काठमाडौं – केपी ओली ०५१ मा गृहमन्त्री हुँदा पिए बनेका पुष्प बरुवाल ताप्लेजुङको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष छन् । यती समूहको लगानीमा पाथीभरामा बन्न लागेको केबलकारको सञ्चालक पनि उनै बरुवाल हुन् । केबलकार चलाउन सो कम्पनीले सरकारको ३१७ रोपनी जग्गा ८० वर्षका लागि सित्तैमा लिएको छ ।
सोलुखुम्बुको सगरमाथा निकुञ्जको ५० रोपनी जग्गा गैरकानुनी रूपमा कब्जा गरेको यती समूहले राजनीतिक प्रभावका आधारमा पूर्व पाथीभराको तीन सय १७ रोपनी सरकारी जग्गा पनि ८० वर्षका लागि सित्तैमा लिएको छ । सो समूहले काठमाडौंको गोकर्णको २७ सय ९२ रोपनी जग्गा पनि कौडीको भाउमा लिजमा लिइसकेको छ ।
विराटनगरका पूर्वमेयर ध्रुवनारायण श्रेष्ठले पाथीभरामा केबलकार सञ्चालन गर्न कम्पनी दर्ता गरेका थिए । आफ्नो नाममा रहेको ९५ रोपनी जग्गामा ‘बेस स्टेसन’ बनाउने तयारी गरेका उनले केबलकारका पोलहरू राख्ने र माथिल्लो स्टेसन बनाउने जग्गा उपयोग गर्न सरकारबाट अनुमति पाउन सकेका थिएनन् । यहीबीच विभिन्न व्यापारी हुँदै यती समूह छिरेपछि फाइल अगाडि बढेको थियो । यती समूहले केबलकार सञ्चालन गर्ने अनुमति मात्र पाएको छैन, तीन सय १७ रोपनी सरकारी जग्गा सित्तैमा पनि पाएको छ ।
पाथीभराको सरकारी जग्गा यतीलाई दिने योजनाका साथमा पुष्प बरुवाललाई पाथीभरा क्षेत्र विकास समितिको अध्यक्ष बनाइएको थियो । वर्तमान प्रधानमन्त्री केपी ओली ०५१ मा गृहमन्त्री हुँदा बरुवाल पिए थिए । यती समूहले लगानी गर्ने केबलकारमा बरुवाललाई पनि सञ्चालक बनाइएको छ ।
पाथीभराको सरकारी जग्गा सित्तैमा लिएर केबलकार सञ्चालन गर्न पाउने भएपछि यती समूहका तत्कालीन प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाले गत वर्ष १५ फागुनमा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई पाथीभरा दर्शनमा लगेका थिए । पर्यटनमन्त्रीलाई केबलकार सञ्चालन गर्ने क्षेत्र देखाउने शेर्पाको इच्छा थियो । तर, दुर्भाग्यवश हेलिकोप्टर दुर्घटनामा उनीहरूको सोही क्षेत्रमा निधन भयो ।
केन्द्र सरकारको प्रत्यक्ष निर्देशनमा केबलकार सञ्चालनका लागि अनुमति दिँदा फुङलिङ नगरपालिकाले यतीबाट जम्मा १२ लाख रुपैयाँ शुल्क लिएको छ । तर, तीन सय १७ रोपनी सरकारी जग्गा ८० वर्षसम्म सञ्चालन गर्न अनुमति दिँदा सरकारले एक रुपैयाँ पनि शुल्क तोकेको छैन । ‘केबलकार सञ्चालन हुन थालेपछि कति रकम दिने भन्ने विषयमा भविष्यमा सहमति हुनेछ,’ फुङलिङका मेयर छत्रपति प्याकुरेलले भने ।
कानुनतः केबलकार सञ्चालनको अनुमति दिने अधिकार स्थानीय तहलाई छैन । नेपाल सरकार कार्यसञ्चालन नियमावली २०७४ मा रज्जुमार्ग ९केबलकार०सम्बन्धी नीति, कानुन र मापदण्ड बनाउने अधिकार संघीय मामिला मन्त्रालयलाई हुने उल्लेख छ । तर, मन्त्रालयले हालसम्म त्यस सम्बन्धमा कुनै कानुन वा नियम नबनाएको सचिव यादवप्रसाद कोइरालाले बताए । ‘केबलकार सञ्चालन गर्न अनुमति स्थानीय तहले नै दिन पाउने व्यवस्था गरी हालसम्म कुनै कानुन बनेको छैन । त्यसैले स्थानीय तहले अनुमति दिनै मिल्दैन । त्यसरी अनुमति दिइएको छ भने स्वतः खारेज हुन्छ,’ उनले भने ।
तर, केन्द्र सरकारको राजनीतिक प्रभावमा फुङलिङ नगरपालिकाले भने द्रुत गतिमा एक साताभित्रै सबै प्रक्रिया पूरा गरेर यती समूहको लगानी भएको कम्पनीलाई केबलकार सञ्चालनको अनुमति दिएको थियो । ६ जेठ ०७५ मा नगर कार्यपालिकाले ‘यात्रु रज्जुमार्ग सञ्चालन अनुमतिसम्बन्धी कार्यविधि, २०७५’ स्वीकृत गरेर एक साताभित्रै पाथीभरा देवी दर्शन केबलकार प्रालिलाई सञ्चालनको अनुमतिपत्र दिएको थियो । जब कि, नगरपालिकाले यस्तो कार्यविधि नगरसभाबाट मात्र पारित गर्न सक्छ ।
६ जेठमा कार्यविधि बनाएको नगरपालिकाले ९ जेठमा आवेदन मागेको थियो । यती समूहको लगानी भएको पाथीभरा देवी दर्शन प्रालिलाई नगरपालिकाले १३ जेठमा अनुमतिपत्र दिएको थियो । नगरपालिकाको यो निर्णयअनुसार वडा नं। ११ काफ्लेपाटीदेखि पाथीभरा मन्दिरसम्मको करिब चार किलोमिटर केबलकार सञ्चालन गर्ने अनुमति यतीलाई दिइएको छ । नयाँपत्रिका दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस