि हटलाइनको व्यवस्था गरेको छ । बेइजिङस्थित दूतावास, हङकङ, ल्हासा, ग्वान्जाओस्थित महावाणिज्य दूतावास र सांघाईस्थित अवैतनिक महावाणिज्य दूतावासमा हटलाइन स्थापित गरेको छ ।
चीनमा विद्यार्थी र पेसा व्यवसाय गर्ने आठ हजार नेपाली छन् । यसमध्ये सात हजार विद्यार्थी रहेको दूतावासले जनाएको छ । वुहानमा मात्रै ६२ नेपाली छन् । यीमध्ये ५० विद्यार्थी छन् भने १२ जना होटेलमा काम गर्छन् । हुबेईकै अन्य तीन सहरमा एक सय २० नेपाली छन् । तर, चीनमा नयाँ वर्षको लामो बिदा परेका कारण त्यहाँका अधिकांश नेपाली पहिल्यै घर फर्किएका छन् । कोरोना संक्रमणपछि पनि लक नभएका सहरबाट नेपालीहरू धमाधम फर्किरहेका छन् । नयाँपत्रिका दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस